हरेक व्यक्ति आफू खुशी रहिरहूँ भन्ने चाहन्छ । तर खुशी खोजेर या चाहेर भेटिदैन । दुखी बन्ने या खुशी रहने भन्ने कुरा हामी आफूमा निर्भर रहन्छ ।

हामीलाई दुखी बनाउने कुराहरु

आफूले गरेको गल्तीलाई याद गरिराख्नु ।
प्रक्रिया भन्दा नतिजालाई बढी महत्व दिनु ।
आफू अरु भन्दा पछाडी छु भन्ने भावना ।
आफूलाई पिडित देखाएर सहानुभूति बटुल्न मन पराउनु ।
अरुको ईर्ष्या गर्ने बानी ।
आफ्नो दैनिकी अस्तव्यस्त बन्नु ।
विगतलाई संगै लिएर हिंडीराख्नु ।
कर्ममा भन्दा भाग्यमा बढी विश्वास गर्नु ।
टेलिभिजन सिरियल र सामाजिक संजालमा बढी समय बिताउनु ।
आराम बिना काम गरिरहनु ।

कसरि पाउने छुटकारा

आफूले आफूलाई माफी दिन सक्नुपर्छ । त्यसको लागि गल्तीबाट केही सिक्ने र त्यो गल्तीलाई नदोहोर्याउने प्रण गर्नुपर्छ । गल्ती हरेक व्यक्तिले गर्छ । केही गर्न खोज्ने व्यक्तिले गल्तीबाट सिकिरहेको हुन्छ ।

सफलता भनेको नतिजा होइन, प्रक्रिया हो । सफलताको रहस्य भएको प्रदर्शन गर्नुभन्दा अगाडी पर्दा पछाडीको तयारि हो । त्यसैले नतिजालाई भन्दा सधै प्रक्रियालाई महत्व दिनुपर्छ । नतिजा अपेक्षा गरेअनुरुप आएन भने प्रक्रियालाई फेरी मूल्यांकन गरेर अगाडी बढ्नुपर्छ ।

आफूलाई अरुसंग तुलना नगर्नुहोस् । तपाईंको क्षमता के हो, तपाईंले के र कसरि गर्न सक्नुहुन्छ, गर्न सुरु गर्नुहोस् । हरेक मान्छे आफ्नो जिन्दगीमा त्यसरी नै लडिरहेको हुन्छ, जसरि तपाईं लडिरहनुभएको छ । फरक यत्ति हो कि, तपाईंले आफ्नो संघर्षलाई महसुस गर्न सक्नुहुन्छ, तर अरुको संघर्षलाई महसुस गर्न सक्नुहुन्न । त्यसैले आफूलाई पिडित देखाउन पनि छोड्नुहोस् । तपाईं भाग्यमानी हुनुहुन्छ, तपाईंसंग भएका कतिपय कुराहरु अरु मानिसहरुसंग छैनन् ।

अरुको ईर्ष्या गर्ने बानीले आफूलाई नै भित्र भित्रै नष्ट गरिरहेको हुन्छ । ईर्ष्या गर्नुको साटो अरुको प्रशंसा गर्न सिक्नुहोस् । काममा स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।

समय तालिका बनाएर हिड्नुहोस् । समयले कसैलाई पनि पर्खिदैन । अस्तव्यस्त होइन, व्यस्त बन्नुहोस् । समयको सदुपयोग गरेर, जति व्यस्त बन्नुहुन्छ, त्यति नै तपाईंका नकारात्मक सोंच, डर हट्दै जान्छन् ।

विगतमा अल्झिएर बस्ने व्यक्ति सधै दुखी रहिरहन्छ । परिवारको कुनै सदस्यको निधन भएपछि पनि त्यो परिवार अगाडी बढिरहन्छ, आकाशको तारा झरेतापनि आकाशमा अन्य तारा चम्किरहेका हुन्छन् , भोलि सूर्य उदाउँछ नै । रात परेर सधै रात नै रहीरहदैन । हिजोको रातलाई सम्झेर बसिरहने हो भने आजको दिन यत्तिकै खेर जान्छ । हिजोको दिनलाई सम्झेर रमाएर बस्ने हो भने आज खेर फलेको समयले दु:ख निम्त्याउन सक्छ ।

मान्छेको भाग्य त्यति नै नजिक आउँछ, जति हामीले मेहनत गर्छौं । मेहनत र तयारिमा समय दियौं भने अवसर मिल्दा जादु बन्नसक्छ । तर व्यक्तिले भाग्य छैन भनेर बसिरह्यो भने अवसर आउँदा उसले आफ्नोतर्फबाट केही गर्न सक्दैन । त्यसपछि ऊ सधैको दुखी नै बनिरहन्छ ।

टेलिभिजन सिरियल र सामाजिक संजालमा बढी समय बिताउँदा उत्पादनशील समय खेर गइरहेको हुन्छ । यसका साथै नकारात्मक सोंचहरु पनि उत्पन्न हुन थाल्छन् र व्यक्ति दुखी बन्छ । टेलिभिजन र सामाजिक संजाललाई केही निश्चित समय मात्र दिनुपर्छ । पत्रप्तरिका पढ्ने, वर्तमान घटनाक्रमसंग अपडेट रहने, पुस्तक पढ्ने, प्रेरणादायी कुरा पढ्ने तथा हेर्ने, कार्यक्रमहरुमा सहभागी हुने गर्नुपर्छ ।

आफ्नो व्यक्तिगत समय नै ननिकाली काममा लागिरह्यौं भने त्यसले हामीलाई दिमागमा दबाब बढ्छ, जसले गर्दा हामी दुखी बन्छौं । त्यसैले आफ्नो लागि समय निकाल्ने, हप्तामा कम्तिमा एक दिन बिदामा बस्ने, परिवारसंग समय बिताउने गर्नुपर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text