यहाँ
सौभाग्यवती र पुत्रवती जस्ता शब्दबाट सुरु हुन्छ आशीर्वाद
कहिल्यै सङ्कुचित सोचबाट
माथि उठेन आशीर्वाद ।
त्यसैले त
एकदमै अर्थहिन लाग्छ मलाई यो आशीर्वाद ।
फोनमा होस, चिठीमा, इमेलमा होस्
या प्रत्यक्ष भेटमा,
जब म कसैले कसैलाई आशीर्वाद दिएको सुन्छु, देख्छु
अर्थहीन लाग्छ मलाई त्यो आशीर्वाद ।
सुन्दर होइन, धारिलो शब्द जस्तो लाग्छ मलाई,
किनकी
आशीर्वाद पुत्रीवती भनेर दिइँदैन
आशीर्वाद छोरीको सपना, सम्मान र खुशीको लागि दिइँदैन ।
यो त केवल श्रीमान प्राप्तिको लागि दिइन्छ
यो त केवल पुत्र प्राप्त होस् भनेर दिइन्छ ।
तर
कहिल्यै गल्तीले पनि पुत्रीको लागि दिइँदैन
कुनै पुत्रीको खुशीको लागि दिइँदैन ।
सौभाग्यवती र पुत्रवती जस्ता आशीर्वादरुपी शब्द सुन्दा
वितृष्ण जागेर आउँछ मलाई र
ती सबैलाई प्रश्न सोध्न मन लाग्छ,
जसले केवल सौभाग्यवती र पुत्रवती जस्ता शब्दहरू रटेर बसेका छन् ,
के तिमीहरूको घर परिवार समाज र संसार बिना पुत्रीको पनि चलेको छ र ?
पुत्री न हुँदो हो त
के तिमीले अहिले यसरी
सौभाग्यवती र पुत्रवती भनि आशीर्वाद दिन पाउने थियौ होला र?
म चाहन्छु, सङ्कुचित सोचबाट माथि उठोस् आशीर्वाद
कहिले छोराको लागि त कहिले छोरीको नाममा पनि सास फेरोस आशीर्वाद ।
कहिले श्रीमानको लागि त
कहिले श्रीमतीको व्यक्तिगत सपनाको नाममा पनि
जागृत होस् आशीर्वाद ।
आशीर्वाद, केवल आशीर्वाद मात्र नहोस
सबैका लागि, सधैंका लागि हौसला पनि बन्न सकोस् आशीर्वाद ।
- आकांक्षा झा