जीवनमा आफ्नो सपना पूरा भएको र सन्तुष्टिका साथ बाँचेको कल्पना गर्दै हुनुहुन्छ भने त्याग्नुहोस् यी ५ कुरा :
मोजमस्ती र भड्किलो जीवनशैली त्याग्नुहोस्
आज फजुल खर्च गर्ने पैसा तपाईंले जम्मा गरेर लगानी गर्नुभयो भने त्यसले भविष्यमा तपाईंलाई राम्रो प्रतिफल दिन सक्छ। र, भोलि तपाईंले त्यो जीवनशैली पाउन सक्नुहुन्छ, जुन तपाईंले आज कल्पना पनि गर्नुभएको छैन। तर आजको फजुल खर्चले तपाईंलाई सधै जहाँको त्यहीं राखिदिन्छ। सफल व्यवसायी वारेन वफेटले भनेका छन् , ” आज तिमीले आफूलाई आवश्यक नपरेको वस्तु किन्छौ भने भोली तिमीले आफ्नो आवश्यकताको वस्तु पनि बेच्ने दिन आउनसक्छ।”
सजिलो र छोटो बाटोप्रतिको आकर्षण त्याग्नुहोस्
सफलता सजिलोमा छैन। यदि सजिलो र छोटो बाटो रोज्नुभयो भने तपाईं क्षणिक सुखमा भुलेर आफ्नो जीवनलाई सिमित घेराबन्दीमा राख्नुहुन्छ। तपाईं सानो सफलतामै रमाएर बस्नुहुन्छ र त्यहाँ पुग्न सक्नुहुन्न, जहाँ तपाईं पुग्नुपर्ने हो।
चियागफ, टेलिभिजन र सामाजिक संजालको नसा त्याग्नुहोस्
साथीहरुसंगको चियागफ, टेलिभिजन, सामाजिक संजाल आदि नराम्रा कुरा होइनन्। तर हामीले धेरै समय यी कुरामा बिताउन थाल्यौं भने त्यो हाम्रो लागि नसा बन्छ। हाम्रो दिन रमाइलोमा त गुज्रिन्छ तर यो नसाले हाम्रो भविष्य भने अन्योलमा पुर्याइदिञ्छ।
गुनासो गर्ने, बाहना बनाउने र परनिर्भर रहने बानी त्याग्नुहोस्
गुनासो गर्ने, बाहना बनाउने र परनिर्भर रहने व्यक्तिले आफैलाई आफैले ठगिरहेको हुन्छ। त्यसो गर्नु भनेको आफैलाई पछाडी पर्नु हो। व्यक्ति तब मात्र आत्मनिर्भर, बलियो, अनुभवी र साहसी बन्छ, जब उसले आफ्नो जिम्मेवारी बहन गर्दै चुनौतीको सामना गर्छ।
भोलिवादी बानी त्याग्नुहोस्
आजको काम भोलिको लागि सार्ने बानीले हामीलाई अस्तव्यस्त बनाउँछ। यसले गर्दा हाम्रो उत्पादनशीलतामा कमी आउँछ। अर्को कुरा, हाम्रो अवसर पनि फुत्केर जान सक्छ।