आफ्नो इच्छाशक्ति, आत्मविश्वास, इमान्दारिता र दृढतालाई साथमा लिएर अगाडी बढ्नेहरु आफ्नो सपनाको भर्याङ्ग चढ्न सफल हुन्छन् । यस्तै एक उदाहरण हुन्, टोनु घोथाने ।

पुर्ख्यौली घर पश्चिम नेपाल भएतापनि टोनु घोथानेले आफ्नो स्कुले जीवन काठमाडौंमा नै प्रारम्भ गरे । काठमाडौंको सेन्ट जेभियर स्कुलबाट उनले एसएलसी दिएका थिए । घोथाने वकिल बन्न चाहन्थे । स्कुले जीवनमा बानेश्वरमा बस्दा कानुन व्यवसायी ( पूर्व प्रधानन्यायाधीश ) विश्वनाथ उपाध्यायको परिवारका सदस्यहरुसंग उनको चिनजान भयो । जसले गर्दा उनले कानुनि विषयका बारेमा जानकारी लिने अवसर पाएका थिए । भनिन्छ नि, मानिसको जीवनमा उसले गर्ने संगत र उसको वातवारणले सबैभन्दा ठूलो प्रभाव पार्छ । टोनु घोथानेलाई पनि त्यही संगत र चिनजानले आफ्नो जिन्दगीको एउटा लक्ष्य देखाइदियो ।

जिन्दगीको बाटो सिधा र सजिलो हुन्थ्यो भने सायद यी इतिहास, कथा, प्रेरणाका संदेश पढिने थिएनन् होला । टोनु घोथाने कानुनि विषय प्रतिको आकर्षण विपरित विज्ञान संकायमा भर्ना भए । त्यतिबेला नेपालमा विद्यार्थीहरु विज्ञान विषय पढ्ने र आइएससी पछि अमेरिका जाने लहड चलेको थियो । सेन्ट जेभियर कलेज माइतिघरमा आई.एस.सी गरेका उनको राम्रो नतिजा आएन । जसले गर्दा उनको अमेरिका पढ्न जाने चाहना पनि अधुरो रह्यो । यसैक्रममा साथीको माध्यमबाट उनको परिचय अष्ट्रेलियामा व्यवसाय गरिरहेका तथा कलेज संचालन गरेका शेष घले र जमुना घलेसंग भयो । घले दम्पत्तिसंग चिनजान पछि अष्ट्रेलिया र त्यहाँको शैक्षिक वातावरण बुझेपछि उनी अष्ट्रेलिया जाने निधो गरे ।

अष्ट्रेलियामा त्यो समयमा नेपालबाट जानेहरुले डिप्लोमा गर्ने चलन थियो । टोनु घोथानेले आफ्नै खर्चमा युनिभर्सिटी भर्ना हुने निर्णय गर्दा धेरैले उनलाई मूर्ख सम्झिए । उनलाई थाहा थियो, युनिभर्सिटी पढ्नु महँगो हुन्छ र कडा मेहनत गर्नुपर्नेछ । उनी त्यो चुनौती स्विकार्न तयार भए ।अर्कोतिर, उनले चाहेको विषय ‘ कानुन ‘ पढ्न अझ धेरै महँगो थियो, जुन त्यो समयको लागि असम्भव जस्तै भयो । त्यसैले उनी युनिभर्सिटीमा बिजनेस विषयको लागि भर्ना भए । त्यतिबेला अष्ट्रेलियामा पीआर थिएन। तर त्यही समयमा भएको निर्वाचनमा लिबरल पार्टीले जित्यो र पीआर लागु भयो । बिजनेसमा ब्याचलर गरेका घोथानेले पीआरको लागि फेरी आइटी पढ्न थाले । अर्कोतिर, कानुन विषय प्रतिको उनको आकर्षण मनमा दबिएर बसेको थियो ।


With the Hon Prime Minister Scott Morrison at Parliament House, Australia.

त्यो समयलाई सम्झिदै टोनु घोथाने भन्छन् , ” युनिभर्सिटीको महँगो शुल्क तिर्नु, आफ्नो जीविका चलाउनु, आफूले पढ्ने लक्ष्य लिएको विषय पढ्न नपाउनु आदि कुरालाई लिएर हिड्नु कम चुनौतीपूर्ण थिएन । मेरो कुनै सामाजिक जीवन थिएन । मनोरंजन, घुमफिर, टाइमपास भनेको मेरो लागि टाढाको कुरा थियो । तर म कहिल्यै पनि निराश भएर बसिन । सधै पढाइ र कामलाई प्राथमिकता दिएँ “। उनका अनुसार अहिले नेपालमा होस् या अष्ट्रेलियामा होस्, विद्यार्थीहरु छिटो निराश हुन्छन् । उनीहरु सामाजिक जीवन, महँगो जीवनशैलीप्रति छिटो आकर्षित हुन्छन् जसले गर्दा पढाइमा कम समय दिन्छन् । पढाइको समयमा पढाइलाई केन्द्रमा राखेका कारण नै आफू पढ्दै पढाउने काम पाउनुका साथै व्यक्तित्व विकासको अवसर प्राप्त भएको घोथाने बताउँछन् । विद्यार्थीले पढाइलाई केन्द्रमा राख्न सकेमा पछि त्यही त्यागले संसारको जुनसुकै ठाउँमा पुगेपनि सम्मान सहितको सामाजिक जीवन पाउन सकिने उनी बताउँछन् ।

युनिभर्सिटीको पढाइ सकेपछि टोनु घोथाने सामाजिक जीवनमा प्रवेश गरे । अष्ट्रेलियाको मेलबर्न सहरमा उनले पहिलो पटक इभेन्ट कम्पनी खोले । नेप्लिज एसोसिएसन भिक्टोरियाको सहसचिव, यति क्लबको प्रथम म्यानेजर भएर समेत काम गरे । काममा सक्रिय हुँदाहुँदै पनि उनीबाट कानुनी विषय प्रतिको आकर्षण गएको थिएन । त्यसैले २००१ मा उनी कानुनी डिग्रीको लागि भर्ना भए । तर व्यक्तिगत समस्याका कारण उनले त्यो पढाइलाई निरन्तरता दिन सकेनन् । वैवाहिक जीवनमा निकै उतारचढाव भोग्नु पर्यो । तर उनीभित्रको इच्छाशक्ति र दृढता कहिल्यै मरेन । त्यसैले २००६ मा उनले ६ महिनाको माइग्रेसन ल कोर्स गरे । त्यसपछि ३ वर्ष काम गरेर उनी २०१० मा ल डिग्रीको लागि भर्ना भए र कानुनी क्षेत्रमा काम गर्ने आफ्नो सपना पूरा गरे । उनी अहिले अष्ट्रेलियाको मेलबर्न शहरमा कानुन व्यवसायीको रुपमा कार्यरत छन् ।

टोनु घोथाने गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्वअध्यक्ष समेत हुन् । एनआरएनए अष्ट्रेलियाको एनसीसी सदस्य र त्यसपछि सचिव हुँदै उनी २०१७-१९ को अध्यक्ष पदमा निर्वाचित भएका थिए । ‘Act Local , Think Global ‘ भन्ने नारालाई आत्मसात गर्दै अगाडी बढेका घोथानेको दुई वर्षे कार्यकालमा एनआरएनए अष्ट्रेलियाले नेपालीको साझा संस्थाको रुपमा विश्वासिलो छवि बनाउन सक्यो । नेपाली समुदायमा उनको कार्यकाल एनआरएनए अष्ट्रेलियाको एक सफल कार्यकालको रुपमा समेत लिइएको छ ।

आफ्नो काम प्रतिको इमान्दारिता र सकारात्मक सोंचका कारण विश्वास गरी नेपाली समुदायले सो पदिय जिम्मेवार दिएको हुनसक्ने टोनु घोथाने बताउँछन् । घोथानेका अनुसार, कुनै पनि काम गर्दा आफ्नो निजी स्वार्थ र छोटो समयको फाइदालाई हेर्नु हुँदैन । त्यसको दिर्घकालिन असर र त्यो कामका कारण आफ्नो कस्तो परिचय बन्न सक्छ भन्ने ध्यानमा राखी काम गर्नुपर्छ । त्यस्तै, आफ्नो आम्दानी र खर्च तथा सामाजिक जीवन र करियर बीच सन्तुलन हुनुपर्ने उनको अनुभव बताउँछ । त़ी अनुभवले देखाएका मार्गदर्शन अझै बाँकी छन्, हिंड्दै गर्दा थपिएका सपनाहरु पूरा गर्न बाँकी छन् र उनी त़ी सबै पूरा गर्ने दृढताका साथ अगाडी बढिरहेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text