गल्ती अपराध होइन । न त यो असफलता नै हो । गल्ती बारम्बार दोहोरियो भने चाहिं अपराध र असफलता दुवै बन्न सक्छ।

आफूले गल्ती गरेको महसुस गर्नुभयो भने त्यो गल्तीको जिम्मेवारी लिनुहोस् । आफूले गल्ती गर्ने र अरुलाई दोष दिने व्यक्ति बाठो होइन, इमान्दारिता र हिम्मत नभएको व्यक्ति हो ।

आफ्नो गल्तीका कारण माफी माग्नुपर्ने छ भने पनि माफी माग्नुहोस् । माफी मागेर तपाईं सानो बन्नुहुन्न, झनै सम्मान कमाउनुहुन्छ ।

गल्ती के कारणले भएको हो ? त्यो गल्ती पछाडीको कारण पहिल्याउनुहोस् ।

कारण पत्ता लगाइसकेपछि त्यो गल्ती हुन नदिन तपाईंले के गर्नुपर्थ्यो भन्ने सोंच्नुहोस् । अथवा, तपाईंले के गरेको भए त्यो गल्तीबाट जोगिनुहुन्थ्यो भन्ने सोंच्नुहोस् ।

सबैकुराको विश्लेषण पछि त्यसलाई सिकाईको रुपमा लिनुहोस् । जब तपाईंले सबैकुरा विश्लेषण गरेर त्यसलाई सिकाईको रुपमा लिनुहुन्छ भविष्यमा तपाईंबाट फेरी त्यस्तै गल्ती हुने सम्भावना निकै कम हुन्छ ।

त्यो गल्तीका कारण अब पश्चाताप नगर्नुहोस् । तपाईंले माफी माग्नुभयो , त्यो गल्तीलाई सिकाईको रुपमा लिइसक्नुभयो भने पश्चाताप गर्नुपर्ने ठाउँ पनि रहँदैन । गल्ती हरेक व्यक्तिबाट हुन्छ । ती गल्तीबाट आउने सिकाईले नै तपाईं सफलतातर्फ उन्मुख हुन सक्नुहुन्छ ।

अन्त्यमा, यो याद राख्नुहोस् कि, उही गल्ती तपाईंले बारम्बार गरिरहनुभयो भने तपाईंलाई त्यही बानी नै सजाय बन्न सक्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text