“भोलिको लागि तयार हुनु भनेको आज राम्रोसंग काम गर्नु हो “

परिचय

विलियम ओस्लर आधुनिक औषधि र उपचारका पिता मानिन्छन् । बहुमुखी प्रतिभाका धनी उनि ईतिहासविद, औषधि विशेषज्ञ, शिक्षाविद, लेखक आदिको रुपमा समेत चिनिन्छन् । ओस्लरको जन्म सन् १८४९, जुलाई १२ मा भएको थियो।

प्रारम्भिक जीवन

विलियम ओस्लर क्यानडामा जन्मिएका हुन् । उनका बुवा युद्ध अधिकारी थिए भने काका युद्ध औषधि उपचार अधिकृत थिए। सन् १८५७ मा विलियमलाई ओन्टारियो ल्याईयो र उनले ट्रिनिटी कलेजमा पढे। विलियमले सानै देखि आफ्ना बाबुको पेशा पछ्याउन चाहन्थे । तर त्यो भन्दा बढी उनलाई औषधि उपचार प्रति रुचि थियो । त्यसैले विलियमले टोरोन्टो स्कुल अफ मेडिसिनमा भर्ना भएर पढ्न थाले भने बाँकी पढाइको लागि एमसीगिल युनिभर्सिटी गए । सन् १८७२ मा उनले मेडिकल डिग्री हासिल गरेका थिए जसलाई एमडिसीएम भनिन्थ्यो ।

मेडिकल यात्रा

विलियम ओस्लर पोस्ट ग्राजुएटको लागि सन् १८७४ मा युरोप गए । त्यहाँबाट फर्केपछि उनि एम्सिगिल युनिभर्सिटीमा प्रोफेसर भएका थिए । त्यतिबेला नै उनले जर्नल क्लब समेत खोले । सन् १८८४ मा उनलाई फिलेदेल्फियाको युनिभर्सिटी अफ पेनिसल्वानियामा क्लिनिकल मेडिसिनको प्रमुख बन्ने प्रस्ताव आयो । सन् १८८५ मा विलियमले एसोसियसन अफ अमेरिकन फिजिसियनको स्थापना गरे जसको उद्देश्य विज्ञानिक र प्रयोगात्मक उपचारलाई अगाडी बढाउनु थियो । त्यसको चार वर्षपछि उनि फिलेदेल्फिया छोडे। त्यतिबेला उनलाई भव्य बिदाई गरिएको थियो । त्यहाँबाट गएपछि विलियम बाल्टिमोरको जोह्न्स हप्किन्स हस्पिटलमा फिजिसियन प्रमुख बने। त्यहाँ काम गर्न थालेपह्ही सन् १८८९ मा उनले जोह्न्स हप्किन्स युनिभर्सिटी अफ मेडिसिन खोले जहाँ उनि पहिलो प्रोफेसर थिए । विलियम आफ्नो काममा असाध्यै मेहनत गर्थे । उनले जोह्न्स हप्किन्स हस्पिटलमा काम गर्दा औषधि उपचार र हस्पिटलको धेरै सुधार गरे । सन् १९०५ मा विलियम अक्सफोर्डको मेडिसिन प्रमुख भए । सन् १९११ मा उनले पोस्ट ग्राजुएट मेडिकल एसोसियसन खोले र त्यसको प्रमुख बने ।

सफलता

विलियम ओस्लरलाई आधुनीक औषधिका पिता मानिन्छ । उनले वैज्ञानिक र प्रयोगात्मक औषधि उपचारलाई फैलाएका थिए । उनले डाक्टरहरुले बिरामीलाई जांच गर्दा, बिरामीसंग सम्बन्ध स्थापित गर्ने, बिरामीको कुराहरु सुन्ने नियमको विकास गरेका थिए । पढ्दै गरेका मेडिकलक विद्यार्थीहरुले डाक्टरको निगरानीमा बिरामीको उपचार गर्ने नियमलाई पनि विलियमले फैलाए । मेडिकल क्षेत्रमा प्रयोगात्मक पढाई हुनुपर्छ भन्ने कुरामा उनि विशेष जोड दिन्थे । उनले लेखेको ‘द प्रिन्सिपल एण्ड प्राक्टिस अफ मेडिसिन’ मेडिकलका विद्यार्थीहरुमाझ लोकप्रिय किताब हो जुन विश्वका धेरैथरि भाषाहरुमा अनुवादन गरिएको छ । लेखक र प्रखर वक्ता समेत रहेका उनको निधन ७० वर्षको उमेरमा २९ डिसेम्बर, १९१९ मा भएको हो ।

हामीले भोलिको सुनौलो दिनको कल्पनामा आजको दिन बिताईरहेका हुन्छौं । कति बेला त हामी भोलिको कल्पनामै यति हराउँछौं कि, हामीले आज गर्नुपर्ने सम्पूर्ण कामहरु यत्तिकै हुन्छन् । त्यस्तै भोलिको दिन कति सुन्दर हुनेछ भनेर बुझ्न आफ्नो दैनिक काम नै छोडेर ज्योतिषकोमा पुग्छौं । तर वास्तवमा, हामीले आज गरेको कामले भोलिको दिन कति सुनौलो हुनेछ भन्ने निर्दिष्ट गर्छ । वर्तमानको हाम्रो कर्मले नै हाम्रो भविष्य सुन्दर बनाउँछ । त्यसैले हराउनुहोस् भविष्यको कल्पनामा तर आजको काम राम्रोसंग सकिसकेपछि मात्र ।

“हामी यहाँ जीवनबाट केही लिनलाई होईन, जीवनमा केही जोड्नलाई जन्मिएका हौँ “

हामी जन्मिए संगै प्रकृतिले हामीलाई बाँच्न सिकाउँछ । प्रकृतिले हामीलाई बाँच्नलाई सबै चिज दिएको छ । हामीले बाँच्नको लागि होईन कि प्रकृतिले दिएको त्यो वरदानमा हाम्रो कर्म जोडेर सुन्दर जीवन बनाउनु छ । जसले विलियम ओस्लरले निरन्तर आफ्नो काममा लागेर आफ्नो संगै करोडौं मानिसहरुको जीवन सुन्दर बनाए ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text