पढ्ने चाहना हुँदा हुँदै पनि बिचमै पढाइ छोड्न बाध्य हुने मानिसहरुको संख्या धेरै छ। छोडीसकेको पढाईलाई फेरी निरन्तरता दिन गाह्रो हुने, दिमागले नभ्याउने आदि कारण देखाएर बाल्यकालदेखिको पढ्ने सपनालाई पूरा नगरी मानिसहरु धर्तीबाट टाढा हुन्छन् । तर, ९१ वर्षिया एक वृद्धाले भने जीवनको उत्तरार्द्धमा पनि कडा परिश्रम गरेर आफ्नो सपना साकार पारेकी छिन् । कामबाट पन्छिनको लागि अनेक बाहना खोज्ने हामी सबैलाई उनको साहस र मेहनतले गिज्याएको छ ।
थाइल्यान्डकी किमलान जिनाकुले ९१ वर्षको उमेरमा स्नातक पढाइ पूरा गरेकी छिन्। उत्तरी थाइल्यान्डको लेन्पेंग प्रान्तको सबैभन्दा राम्रो स्कुलमा पढेकी किमलान आफ्नो स्कुलमा एक प्रतिभाशाली छात्राका रूपमा चिनिएकी थिइन्। तर स्कुलको पढाइ सकिएपछि उनी थप पढाइका लागि विश्वविद्यालय जान सकिनन् किनकी एउटा गाउँबाट छोरी टाढाको विश्वविध्यालय जान त्यतिबेला सम्भव थिएन। केही समयपछि परिवार बैंककमा बस्न आएपनि उनको पढ्ने धोको अपुरै रह्यो । बैंकक आए लगत्तै परिवारले बिहे गरिदिएपछि उनले पढ्ने सपना त्याग्नु परेको थियो ।
तर, १० वर्ष लामो अथक मेहनत र लगनशीलताले उनले अहिले विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन् । पांच सन्तानमध्ये किमलानकी एक छोरी अस्पतालमा काम गरिरहेकी थिइन्। उनकी ती छोरीले सुखोथोइ थाम्माथिराट ओपन युनिभर्सिटीमा एउटा कोर्समा भर्ना भएपछि किमलानले पनि पहिलो पटक विश्वविद्यालय भर्ना हुने निर्णय गरेकी थिइन्। त्यतिबेला उनको उमेर ७२ वर्ष थियो।
तर, भर्ना भएको केही समयपछि उनकी एक छोरीको मृत्यु भयो। छोरीको वियोगमा शोकमा डुबेकी उनको फेरी पढ्ने सपना टाढा भयो । विस्तारै दु:ख बाट तंग्रिदै उनले फेरी विश्वविद्यालय भर्ना हुने साहस बटुलिन् र ८५ वर्षको उमेरमा ह्युमन इकोलोजी विषयमा भर्ना भइन् । किमलानले भनिन्– ‘जबमा दुःखबाट बाहिर आएँ, मैले आफूलाई उक्त विषय पूरा गर्ने दबाब दिएँ। म आशा गर्छु मेरी छोरीको आत्मा यो देखेर खुसी हुनेछ।’ उनी आफ्ना बच्चाहरूको अनुभवबाट प्रेरित भएर युनिभर्सिटीमा भर्ना भएको बताउँछिन्।
यो सफलता पछि उनी भन्छिन् , ” पढाइका क्रममा हरेक च्याप्टरको मुख्य बुँदालाई हाइलाइट गरेर पढ्थें । जब म पास हुन्थें, म खुसी हुन्थें। जब फेल हुँन्थें, म नराम्रो महसुस गर्थें। त्यसैले जबसम्म पास भइनँ, तबसम्म परीक्षामा सहभागी भइरहें।’ उनी थप्छिन्, ” यसका लागि कहिलेपनि ढिलो हुँदैन, मेरो मस्तिष्क सिक्नका लागि सधैं जागृत र तीक्ष्ण छ। यो विश्व कहिले पनि रोकिंदैन। यहाँ सधैं नयाँ समस्या हुन्छ र यदि नयाँ विज्ञान अगाडी नआएको भए यो विश्वले समृद्ध हुन छोडिसक्थ्यो ।”