दैनिक जीवनमा आउने साना-साना समस्याहरु देखी हामी आत्तिन्छौँ । एउटा असफलता र सानो आलोचनाले पनि हामी जीवनदेखी हार मान्छौं । तर पाकिस्तानमा जन्मिएकी एउटी यस्तो मानिस छिन् , जसले जीवनमा आएका अकल्पनीय घटनालाई साहस संग सामना गरेर जीवनलाई जितेकी छिन् , संसारका हरेक मानिसको लागि प्रेरणा बनेकी छिन् ।

मुनिबा मजारीको जन्म ३ मार्च १९८८ मा पाकिस्तानको सामान्य परिवारमा भएको थियो । उनी अरु जस्तै सामान्य परिवारकी छोरी थिईन् । पाकिस्तानको रहनसहन र परम्परा अनुसार छोरीको छिटै बिहे गरिदिने चलन छ । त्यसैले मुनिबालाई पनि परिवारले १८ वर्षको उमेरमै बिहे गरिदियो । उनले परिवारको निर्णयलाई सम्मान दिईन् । घरको बुहारीको रुपमा उनको जिवन सामान्य तरिकाले अगाडी बढिरहेको थियो । तर , बिहेको दुई वर्षपछि भएको कार दुर्घटनाले उनको सामान्य जीवनलाई तहसनहस पारिदियो ।

त्यो भयानक कार दुर्घटना पछि मुनिबा दुई वर्षसम्म अस्पतालको बेडमा भईन् । मेरुदण्डमा लागेको चोटका कारण उनलाई पक्षघात भयो । डाक्टरले उनलाई उनको खुट्टा चल्न नसक्ने, ढाडलाई ठाडो रहन ‘सपोर्ट’ को आवश्यकता रहने र उनी जीवनमा कहिल्यै आमा बन्न नसक्ने जानकारी दिए । उनका अनुसार उनलाई सबैभन्दा पीडादायक क्षण त्यो लाग्यो जब उनलाई डाक्टरले ‘ तिमी अब आमा बन्न सक्दिनौ’ भने । कलिलो उमेरमै उनले यो ठूलो बज्रपात सहेकी थिईन् । त्यसपछी उनका श्रीमानले उनलाई सम्पर्क गर्न नै छोडे । उनका आफ्नै बुवाले पनि उनको साथ छोडिदिए । उनी अस्पतालमा मुढो सरह रहिन् । उनको शरीरमा कैयौं सर्जरीहरु भए ।

मुनिबाका श्रीमानले सम्बन्ध विच्छेदको कागज पठाए । उनले श्रीमानलाई औधी माया गर्थिन् र सम्बन्ध विच्छेदको बारेमा सम्झिन पनि सक्दिनथिन् । तर उनको श्रीमानको लागि माया र सम्बन्ध मुनिबाको पक्षघातसंगै टुंगिएको थियो । उनले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरिन् , यो भन्दा अरु विकल्प उनीसंग थिएन । मुनिबाका आमा र उनका दाइहरुले भने उनलाई सधै जीवनप्रती आशा जगाउन मद्दत गरिरहे । मुनिबाले आमालाई प्रश्न गर्थिन् , ” आमा, यति धेरै पीडाको लागि भगवानले किन मलाई रोजे ?” मुनिबाकी आमा सम्झाउने गर्थीन् , ” किनकी भगवानले तिम्रो लागी केही यस्तो योजना बनाएका छन् , जसबाट तिमीले संसार जित्न सक ।” तर भेट्न आउने मानिसहरुको दयाको हेराईले उनलाई पीडा बल्झाइदिन्थ्यो ।

आमा र दाइहरुको प्रेरणाले उनले जीवन बाँच्न चाहिन् । जीवनमा अगाडी बढ्न चाहेको पहिलो दिन उनले ऐनामा हेरेर ओठमा लिपिस्टिक लगाएर मुस्कुराइन् । तर सम्झिन् , केही गर्नै नसकने, व्हिलचेयरमा पिसाबको थैलो संगै बोकेर बसिरहने केटीले लिपिस्टिक लगाएर बसेको देख्दा मान्छेहरु के सोंच्लान् ! लिपिस्टिक पुछिन् तर फेरी लगाइन् । उनले यसपाली आफ्नो खुशीको लागि लगाईन् । उनका अनुसार उनको नयाँ जीवनको सुरुवातको यो पहिलो दिन थियो । त्यसपछी उनले आफूलाई भावनात्मक रुपमा यति दह्रो बनाइन् की , आफ्नो श्रीमानको नयाँ बिहे हुँदैछ भन्ने खबर पाउँदा उनलाई शुभकामना संदेश पठाइन् । विस्तारै उनी बाहिर निस्किन थालिन् , पढ्न थालिन् , रचनात्मक काममा आफूलाई व्यस्त गर्न थालिन् , आफ्नो ख्याल गर्न थालिन् । तर अरु मानिसहरुले भने उनलाई दयाको दृष्टीले हेर्थे । उनले मानिसहरुको आफूप्रतिको यो दृष्टिकोण परिवर्तन गराउने अठोट लिईन् ।

मुनिबालाई विश्वास र प्रोत्साहन गर्ने मानिसहरु बढ्न थाले । उनले विभिन्न काम गर्न थालिन्। डाक्टरले आमा बन्न सक्दिनौ भनेकी उनले भर्खरै जन्मेको एक बेसहारा सानो बच्चालाई छोरोको रुपमा अंगालिन् । साहसकी प्रतिमूर्ति यी अहिले पाकिस्तानकी ‘आइरन लेडी’ को रुपमा चिनिन्छिन् । उनी पाकिस्तानका लागि युएन को पहिलो महिला दुत हुन् । त्यस्तै उनी व्हिलचेयरमा सिमित रहेता पनि मोडलिंग गर्ने पहिलो व्यक्ति हुन् । मुनिबा अहिले विभिन्न संघसंस्थाहरु संग आबद्ध रही महिला , बालबालिका तथा अपाङ्गहरुको लागि विशेष कार्यक्रमहरुमा सक्रिय छिन्, टेलिभिजनमा कार्यक्रम पनि चलाउँछिन् । प्रेरक वक्ता ( मोटिभेस्नल स्पिकर ) को रुपमा समेत चिनिने मुनिबालाई सुन्न देश -विदेशका कार्यक्रममा हजारौं मानिसहरु भेला हुने गर्छन् ।

उनी भन्छिन् , ” भगवानले हामीलाई जीवनमा केही गरोस्, अरुभन्दा छुट्टै बनोस् भन्ने चाहनाले हामीलाई समस्या र चुनौतीहरु दिन्छन् । मलाई पनि भगवानले त्यसकै लागि पक्षघात गराइदिएर यो व्हिलचेयरमा बस्ने बनाइदिएका हुन् । र, म भगवनाले दिएको यो चुनौतीलाई आत्मसात गर्दै अगाडी बढ्न चाहन्छु ।”

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text