तिमीमा ” मैले गर्न सक्छु ” भन्ने विश्वास छ भने तिम्रो सपनाको आधा बाटो पुगिसक्यौ ।

परिचय

विलियम सिल्भेस्टर हार्ली प्रसिद्ध हार्ली डेभिडसन मोटर कम्पनीका सह-संस्थापक हुन् । अमेरिकाका नागरिक हार्ली पेशाले मेकानिकल इन्जिनियर तथा व्यवसायी थिए । उनको जन्म २९ डिसेम्बर १८८० मा भएको थियो ।

प्रारम्भिक जीवन

विलियम एस. हार्ली अमेरिकाको विस्कान्सिनमा भएको थियो । उनका बुवा विलियम हार्ली सिनियर रेल्वे इन्जिनियर थिए भने आमा मेरी स्मिथ बेलायति मुलकी थिइन् । हार्लीले सानै उमेरबाट आफ्नो करियरको सुरुवात गरेका थिए । विशेष गरि बाल्यकालका साथी अर्थर डेभिडसनसंग मिलेर उनले सानै उमेर देखि ठूला सपना बुनेका थिए ।


Signature of William S. Harley    

Source : Wikipedia

करियर

विलियम हार्लीले १५ वर्षको उमेर देखि नै काम गर्न सुरु गरेका थिए । त्यतिबेला उनले साइकल फ्याक्ट्रीमा काम गर्न थाले । जसले गर्दा उनमा साइकल प्रति लगाव बढ्यो । केही वर्ष ड्राफ्टम्यानको रुपमा काम गर्दा उनले साइकललाई सजिलोसंग चलाउन सकिने इन्जिनको परिकल्पना गरे । त्यसपछि त्यो परिकल्पनालाई उनले आफ्ना साथी अर्थर डेभिडसनलाई सुनाए । र, उनीहरु परिक्षणमा जुटे ।

मेसिन पसल भएका हेनरी मेल्कले हार्ली र डेभिडसनको परिक्षणमा सहयोग गर्न थाले । त्यस्तै, ग्यास इन्जिन सम्बन्धि क्षेत्रमा लागेका ओल अभिनरुडले पनि उनीहरुलाई सहयोग गर्न थाले । त्यसपछि डेभिडसनको घर पछाडीको खाली ठाउँमा एउटा छाप्रो बनाएर उनीहरुले काम सुरु गरे। यसरि सन् १९०३ मा हार्ली डेभिडसन कम्पनी स्थापना भएको थियो ।

त्यसको केही समयमा विलियम हार्ली पढ्नको लागि युनिभर्सिटी गए । आफ्नो सपनाको परिक्षण र अर्कोतर्फ पढाइ अनि आर्थिक पाटोलाई सबल बनाउनको लागि उनले रेष्टुरेन्टमा वेटरको काम समेत गरे । काम, पढाइ र आफ्नो सपनालाई उनले संगसंगै लिएर हिंडे । सन् १९०७ मा मेकानिकल इञ्जिनियरिङ्गमा डिग्री हासिल गरेपछि उनी फेरी फर्किए र बाइककै परिक्षणमा लागे ।


Harley-Davidson
Image: harley-davidson.com

बाइकको कल्पना विलियम हार्लीले गरेको हुनाले समूहमा हार्लीलाई मूख्य व्यक्तिको रुपमा मानिन्थ्यो । हार्ली संगै सम्पूर्ण टिमको निरन्तरको परिक्षणको सफलता स्वरुप कम्पनीले बाइक उत्पादन गर्न थाल्यो । पहिलो वर्ष कम्पनीले ३ वटा बाइक उत्पादन गरेको थियो । त्यसपछि विभिन्न परिक्षण गर्दै उनीहरुले बाइकलाई नयाँ-नयाँ रुप दिंदै गए । सन् १९०९ मा कम्पनीको आफ्नै फ्याक्ट्री बन्यो र ३५ जना कामदारहरु राखीए । त्यसपछि कम्पनीले वर्षेनी हजारौं बाइक उत्पादन गर्न थाल्यो ।

विलियम हार्लीको स्केच र वाइल्डलाइफ फोटोग्राफीको पनि प्रशंसा हुन्थ्यो । उनले सन् १९१० मा एन्ना ज्याकथबरसंग विवाह गरेका थिए । उनीहरुका दुई छोरा र एक छोरी थिए । सन् १९४३ सेप्टेम्बर १८ मा मुटुको रोगका कारण उनको निधन भएको थियो ।

सफलता

विलियम सिल्भेस्टर हार्लीको परिकल्पनाबाट जन्मिएको हार्ली डेभिडसन बाइक अहिले पनि संसारभर प्रसिद्ध छ । आफ्नो कामको अनुभव र पढाइबाट मिलेको ज्ञानले उनले आफ्नो सपनालाई वास्तविक सफलतामा परिणत गरेका थिए । उनको सम्मान स्वरुप विभिन्न ठाउँमा उनको प्रतिमा बनाइएको छ ।

हामीमध्ये धेरैजसो यात्रा सुरु नगर्दै थाकिसक्छौँ । कोही आधा बाटो त पुग्छौं, तर फर्किन्छौँ । यो सबै हामीमा आफूप्रतिको विश्वास, आफ्नो सपना प्रतिको विश्वासको कमी हो । जब तपाईंले “मैले गर्न सक्छु र मैले गर्ने नै हो” भन्ने सोंच्नुहुन्छ, तब तपाईं जतिसुकै बाधा आओस्, आफ्नो सपनालाई वास्तविकतामा परिणत गर्न निरन्तर लाग्नुहुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text