हामी सबै आत्मनिर्भर रहेर पनि परनिर्भर छौं । साथी सर्कल, परिवार, व्यवसायिक सम्बन्धहरु, सामाजिक सम्बन्धहरुले हामीलाई हाम्रो जीवनका अनेक परिस्थितिहरुमा अगाडी बढ्न मद्दत गर्छन । कतिपय अवस्थामा सम्बन्धहरुले नयाँ अवसरहरु समेत सिर्जना गरिदिन्छन ।

मानिसहरुसंगको सम्बन्ध अर्थात् आफ्नो नेटवर्क कसरि बढाउने ?

कोही व्यक्तिसंग पहिलो पटक भेट भएको छ भने त्यो व्यक्तिको नाम र पेशा याद गर्नुहोस् । अर्कोपटक तपाईंले उक्त व्यक्तिलाई चिन्नुभएन या उसको नाम बिर्सनुभयो भने उसको नजरमा तपाईंको व्यक्तित्व सम्बन्धि नकारात्मक असर पर्नसक्छ । र, यदि दोस्रो पटक भेट्दा ती व्यक्तिको नाम याद गरेर बोल्नुभयो भने आत्मियता र सद्भाव बढ्छ, जसले गर्दा सम्बन्ध पनि बढ्छ ।

सामाजिक संजालमा आफ्नो रुची र आफ्नो कामसंग सम्बन्धित व्यक्तिहरुसंग जोडिनुहोस् । आफ्नो क्षेत्रमा अगाडी बढिरहेका व्यक्तिहरुलाई ‘follow ‘ गर्नुहोस् । त्यस्तै, सामाजिक संजालमा आफ्ना फोटोहरु मात्र नराख्नुहोस् । आफ्ना विचार व्यक्त गर्नुहोस् ।

ताजा समाचार, नयाँ जानकारी तथा घटनाहरुसंग अपडेट रहनुहोस् । यसो गर्दा मानिसहरुसंग भेटघाट हुँदा या सामाजिक संजालमा कुराकानी रोचक हुनसक्छ, उनीहरु तपाईंबाट प्रभावित हुनसक्छन् । र, सम्बन्धहरु अगाडी बढ्छन् ।

व्यक्तित्व विकास र सकारात्मक सोंचलाई महत्व दिनुहोस् । अरुको कुरा काट्ने या नकारात्मक पक्षलाई कुराकानीमा जोड दिने नगर्नुहोस् ।

तपाईंलाई कसैले चियाको लागि मात्र निम्ता गर्छ भने पनि धन्यवाद दिनुहोस् । अर्को पटकको लागि त्यो जिम्मेवारी आफ्नो सम्झनुहोस् । कुनै पनि सम्बन्ध कहिल्यै पनि एकतर्फी रुपमा चल्दैन भन्ने बुझ्नुहोस् ।

तपाईंले लिने मात्र नसम्झनुहोस् । दिने पनि सम्झनुहोस् । त्यसमा कुनै उपहार या कुनै पनि सहयोग हुनसक्छ । त्यस्तै, सामाजिक काममा सहभागी हुनुहोस् ।

भेटघाटमा आफ्नो शारीरिक हाउभाउलाई ध्यान दिनुहोस् । यदि शारीरिक हाउभाउमा ध्यान दिनुभएन भने तपाईंले भेटेको व्यक्तिमा तपाईंको व्यक्तित्व सम्बन्धि नकारात्मक छाप बस्नसक्छ ।

तपाईंलाई कसैले काम या कुनै पनि कुरामा सहयोग गर्छ भने त्यो व्यक्तिलाई धन्यवादको साथमा उपहार दिनुहोस् । उपहारको रुपमा उसको रुचि अनुसारको पुस्तक पनि दिन सक्नुहुन्छ ।

सामाजिक संजाल, साथीहरु या पत्रपत्रिकाबाट सभा, सेमिनार लगायतका इभेन्टहरु बारे जानकारी लिनुहोस् । ती इभेन्टहरुमा सहभागी हुनुहोस् । इभेन्ट सकिएपछि सहभागीमध्येहरुसंग परिचय आदानप्रदान गर्नुहोस् । साथी या कुनै संस्थाले त्यो इभेन्टको बारेमा जानकारी दिएको भएमा इभेन्टमा सहभागिता पछि धन्यवाद भन्न नबिर्सिनुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text