• कुशल डुम्रे

मेरो घर पश्चिम नेपालको स्याङ्जा जिल्लामा पर्छ । मेरो स्कुल जीवन त्यहीं सुरु भयो र एस.एल.सी पनि त्यही विकट गाउँकै स्कुलबाट पास गरें । म मेरो कक्षाको राम्रो विद्यार्थीको रुपमा चिनिन्थें । एस.एल.सीमा राम्रो अंक ल्याउनुपर्छ भन्ने उद्देश्यसाथ पढें । तर रिजल्ट आफूले सोंचे अनुरुप या मैले मिहिनेत गरे अनुसार आएन । म बाहिर खुशी देखिएपनि भित्र साह्रै दु:खी भइरहेको थिएँ ।

एस.एल.सी पछि दुई महिना काठमाडौं बसें । त्यसपछि पढ्नको लागि भने बुटवल बस्ने निधो गरें । बस्दा आफन्त पर्ने एकजनासंग बस्ने भएँ । तर त्यो भन्दा अगाडी मैले ती साथीलाई चिनेको थिइन । संगै बस्न थाल्यौं, तर खाना बनाउन भने दुवैलाई नआउने । त्यसमाथि घरबेटी किचकिच गर्ने परेछन् । घर छोडेर त्यसरी पहिलो पटक बसेको, आफ्नै दैनिकी देखि दिक्क लाग्थ्यो । उता कलेज जीवन पनि उस्तै थियो ।

म विकट गाउँको स्कुलबाट पढेको विद्यार्थी, अंग्रेजीमा साह्रै कमजोर थिएँ । व्यवस्थापन विषय पढ्थें, तर आफ्नै जिन्दगी आफैलाई अव्यवस्थित लागिरहेको थियो । अंग्रेजी नजान्दा कलेजमा हिनताबोध हुन्थ्यो । कक्षामा आफूले नबुझेको कुरा सोध्न खोज्दा साथीहरु गलल्ल हाँस्थे । उनीहरुको अंग्रेजी बोलाई फरक थियो, हाउभाउ, जीवनशैली फरक थियो । अंग्रेजी सिक्नको लागि अंग्रेजी भाषा सिकाउने भनिएका किताबहरु ल्याएर पढें । तर केही काम लागेन ।

एस.एल.सीको नतिजा र त्यसपछिको पढाइ तथा वातवरण यी कुनै पनि कुराले खुशी थिइन । म निराशामा धकेलिएँ । घरमा फोन गरेर आमासंग म घर फर्किन्छु समेत भनें । तर आमाले ‘हामीले जा भनेको होइन, जे गर्छस गर्’ भन्नुभयो । म आफूलाई एक्लो महसुस गरें । त्यो दिन मेरा आँशु थामीएनन् ।

भनिन्छ, पीडाले मानिसलाई दुई विकल्प दिन्छ, या त पछि हट्ने या त लड्ने । म लडें । आफ्नो यात्रालाई निरन्तरता दिएँ । यो सबै कुराको उत्तर मैले केही गरेर दिनुपर्छ भन्ने सोचें । अहिले मेरो यात्रा जारि छ । विभिन्न संघसंस्थामा आबद्ध भइ काम गरिरहेको छु । Youth Can भन्ने संस्थाको उपाध्यक्षको रुपमा काम गरेको छु । यसका साथै short movie पनि निर्माण गरें, जसबाट नयाँ परिचय बनाएको छु ।

यदि म त्यतिबेला निराश भएर हार मानेको भए, पढाइ छोडेको भए, या कुनै कुलतमा फसेको भए सायद मेरो जिन्दगी यत्तिकै सकिने थियो । अहिले ममा आत्मविश्वास छ, सपना छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text