सानो देखि ठूलो कार्यक्रममा अगाडी गएर आफ्नो विचार राख्ने चाहना सबैजसो व्यक्तिको हुन्छ । त्यस्तै, कहिलेकाहीं अगाडी गएर बोल्नैपर्ने बाध्यता हुन्छ भने कहिलेकाहीं त्यो अवसरको रुपमा पनि आउनसक्छ । तर अगाडी गएर बोल्दा बोली काँप्ने, खुट्टा काँप्ने, हात काँप्ने, बोल्दा बिग्रने आदि डरले हामी पछाडी हटिरहेका हुन्छौं ।
अगाडी गएर बोल्दा लाग्ने डरलाई कसरी कम गर्ने ? साधारण तर प्रभावकारी ४ टिप्स
अगाडी गएर बोल्ने कुरालाई मात्र दिमागमा नराख्नुहोस् । समय भएमा संगीत सुन्ने या वरिपरिका व्यक्तिहरुसंग कुराकानी गर्ने, कार्यक्रममा मनोरन्जनात्मक कार्य भएमा सहभागी हुने गर्नुहोस् । यसो गर्दा तपाईंको दिमाग अन्यत्र बाँडिन्छ र तपाईं नर्भस हुनुभएको छ भने त्यसमा कमि आउँछ ।
सबैभन्दा पहिले त भाषा र बोल्ने शैली बिग्रने डर हुन्छ । हरेक व्यक्तिको विशेषता फरक-फरक हुन्छ । तपाईंले अर्को व्यक्ति जस्तो नै गरेर बोल्नुपर्छ भन्ने हुँदैन । त्यसैले म अरु जस्तो देखिन्न कि, भन्ने डरलाई त्याग्नुहोस् । आफ्नो भाषालाई सुधार्नुहोस्, तर अरुको नक्कल नगर्नुहोस् । नक्कल गर्न खोज्नुभयो भने बिग्रने डर हुन्छ, आफ्नो शैलीमा प्रस्तुति दिनुभयो भने आत्मविश्वास बढ्छ ।
बोल्नको लागि अगाडी जानुभन्दा पहिले लामो सास लिने र फाल्ने गर्नुहोस् । यसो गर्दा तपाईंको दिमागलाई शान्ति मिल्छ । त्यो एक किसिमको मेडिटेसन बन्छ । र, तपाईंको दिमाग फ्रेस हुन्छ । जसले गर्दा डर पनि कम हुन्छ ।
प्रत्यक्ष सम्बन्ध नदेखिएतापनि खाना र पोशाकले तपाईंको प्रस्तुतिमा प्रभाव पार्छ । अतालिदा कोही व्यक्तिलाई टाउको दुख्ने, पेट दुख्ने, रिंगटा लाग्ने समस्या देखिन्छन् । स्वस्थ खाना र शरीरमा प्रशस्त पानीको मात्रा भएमा यी समस्या कम हुन्छन् । त्यस्तै, समय र प्रस्तुति अनुसारको पोशाकले आत्मविश्वास बढाइदिन्छ ।