असफलता या सफलता, कुनै पनि जिन्दगीको अन्त्य होइन । सफलता र असफलता त जीवनको एउटा यात्रा हो । जीवनमा कैयौं परिक्षाहरु हुन्छन् , तिनै परिक्षाको नतिजाले हामीलाई थप अनुभवी, आत्मनिर्भर र बलियो बनाउंदै लैजान्छन् ।

विभिन्न अनुसन्धानहरुको नतिजाले पनि यो बताउँछ कि एक्लै आफैसंग बोल्ने व्यक्ति बढी सकारात्मक र उत्प्रेरित रहन सक्छ । यसको लागि आफूले आफैसंग सकारात्मक कुरा गर्नुपर्छ । साइकोथेरापिस्ट तथा लेखकको रुपमा प्रसिद्ध अमेरिकाकी लिजा फ्रेंजका अनुसार, असफल भएँ भन्ने ओंच आएको छ भने आफ्ना बलियो पक्षहरु, त्यो परिस्थितिले ल्याउन सक्ने सकारात्मक कुराहरु, आफ्ना सपनाहरु आदि सकारात्मक ऊर्जा दिने कुरा पेपरमा लेख्नुपर्छ । त्यसपछि ऐना अगाडी उभिएर ती कुराहरु बाहिर आवाज आउने गरि जोडले भन्नुपर्छ । आफूसंग ती बारेमा कुरा गर्दै ऐना अगाडी केही समय बिताउनुपर्छ र आफूलाई हेरेर मुस्कुराउनुपर्छ ।

सफल व्यवसायी तथा विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा परिचित जेफ बेजसका अनुसार, उनले एउटा प्रसिद्ध तथा प्रेरक भनाइलाई पेपरमा लेखेर आफ्नो रेफ्रिज्रेटरमा टाँगेका छन् । जतिबेला उनी फ्रिज खोल्न जान्छन्, त्यो भनाइमा आँखा जान्छन् र थकित भएको अवस्थामा पनि उनको दिमाग ताजा र सकारात्मक बन्छ । त्यसैगरि तपाईंले पनि आफूलाई मन परेको र प्रेरित गर्ने किसिमका भनाई आफ्नो आँखा गइरहने ठाउँमा लेखेर राख्नुहोस् । यसले तपाईंमा सकारात्मक सोंच र नयाँ आशा ल्याइदिनेछ ।

तपाईं के कुरामा र कसरि असफल हुनुभयो, विश्लेषण गर्नुहोस् । के, कसरि, कहाँ भन्ने कुराहरुको उत्तर खोज्नुभयो भने तपाईंले त्यहाँ असफलताको कारण भेट्न सक्नुहुनेछ । र, त्यो नै तपाईंको अर्को प्रयासको लागि महत्वपूर्ण पाठ बन्न सक्छ । त्यसपछि तपाईंले के गरेको भए त्यो असफलताको सम्भावना नरहन सक्थ्यो भन्ने सोंच्नुहोस् । यसले तपाईंमा अबका दिनको लागि सिकाई पैदा गरिदिनेछ । जसले गर्दा तपाईंमा आत्मविश्वास र ज्ञान समेत बढ्नेछ ।

सेमिनारहरुमा सहभागी हुनुहोस् । नयाँ कुराहरु खोजेर सिक्ने प्रयास गर्नुहोस् । आफ्नो रुचीको क्षेत्रको धेरैभन्दा धेरै जानकारी खोज्नुहोस् । अग्रजबाट सल्लाह लिनुहोस् । आफ्नो त्यो असफलताको अनुभव र नयाँ ज्ञानलाई नयाँ योजनाको आधार बनाउनुहोस् । नयाँ योजनालाई कसरि कार्यान्वयन गर्ने भन्ने सोंच्नुहोस् र त्यसको लागि साना-साना योजना बनाउंदै काम सुरु गर्नुहोस् । जब काम गर्न थाल्नुहुन्छ, निराशा र डर हट्दै जान्छ । फेरी नयाँ आशा जन्मिन थाल्छ । पुस्तक पढ्ने, प्रेरक जीवनी तथा अन्य प्रेरक सामग्री पढ्ने, संगीत सुन्ने, नाच्ने, आफ्नो लुक्समा केही परिवर्तन ल्याउने, घुम्न जाने आदि गर्नाले तपाईंमा थप ऊर्जा बढ्नेछ ।

कहिलेकाहीं त्यही असफलतामा मात्र आफ्नो दिमाग जाने, अरु केही गर्न नसक्ने समेत हुन सक्छ । यस्तो अवस्थामा आफ्नो नजिकको साथीसंग, परिवारका सदस्यसंग खुलेर आफ्ना कुरा राख्नुहोस्, उनीहरुको सुझाव लिनुहोस् । आफ्ना मनमा लागेका कुराहरु डायरीमा लेख्नुहोस् । धेरै लामो समयसम्म पनि निराशाबाट निस्कन सक्नुभएन भने मनोवैज्ञानिककहाँ गएर परामर्श लिनुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text