भाग्य या जेसुकै भनेतापनि हाम्रो जीवनको सफलता हाम्रो आफ्नो सोंचमा निर्भर रहन्छ । त्यसैले त अप्ठ्यारो परिस्थितिले गर्दा केही हराएर जान्छन् भने केही अझ बलियो भएर निस्कन्छन् र आफ्नो नाम इतिहासमा लेखाउँछन् ।

कसरि आफैसंग कुरा गरेर अप्ठ्यारो परिस्थितिमा पनि अगाडी बढ्न सकिन्छ ?

हतास या निराश हुनुभएको छ भने आफ्ना राम्रा पक्षहरु, आफूले अहिलेसम्म पाएका उपलब्धिहरु कागजमा लेख्नुहोस् । त्यसपछि ती कुरालाई बारम्बार दोहोर्याएर पढ्नुहोस् । आवाज निकालेर पढ्नुहोस् । ऐनाको अगाडी उभिएर पढ्नुहोस् ।

तपाईंको काममा सहयोग गर्न सक्ने या तपाईंलाई साथ दिने, तपाईंको बारेमा राम्रो सोंच्ने व्यक्तिहरु को-को छन् ? ती सबैको नाम कागजमा लेख्नुहोस् । उनीहरुलाई सम्झिनुहोस् । उनीहरुले तपाईंलाई दिएको साथ, उनीहरुले तपाईंलाई भनेका कुराहरु सम्झिनुहोस् ।

कसैसंग भेट्दा ‘ठीक छ’ भन्ने ठाउँमा ‘राम्रो छु’, ‘राम्रो छ’ भन्ने बानी गर्नुहोस् । अरुलाई हेरेर मनमा ‘उसले राम्रो गरिरहेको छ, म दुखी छु” भन्ने नल्याउनुहोस् । मनमा ‘मैले गर्दैछु, एक दिन राम्रो हुनेछ, जे हुँदैछ राम्रोको लागि हुँदैछ’ भन्ने कुरा ल्याउनुहोस् । आफूभित्र आशाको दियो बाल्नुहोस् ।

आफूलाई मनपरेका प्रेरक भनाइहरु लेख्नुहोस् र आफू सुत्ने ठाउँमा, पढ्ने ठाउँमा, काम गर्ने ठाउँमा राख्नुहोस् । यस्तो ठाउँमा राख्नुहोस्, जहाँ तपाईंको बारम्बार आँखा जान्छ । तब तपाईंले ती भनाइ पढ्नुहुन्छ र त्यसले उत्प्रेरणा जाग्छ ।

‘मलाई मात्र किन सधै यस्तो’ नभन्नुहोस् । ‘मलाई बलियो बनाउनको लागि, मलाई केही दिनको लागि यस्तो भएको हो’ भन्नुहोस् । सोंच्नुहोस् कि, त्यो भन्दा अझ राम्रो हुनको लागि यस्तो भएको हो । र, मनमा राख्नुहोस् कि हरेक व्यक्ति आफ्नो जीवनको परिस्थितिहरुसंग लडिरहेको एक योद्धा हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text