एकदिन स्वामी विवेकानन्द व्यायामशालामा थिए । किशोरावस्थाका उनी व्यायाम गर्न मन पराउने भएकाले साथीहरुसंग व्यायामशाला गइरहन्थे । त्यस दिन पनि उनी साथीहरुसंग व्यायाम गरिरहेका थिए । यस्तैमा एक अंग्रेज मुलका किशोर उनी नजिक आएर झगडा गर्न थाले । ती अंग्रेज मुलका किशोर यसरि झगडा सुरु गरे कि, विवेकानन्द र उनका साथी समेत व्यायाम छोडेर झगडामा सामेल भए ।
झगडाकै क्रममा व्यायामशालाको एउटा खाँबो ढल्यो र ती अंग्रेज किशोरलाई लाग्यो । ती किशोरको टाउकोबाट रगत बगिरहेको थियो, उनी बेहोस भएका थिए । त्यो देखेर डराएका विवेकानन्दका साथीहरु भागे । तर विवेकानन्द भने ती घाइते किशोरको उद्धार गर्नतर्फ लागे । जब किशोरले आँखा खोले, तब देखे की, विवेकानन्द उनको सेवा गरेर बसिरहेका छन् ।
उक्त घटनाले विवेकानन्द र ती अंग्रेज किशोर बीचको सम्बन्ध नै फेरियो । ती किशोरले विवेकानन्दसंग माफी मागे र विवेकानन्दले पनि आफ्नो तर्फबाट भएको गल्तीको लागि माफी माग्दै उनलाई सहयोग गर्नु आफ्नो कर्तव्य तथा मानवताको धर्म भएको बताए । त्यस दिनदेखि उनीहरु मिल्ने साथी बने ।