हरेक व्यक्ति आफ्नो जीवनमा सफलता चाहन्छ । तर सफल त्यही व्यक्ति हुन्छ, जसले चुनौतीको सामना गर्छ ।
चुनौतीको सामना कसरी गर्न सकिन्छ ?
सबैभन्दा पहिले त सपना देख्न सिक्नुहोस् । जब तपाईंले कुनै सपना देख्न थाल्नुहुन्छ, तब तपाईंमा त्यो सपना पूरा गर्ने इच्छाशक्ति जाग्छ । त्यो इच्छाशक्तिले तपाईंमा जस्तोसुकै चुनौतीको पनि सामना गर्ने हिम्मत आउँछ ।

एकैपटक ठूलो पर्खाल चढ्नको लागि जुनसुकै व्यक्तिलाई पनि गाह्रो हुन्छ । त्यसैले आफ्नो लक्ष्यलाई साना-साना लक्ष्यमा विभाजन गरेर अगाडी बढ्नुहोस् । हरेक दिन आफूलाई अपडेट राख्नुहोस् । नयाँ-नयाँ कुरा सिक्न उत्सुक रहनुहोस् । यस्ता कार्यले तपाईंको लागि सिंढीको काम गर्छन्, जसले गर्दा पर्खाल चढ्न सजिलो हुन्छ ।
आफ्ना कमजोर पक्ष र बलियो पक्षलाई कापीमा लेख्नुहोस् । अब त्यो चुनौतीको सामना गर्नको लागि तपाईंले आफ्ना बलियो पक्षलाई कसरि प्रयोग गर्न सक्नुहुन्छ र कमजोर पक्षमा कसरि सुधार गर्न सक्नुहुन्छ भन्ने कुरा राम्रोसंग विचार गर्नुहोस् र कापीमा लेख्नुहोस् । र, त्यसै अनुसार योजना बनाउनुहोस् ।

असफल भइने डरले तपाईंले कहिल्यै पनि चुनौतीको सामना गर्न सक्नुहुन्न । ‘असफल भएँ भने पनि यो मेरो लागि सिकाई बन्नेछ’ भन्ने सोंच लिएर चुनौतीको सामना गर्न तयार हुनुहोस् ।
तपाईंको चुनौतीलाई र लक्ष्यलाई बुझ्न सक्ने व्यक्तिसंग सल्लाह लिने, कुराकानी गर्ने गर्नुहोस् । आफ्नो कार्यक्षेत्रका व्यक्तिहरुसंग नेटवर्क बढाउनुहोस् । जसले गर्दा तपाईंलाई आवश्यक खण्डमा सहयोग मिल्न सक्छ ।

आफू पहिले कहाँ थिएँ र अहिले कहाँ छु भन्ने कुरालाई सम्झिनुहोस् । विगतमा सामना गरेका चुनौतीलाई सम्झनुहोस् । चुनौतीको सामना गर्न डराउँदा छुटेका अवसरहरुलाई सम्झनुहोस् । यसो गर्दा तपाईंलाई चुनौतीको सामना गर्ने हौसला मिल्नेछ ।
मनलाई विचलित बनाउने र नकारात्मक असर गर्ने कुराहरुबाट टाढा रहनुहोस् । सकारात्मक सोंच राख्ने व्यक्तिहरुको संगत गर्नुहोस् । सकारात्मक कुराहरु अध्ययन गर्ने गर्नुहोस् ।