जर्ज वाशिंगटन अमेरिकाका पहिलो राष्ट्रपति हुन् । वाशिंगटन ६ वर्षको भएपछि बुवाले उनलाई एउटा सानो बन्चरो उपहार दिए । त्यतिबेला उनीहरुको जमिन निकै धेरै थियो । जमिनमा खेतीपातीको लागि कैयौं कामदारहरु राखिएका थिए । छोराले प्रयोगात्मक ज्ञान सिकोस् भन्ने उद्देश्यले उनले जर्ज वाशिंगटनलाई त्यो सानो बन्चरो उपहार दिएका थिए ।
बन्चरो पाएपछि वाशिंगटन निकै खुशी भए । बुवा आफ्नो काममा लागे । वाशिंगटन भने बन्चरो लिएर बगैंचा तिर दौडिए । अरुले बगैंचामा गोडमेल गरेको देखेका उनले धमाधम साना बिरुवाहरु काट्न थाले । त्यसपछि उनलाई ठूलो रुख काट्न मन लाग्यो । वाशिंगटनले ठूलो रुखमा बन्चरो हान्न थाले । सानो बन्चरोले ठूलो रुख किन काटिन्थ्यो र ? उनले निरन्तर बन्चरो प्रहार गरे र थाकेपछि घर फर्किए ।
साँझपख जब वाशिंगटनका बुवा बगैंचामा पुगे, उनी रिसले आगो भए र चिच्याए, ” यो सब कसले गरेको हो ? जसले गरेको हो म त्यसलाई छोड्दिन आज “। वाशिंगटनको सातो गए । उनी लुरुलुरु बुवा छेऊ पुगे र रुँदै भने, “यो सबै मैले गरेको हो बुवा ” । बुवाले उनलाई काखमा लिए र भने, ” मेरो छोराले झुट बोलेको भए मलाई यो भन्दा बढी रिस उठ्ने थियो। मेरो छोराले गल्ती नस्विकारेको भए मलाई यी बिरुवा काटिएको भन्दा बढी पीडा हुन्थ्यो ” ।
आफ्नो गल्तीलाई ढाकछोप गर्ने, आफ्नो गल्तीको दोष अरुलाई देखाउने व्यक्तिलाई हामी बाठो सम्झिन्छौँ । तर वास्तवमा त्यो ढाकछोप र अरुमाथि लगाएको दोषले उसलाई जिन्दगीभर छोड्दैन । बुद्धिमान त त्यो व्यक्ति हो, जसले आफ्नो गल्ती स्वीकार्छ । गल्तीलाई स्वीकारेर अगाडी बढ्दा उसले माफी पनि पाउँछ, स्वच्छ छवि रहन्छ र गल्तीबाट सिकेर अगाडी बढ्ने मौका पाउँछ ।
अर्कोतर्फ बालबालिकालाई आफ्नो गल्ती स्वीकार गर्न सिकाउनुपर्छ । यसले गर्दा उनीहरुमा इमान्दारिता र सकारात्मक सोंचको विकास हुन्छ ।