सकारात्मक तरिकाले हेर्नुहुन्छ भने अरुले आफूलाई विश्वास नगरेको अवस्था भनेको तपाईंले आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हो । जब यो अवसरलाई बुझ्नुहुन्छ तपाईंमा हिम्मत, आत्मविश्वास र आत्मनिर्भरता बढ्छ ।

अरुले आफूलाई विश्वास नगरेको अवस्थामा के गर्ने ?

आफ्ना लक्ष्य र योजनाहरुलाई लेख्नुहोस् । त्यसपछि कहाँनिर र के कारणले गर्दा मानिसहरुले तपाईंमाथि विश्वास गरिरहेका छैनन् भन्ने हेर्नुहोस् । ती कुराहरुलाई डायरीमा टिपोट गर्नुहोस् ।

अब ती टिपोट भएका कुराहरुमा विशेष ध्यान दिएर योजना बनाउनुहोस् । ती कुराहरुको लागि आफ्ना साना-साना लक्ष्य बनाउनुहोस् ।

ती लक्ष्य कसरि पूरा हुन सक्छन् ? के कारणले अरुले विश्वास गरिरहेका छैनन् ? तपाईंले आफूलाई अझ स्मार्ट बनाउनुपर्ने पो छ कि ? यस सम्बन्धि विचार गरेर आवश्यक तालिम लिनुहोस्, अपडेट रहनुहोस्, हरेक दिन नयाँ कुरा सिक्नुहोस् । यसले गर्दा तपाईंमा आत्मविश्वास, ज्ञान र हौसला बढ्छ ।

तपाईंलाई विश्वास नगरेका व्यक्तिहरुलाई तपाईंले आफ्नो लक्ष्य र योजना राम्रोसंग बुझाउन नसक्नुभएको पनि हुनसक्छ । त्यसैले तपाईंलाई जो व्यक्तिको साथको आवश्यकता महसुस भएको छ ती व्यक्तिलाई आफ्नो लक्ष्य र योजना स्पष्टसंग बताउन सक्नुपर्छ । यसको लागि सबैभन्दा पहिले तपाईं आफू नै आफ्नो काम, योजना र त्यसको परिणाममा स्पष्ट हुनुपर्छ । त्यसपछि उनीहरुले बुझ्ने र स्विकार्ने तरिकाले बुझाउने प्रयत्न गर्नुपर्छ ।

योजनाले मात्र तपाईंले आफूलाई प्रमाणित गर्न सक्नुहुन्न । काम सुरु गर्नुहोस् । त्यसपछि तपाईंमा आत्मविश्वास बढ्छ भने तपाईंमाथि अरु व्यक्तिले पूर्ण भरोसा नगरे पनि आशा भने अवश्य राख्न थाल्नेछन् । यसले गर्दा तपाईंले केही मानिसहरुको साथ पनि पाउनुहुनेछ ।

काम सुरु गरिसकेपछि त्यसमा अनेक बाधाहरु आउंछन् । आफूले सोंचे अनुसारको परिणाम नआउन पनि सक्छ । तर आफ्नो लक्ष्यबाट विचलित हुनु हुँदैन । योजना परिवतर्न गरेतापनि लक्ष्य परिवर्तन गर्नुहुँदैन । सफलताको कडी नै निरन्तरता र धैर्यता हो भन्ने बुझ्नुपर्छ । यसले गर्दा तपाईं प्रति तपाईंको वरिपरिका मानिसहरु सकारात्मक बन्छन् । यदि तपाईंले बीचमै लक्ष्य छोड्नुभो या हरेस खानुभयो भने न त तपाईंले आफूलाई आफूले विश्वास गर्न सक्नुहुनेछ न त अरुले नै तपाईंलाई विश्वास गर्नेछन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text