जुनसुकै लक्ष्य हासिल गर्नको लागि काममा निरन्तरताको आवश्यकता पर्छ । तर त्यो निरन्तरतामा कहिलेकाहीं दिक्दारी लाग्छ, थकान महसुस हुन्छ । काममा मन लाग्दैन । यसै कारणले कतिपयले आफ्नो लक्ष्यलाई बीचमै छोड्छन् , तर त्यो समाधान होइन ।
काममा मन लागिरहेको छैन भने अपनाउनुहोस् यी तरिका
बिहानमा योगा गर्ने गर्नुहोस् । योगा गरेपछि तपाईंको दिमाग ताजा हुन्छ र शरीर स्फूर्त हुन्छ । जसले गर्दा काम गर्ने जाँगर पनि बढ्छ, सिर्जनशीलता बढ्छ र काममा ध्यान केन्द्रित हुन्छ ।
तपाईंले गरिरहेको काम तपाईंले केका लागि गरिरहनुभएको छ ? त्यो कारण हरेक दिन याद गर्नुहोस् । गरिरहेको कामलाई आफ्नो लक्ष्यसंग जोडेर हेर्नुहोस् । यसले गर्दा तपाईंले अरुका लागि नभई आफ्नो लागि काम गरेको महसुस गर्नुहुनेछ र काममा तपाईंको मन जान्छ ।
सधै एकै ठाउँमा रहेर उही काम गर्दा दिन मात्र होइन जिन्दगी पनि बोरिङ्ग बन्छ । तपाईंले प्रगति गर्न पनि सक्नुहुन्न । त्यसैले हरेक वर्ष आफ्नो कामको लागि कुनै लक्ष्य तय गर्नुहोस् र त्यो लक्ष्यको लागि योजनाहरु तयार गरि त्यही अनुसार अगाडी बढ्नुहोस् ।
काममा साना-साना उपलब्धि हासिल गर्दा पनि आफूलाई आफैले बधाई दिनुहोस्, सक्नुहुन्छ भने आफ्नो लागि सानो नै भएपनि कुनै उपहार किन्नुहोस् । यदि काममा गल्ती भयो भने त्यसलाई सिकाइको रुपमा लिनुहोस् ।
हरेक दिन उही काम, उही ठाउँमा, उही तरिकाले गर्दा दिक्क लाग्छ । त्यसैले आफूले बसेर काम गर्ने ठाउँमा बेला-बेलामा कुनै परिवर्तन ल्याउनुहोस् । जस्तै; फूलको गमला राख्नुहोस्, कुनै भनाइ लेखेर राख्नुहोस्, आफूलाई प्रेरणा दिने व्यक्तिको फोटो फ्रेम राख्नुहोस् । र, काम गर्दा फरक फरक तरिकाहरु अपनाउनुहोस् । सिर्जनशीलतामा जोड दिनुहोस् ।
काममा भएका कुरालाई बेलुका डायरीमा लेख्नुहोस् । यो तपाईंको लागि याद मात्र नभएर प्रेरणा र सिकाइ पनि बन्नसक्छ ।
आफ्नो कामको क्षेत्रको बारेमा अपडेट रहनुहोस् । कामसंग सम्बन्धित केही अध्ययन, अनुसन्धान गर्नुहोस् ।
काममा आफ्नो रुची मिल्ने साथीहरुसंग मित्रता अगाडी बढाउनुहोस् ।
एकोहोरो काम गर्दा काम देखि दिक्क लाग्छ । त्यसैले बीच बीचमा कामबाट ब्रेक लिनुहोस् ।