दु:खले मान्छेलाई पछि पार्दैन । लड्न सिकाउँछ र अगाडी बढाउँछ ।

परिचय

हरिवंश आचार्य नेपालका प्रसिद्ध कलाकार हुन् । विशेषगरि हाँस्यव्यंग क्षेत्रमा देशकै वरिष्ठ कलाकार मध्ये पर्ने आचार्यको जन्म वि.सं. २०१४ कार्तिक २७ गते (सन् १९५८ अक्टोबर ९) काठमाडौंको गैरीधारामा भएको हो। हरिवंशको पुर्ख्यौली थलो भने काभ्रेपलाञ्चोकको शंखु हो।

प्रारम्भिक जीवन

हरिवंश आचार्यका बुवा होमञ्जय आचार्यले ५३ वर्षको उमेरमा १३ वर्षिया गणेशकुमारीसंग विवाह गरेका थिए । त्यो समयको छोरा-छोरी बीच भेदभाव हुने सामाजिक सोंचमा हुर्किएका उनका बुवाले पाँच छोरी जन्मिसकेका कारण छोरा जन्माउने चाहना पूरा होस् भनि महायज्ञ समेत लगाएका थिए । संयोग भइदियो कि, बुवाको चाहना जस्तै नै आमा गणेशकुमारीको कोखबाट हरिवंश आचार्यको जन्म भयो । महायज्ञ लगाएर जन्मिएका कारण बुवाले छोराको नाम हरिवंश राखेका थिए । हरिवंशका बुवा होमञ्जय आचार्य पण्डित थिए । त्यसैले उनी छोरालाई पनि संस्कृत पढाएर ठूलो विद्वान पण्डित बनाउन चाहन्थे । तर हरिवंश ६ वर्षको उमेरका हुँदा बुवाको निधन भयो ।

बुवाको चाहना अनुरुप हरिवंशलाई वेद वेदाङ्ग स्कुलमा भर्ना गरिएको थियो । ठमेल स्थित उक्त स्कुलमा चार वर्षसम्म पढेपछि उनी दरबार हाइस्कुल भर्ना भए । तर त्यहाँ पनि उनले संस्कृत नै पढ्नु पर्थ्यो । विहानै पाठ गर्नुपर्ने, खानामा लसुन प्याज समेत खान नपाइने, टुप्पी पाल्नु पर्ने, पहिरन त्यही अनुसार लगाउनुपर्ने हुँदा उनलाई रिस उठ्न थालेको थियो । संगैका साथी स्वतन्त्र भएर अंग्रेजी पढेको देख्दा उनलाई नमज्जा लाग्थ्यो । त्यो रिस उनले किताबमा पोख्थे । किताबको पानाहरु च्यातेको देखेर उनलाई आमाले सजाय समेत दिइन् । तर आमाको त्यो माया, रेखदेखबाट उनी सानै उमेरमा बन्चित हुनुपर्यो । हरिवंश ११ वर्षको हुँदा आमाको निधन भयो । आमाको निधन पछि बालक हरिवंशलाई लाग्यो कि, अब उनी नियममा बाँधिनु पर्नेछैन, संस्कृत पढ्नुपर्ने छैन ।

आमाको निधन पछि हरिवंश आफै गएर पद्मोदय स्कुलमा कक्षा ५ मा भर्ना भए । त्यो समयमा स्कुलको ‘फी’ पनि उधारो राख्न पाइने भएका कारण उनलाई सजिलो भयो । तर जब ५ कक्षा पास भए उनले उक्त स्कुल नै छाडे । त्यसपछि शान्ति विद्यागृह गएर कक्षा ६ मा भर्ना भए र त्यहाँ पनि उधारोमा नै पढे । तर फेरी कक्षा ६ पास भएपछि भने कक्षा ७ देखि पढ्नको लागि पद्मोदयमा नै भर्ना भए । उनले २०३२ सालमा पद्मोदयबाट एसएलसी दिए । तर एसएलसी पास भने २०३५ मा मात्र हुनसके । उनी थर्ड डिभिजनमा पास भएका थिए ।

कलाकारिता यात्रा

आमा बुवाको निधन पछि हरिवंश र उनका दिदीहरुले निकै अप्ठ्यारो परिस्थिति झेल्नुपर्यो । १८/१९ वर्षको उमेरका हरिवंशलाई घर जग्गामा ठगी गरे । खानको लागि पुर्ख्यौली थलोबाट आएको खाद्यान्नले गुजारा गर्न थाले । कलिलो उमेरमै आफ्नै घर जग्गा आफ्नो बनाउनको लागि मुद्दा लड्नुपर्यो । एसएलसी पछि २०३२ तिर आचार्यले जागिर गर्न थाले । स्कुल पढ्दाका मिल्ने साथी सुशीलका बुवा लक्ष्मीप्रसाद अधिकारिले उनलाई जागिर लगाइदिए । उनी रत्नराज्य स्कुलमा एकाउन्टेन्ट भए। महिनाको १ सय ३५ रूपैयाँ तलब पाउन थाले। रत्नराज्यमा काम गरेर उनी साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थे। उनलाई पनि नृत्य गर्ने इच्छा थियो। तर साह्रै दुब्लो भएका कारण नाच्न सुहाउँदैन भनेर उनलाई झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम दिइयो। त्यहाँ पैसा पाइँदैनथ्यो। दलमा काम गर्न पाउनु नै उनको लागि ठूलो कुरा थियो।

उक्त दलमा काम गर्दा गर्दै हरिवंशमा कलाकारिताको झन् ठूलो भोक जाग्न थाल्यो । नक्साल बस्दा नाटककार जितेन्द्र महत ‘अभिलाषी’ सधैं नक्सालमा हिँड्थे। उनलाई भेटेर नाटकमा खेलाउन आग्रह गरे। त्यसपछि अभिलाषीले उनलाई नाचघरमा अवसर दिए । १ सय ७५ रूपैयाँ तलबमा उनले त्यहाँ नाटक खेल्न थाले । त्यतिबेला नाचघरमा नाटक हेर्नको लागि राजपरिवार आउने गर्थे । आचार्यको अभिनयबाट राजा रानी प्रभावित भएपछि उनको तलब ३ सय ७५ रुपैयाँ पुगेको थियो । त्यसपछि उनले रेडियो नेपालमा समेत अवसर पाए र संगै गाइजात्रा प्रहसन समेत गर्न थाले ।

रेडियो तथा गाइजात्रामा हरिवंशको प्रस्तुति देखेर अर्का कलाकार मदनकृष्ण श्रेष्ठ निकै प्रभावित भएका थिए । जसका कारण एउटा कार्यक्रममा प्रस्तुतिको लागि उनले हरिवंशको नाम सिफारिस गरे। राजारानी आउने कार्यक्रम, समयको पावन्दीले गर्दा छुटा छुट्टै प्रहसन स्क्रिप्ट लिएर गएका मदनकृष्ण र हरिवंशलाई आयोजकले संगै प्रस्तुति दिन आग्रह गरे । उक्त प्रस्तुति निकै राम्रो रह्यो । जसले गर्दा उनीहरुले अरु कार्यक्रममासमेत सहकार्य गर्न थाले र त्यो सहकार्य ‘विज्ञापन’ नाटक सम्म पुग्यो ।

Photo Source : cinemasansar.blogspo

विज्ञापन नाटक मदनकृष्ण र हरिवंशले मिलेर लेखेका थिए। उक्त नाटक राष्ट्रिय सभागृहमा अपार भिडका साथ चलिरहेको थियो । नाटक प्रदर्शन अघि उद्घोषण गर्ने क्रममा कलाकार राजाराम पौडेलले सबैको नाम लिइसकेपछि नाटकको लेखन ‘मह’ ले गरेको भनेर उद्घोष गरे। त्यतिबेला मदनकृष्ण र हरिवंशले समेत बुझेनन् । त्यसपछि राजारामले बोले ” म अर्थात मदनकृष्ण र ह अर्थात हरिवंश ” । त्यही दिन देखि ‘मह’ जोडीले आफ्नो छुट्टै परिचय पायो । यो जोडी अहिलेसम्म निरन्तर सहकार्यमा जुटेको छ र आत्मियता, सद्भाव, मित्रता, सम्बन्ध तथा सहकार्यको सुन्दर उदाहरण बनेको छ । मह जोडी नाटकमा मात्र सिमित नभई टेलिभिजन, विज्ञापन, ठूलो पर्दाको चलचित्र र सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएको छ ।

संघर्षबाट उठ्दै करियरको सुन्दर चरणमा आउँदा हरिवंश आचार्यलाई बज्रपात पर्यो। सन् २०११ मा उनकी श्रीमती मीरा आचार्यको हृदयघातबाट निधन भयो । मीरा र हरिवंशका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। हरिवंशले मीरासंग २०४० मा प्रेम विवाह गरेका थिए । त्यसपछि उनले वि।सं। २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरे।

सफलता

हरिवंश आचार्य अहिले नेपालको वरिष्ठ कलाकारको रुपमा चिनिन्छन् भने मह जोडी नेपाली समाजमा एक उदाहरणीय जोडी रहेको छ । हरिवंश आचार्यका लोकप्रिय चलचित्र लोभि पापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नि बद्री, शत्रु गते आदि हुन् भने लाल पुर्जा, १५ गते, भकुण्डे भूत, हरि बहादुर र मदन बहादुरको श्रृंखला, ५०/५०, दशैं , मह चौतारी , असल लोग्ने, कान्तिपुर आदि लोकप्रिय टेलीशृंखला हुन् । त्यस्तै मह दोहोरी लगायतका प्रहसन हरेकजसो नेपालीको मनमा बस्न सफल भएका छन् । गीत संगीतमा रुची राख्ने हरिवंशले गीत लेखन तथा गायन मार्फत पनि श्रोताहरुको मन जितेका छन् । उनको गीत ‘सारंगी रेटौला’ बढी लोकप्रिय रहेको छ। कालाकारिता मार्फत नै उनी विभिन्न पुरस्कार तथा पदवीबाट सम्मानित भएका छन् । उनलाई मदन कृष्ण श्रेष्ठसँग वि.सं २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ नेपालमा धेरै पाठकहरुले मन पराएको पुस्तक हो । त्यस्तै, उनले ‘हरिबहादुर’ नामक उपन्यास समेत लेखेका छन् ।

हरिवंशले सानै उमेर देखि दु:ख झेले । संघर्षबाट उठेर करियरले सफलताको शिखर चुम्दै गर्दा परिवारमा बज्रपात पर्यो । तर उनी सधै बलियो बनेर अगाडी बढिरहे । थर्ड डिभिजनमा एसएलसी पास गरेका उनले आफ्नो प्रतिभालाई चिनेर मेहनत गर्दै अगाडी बढे र आफ्नो कार्य क्षेत्रमा आम सर्वसाधारणले समेत गर्ने मूल्यांकनमा विशिष्ट श्रेणी प्राप्त गरेका छन् ।

सन्दर्भ सामग्री : https://ne.wikipedia.org

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text