डा. नवराज लम्साल लोकप्रिय कवि, गीतकार, लेखक तथा रेडियो प्रस्तोता हुनुहुन्छ। धदिङ्गको ज्याम्रुंगमा जन्मिनुभएका लम्सालका पाइलै पिच्छे सगरमाथा (कविता संग्रह ), आगो छोपेर कतिन्जेल (कविता संग्रह ), धुन भित्र धुन बाहिर (गीत संग्रह ), कर्ण (महाकाव्य ), उडूँ उडूँ लाग्छ (बालगीत संग्रह ), धरा ( महाकाव्य ) , क्रमशः एक्लै एक्लै ( कविता संग्रह ) कृतिहरु प्रकाशित छन्।

कविता लेख्न चाहनेहरुका लागि डा. नवराज लम्सालका १० टिप्स

१. कसैलाई खुसी पार्न कविता नलेख्नुस् आफ्नै हृदयलाई खुसी पार्न कविता लेख्नुस्, त्यो खुसी सत्यको नजिक हुन्छ ।

२. कविता अन्तरको खोजी हो, बाह्य दुनियाँ माध्यममात्र हो, यही माध्यम टेकेर अन्तरयात्रामा प्रवेश गर्नुस् । आँखा चिम्म गर्दा आफूचित्र जुन चित्र झल्झली आउँछ, त्यसैलाई पछ्याउनुस्।

३. वयान, वर्णन र विवरणबाट मुक्त हुनुहोस् । यी चिन्ताका घेरा हुन् । चिन्ताभन्दा माथि चिन्तनको तहमा उक्लनुस् । यसबाट जीवन काव्यिक साधनाको नजिक पुग्छ । शब्द आगो हुन्, यसलाई खेलाँची गरेर खेर नफाल्नुस् ।

४. कुनै वाद, दर्शन, सिद्धान्त, घोषणा र प्रभावको घेराभन्दा माथि बस्नुस् र आँखामा मान्छेमात्र राख्नुस् । त्यो मान्छेमाथिको अर्जुनदृष्टिमा आफैँ आउँछ मान्छेको भूगोल, इतिहास, संस्कृति, जीवनशैली, बाँचेको समय र जिन्दगीको रङ । कविले कसैको जीवनलाई रङ दिने होइन, भएको रङ देखाइदिने हो ।

५. सम्पूर्ण संस्कृति, जाति, धर्म, विश्वास, मान्यता, भूगोल र अनुहारमाथि समान स्नेह राख्नुस् र मान्छेलाई मान्छेकै रूपमा मात्र हेर्नुस् । म फलानो वादी हुँ भनेर आफैँ नभन्नुस्, तपाईँ कस्तो कवि हो कविता आफैँले भनोस् ।

६. सोच्नुस् तपाईँको कविता कसैले पढेन भने नपढ्नेले के गुमाउँछ ?तपाईँको कवितामा के त्यस्तो शाश्वत चिज छ, जुन पढ्दा पाठकलाई आनन्द मात्र होइन, ऊर्जा, ज्ञान र दृष्टिकोण पनि दिन्छ ? सोच्नुस् रमाइलाकै लागि भए त जे गरे पनि भयो नि ? किन पढ्नु कविता ?

७. गद्य, पद्यको भ्रमबाट माथि उठ्नुस्, गद्यमा लेखेर मात्र पनि कविता हुन्न र पद्यमा लेखेर मात्र पनि कविता हुन्न । गद्य र पद्य त माध्यम हुन् । कविता कवितै हुनुपर्छ । सबैलाई सम्मान गर्नुस् तर पद्यका नाममा भाका मिलाउने र गद्यका नाममा गन्गन गर्नेसँग कुनै विवाद गरेर समय खेर नफाल्नुस् । कविताजस्तो कविता लेख्नुस् । सम्झनोस् संगठनले होइन, साधनाले कवि जन्माउँछ ।

८. अर्काको कुरा प्रेमपूर्वक सुन्नुस् । अरूलाई बोल्न, भन्न र आफ्नो कुरा गर्न नरोक्नुस् । आफू अनावश्यक हावी नहनुस्, नलाद्नुस् नलादिनुस् तर विवेक वन्दकी राखेर कसैको जीहजुरी पनि नगर्नुस् । स्वाभिमान कवि र कविताको मूलशक्ति हो ।

९. दुःखको साथ भन्नुपर्छ कविता लेखनको तुलनामा आजको समालोचना धेरै पछाडि छ । उहाँहरूको मेहनत र कोशिशलाई प्रेम गर्नुस् । उहाँहरूलाई श्रद्धा गर्नुस्, कुरा पनि सुन्दिनुस् तरनपत्याउनुस् । केही समालोचकलाई छाड्ने हो भने आजका धेरैजसो समालोचना कुनै व्यक्ति विशेषको लहड मात्र हो । तिनीहरू खास कविताभित्र छिरेकै छैनन् ।

१०. म किन लेखिरहेछु, के लेखिरहेछु, के कारणले अरूभन्दा फरक छु र मैले नलेख्दा के हुन्छ र के छुट्छ भन्ने हेक्का राख्नुस् र आफ्नो रचनामाथि आफै समीक्षा गर्न सक्ने सामथ्र्य राख्नुस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text