तिम्रो जिन्दगी तिम्रो डेरा होइन, तिम्रो घर हो । तिमीले आफ्नो जिन्दगीमा कसको लागि कति ठाउँ दिने, कसलाई तिम्रो जिन्दगीमा आउने अनुमति दिने र कसलाई ढोकाबाट नै बिदा गर्ने त्यो तिमीले बुझ्नुपर्छ ।
डेरामा बस्ने व्यक्तिलाई त्यहाँको सम्पूर्ण सरसफाई, मर्मतसम्भारसंग सरोकार हुँदैन । त्यसैले उसले त्यहाँ आफू रहन सक्ने कुरामा मात्र चासो दिन्छ । जिन्दगीलाई त्यसरी नलेऊ। तिम्रो जिन्दगीको सरसफाई देखि लिएर मर्मतसम्भारसम्म तिम्रो जिम्मेवारी हो ।
जसरि डेरामा बस्दा अरु व्यक्तिले तिम्रो डेरा, तिम्रो बसाईलाई लिएर हस्तक्षेप गर्छन् , त्यसरी आफ्नो जीवनमा हस्तक्षेप गर्ने अधिकार नदेऊ । तिम्रो जीवन तिम्रो स्वामित्वमा छ ।
आफ्नो घरमा तिमी चाहन्छौ कि, फोहोर बाहिर नै रहोस् । आउने मान्छेहरु खुट्टा बाहिर पुछेर र या धोएर मात्र आफ्नो घरभित्र आउन् भन्ने तिमी चाहन्छौ । बेलाबेलामा घर सफा गरिरहन्छौ र तिम्रो घरमा बस्ने सबैलाई त्यसै गर्न प्रेरित गर्छौ । त्यसरी नै तिम्रो जीवनमा पनि नकारात्मक विचार, व्यवहार र नकारात्मक असर गर्ने कुराहरुको सफाई गरिराख ।
घरलाई जसरि सिंगारेर तिमी मन्दिर जस्तो बनाउन चाहन्छौ, जसरि त्यहाँ खुशी, शान्ती र आत्मियता भर्न चाहन्छौ, त्यसरी नै आफ्नो जिन्दगीलाई सिंगार्ने प्रयत्न गर ।
तिम्रो जिन्दगीको लालपूर्जा भगवानले तिम्रो हातमा थमाइदिएका छन् र त्यहाँ कस्तो घर बसाउने, घर कसरि सुन्दर बनाउने तिम्रो हातमा छ ।