असफल हुनासाथ हामीले जिन्दगी सकियो भन्ने सोंच्छौँ । तर सफल भएका व्यक्तिहरु कसैले पनि एकै पटक सफलता हासिल गरेका होइनन । असफलताले जब मान्छे खारिदै जान्छ, तब ऊ सफलताको नजिक पुग्छ ।
असफल भएको समयमा पनि सकारात्मक सोंचलाई कसरी जोगाइराख्ने ?
सबैभन्दा पहिले त्यो असफलताको नतिजालाई स्विकार्नुहोस् । आफूले त्यसको दायित्व लिनुहोस् । अरुलाई या वातावरणलाई दोष लगाएर आफू पिडित बनेर नबस्नुहोस् । त्यसो गर्नुभयो भने पिडित देखिएर नै तपाईंको जीवन नाशिनेछ ।

आफ्नो लक्ष्यमा केन्द्रित हुनुहोस् । तपाईं असफल नै हुनुभयो भने पनि, त्यो पनि तपाईं आफ्नो लक्ष्यको लागि एक कदम अगाडी बढ्नु हो । यो असफलताले तपाईंलाई अनुभव र सिकाई दिन्छ, जसले तपाईंको लागि सिंढीको रुपमा काम गर्नेछ ।
अब आफ्नो योजना र तयारि देखि अहिले असफलतासम्म आइपुग्दा सम्मको कुरालाई कथा जस्तै गरि कापीमा लेख्नुहोस् । र, त्यो लेखिसकेपछि पटक पटक पढ्नुहोस् ।

आफूले लेखेको कुरालाई विश्लेषण गर्नुहोस् । तपाईंको योजना, तयारि, कार्यान्वयन, प्रस्तुति र नतिजा सबैलाई छुट्टाछुट्टै विश्लेषण गर्नुहोस् । त्यसपछि ती सबैकुरालाई जोडेर विश्लेषण गर्नुहोस् । त्यसपछि तपाईंले आफू असफल हुनुको कारण पत्ता लगाउन सक्नुहुनेछ ।
विश्लेषण गरिसकेपछि त्यसमा तपाईंले भेटेका आफ्ना सही कुरा, बलिया पक्ष र गल्ती तथा कमजोर पक्षलाई लेख्नुहोस् । यो तपाईंको लागि सिकाई हो । अबका योजना तथा काममा तपाईंले आफूलाई कसरि प्रस्तुत गर्नुपर्नेछ भन्ने कुराको जवाफ तपाईंले यहाँ भेट्नुहुनेछ । यसले तपाईंमा आशा र आत्मविश्वास जगाउँछ ।

सफलता कुनै गन्तव्य या कुनै बिन्दु होइन भन्ने कुरालाई बुझ्नुहोस् । सफलता एउटा प्रक्रिया हो, एउटा यात्रा हो । कुनै एउटा बिन्दुमा पुगेर यात्रा टुंगिदैन । एउटा मोडमा आफूले चाहे अनुसार नतिजा आउँछ भने अर्को मोडमा नआउन सक्छ । त्यस्तै एउटा मोडमा आफूले चाहे जस्तो नतिजा आएन भन्दै सधै त्यही कुरा दोहोरिन्छ भन्ने हुँदैन । अर्को तर्फ न त असफलताले जिन्दगी सकिन्छ, न त एउटा सफलताले जिन्दगीभरको आत्मसन्तुष्टि मिल्छ ।