जर्ज बर्नड श प्रसिद्ध नाटककार, विश्लेषक तथा अभियन्ता हुन् । आयरल्याण्डका उनी सन् १९२५ मा साहित्य तर्फ नोबेल पुरस्कारले सम्मानित भएका थिए । जर्ज बर्नड श विशेष गरि बर्नड श नामले चिनिन्छन् । उनको जन्म सन् १८५६ जुलाई २६ मा भएको थियो भने सन् १९५० नोभेम्बर २ मा उनको निधन भएको थियो ।
प्रेरक प्रसंग
जर्ज बर्नड श पुस्तक प्रेमी थिए । कसैलाई उपहार दिंदा समेत उनी पुस्तक उपहार दिन मन पराउँथे । यसरि पुस्तक उपहार दिंदा उपहार लिने मान्छे पनि पढ्न प्रेरित हुन्छ भन्ने उनको मान्यता थियो । उनी बाहिरि सुन्दरता भन्दा ज्ञानलाई महत्व दिनुपर्छ भन्ने विचार राख्थे ।
आफ्नो विचार र मान्यता अनुरुप, बर्नड शले एकजना साथीलाई एउटा पुस्तक उपहार दिए । पुस्तकको पहिलो पानामा उनले ‘शुभकामना सहित’ लेखेर उक्त पुस्तक उपहार दिएका थिए ।
साथीलाई पुस्तक उपहार दिएको केही दिनपछि बर्नड श एक पुस्तक पसलमा पुगे । उनले त्यहाँ आफूले साथीलाई उपहार दिएको पुस्तक समेत भेटे । जब पुस्तक फर्काए, तब उनी अचम्ममा परे । त्यहाँ उनकै अक्षरमा लेखिएको थियो ‘शुभकामना सहित’ । पसलेलाई सोध्दा थाहा भयो कि, उनका ती साथीले उक्त पुस्तक त्यो पसलमा बेचेका रहेछन् ।
बर्नड शले उक्त पुस्तक किने । त्यसपछि उनले किताबको गातामा ‘दोहोर्याएको शुभकामना सहित’ लेखे र त्यही साथीलाई लगेर दिए ।
उपहार र शुभकामना सधै अमूल्य हुन्छन् । जसले उपहार र शुभकामनालाई पैसासंग तुलना गर्छ उसले सम्बन्ध र आत्मियतालाई बुझेको हुँदैन । त्यस्तै, ज्ञानलाई जसले प्राथमिकतामा राख्दैन, त्यो व्यक्ति जीवनका अन्य कुरामा समेत पछाडी रहन्छ ।