जेसिका कक्स दुवै हात नभएकी विश्वकी एकमात्र महिला पाइलट हुन् । गोडाको भरमा जहाज उडाएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छिन्। अदम्य सहासकी खानी उनी अमेरिकन तेक्वान्दो एशोसिएशनकी ब्ल्याक बेल्टसमेत रहेकी छिन् ।
जेसिकाको जन्म सन् १९८३ मा एरिजोनामा भएको थियो । जन्मिदै उनको दुवै हात थिएनन् । उनको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ। जेसिकाकी आमाले उनलाई देखेपछि अत्तलिएकि थिईन्। आफ्नो छोरीप्रति अरुको भिन्न व्यवहार र छोरीले बाँकी जीवन अरुकै सहारामा बाँच्नुपर्ने सम्झेर उनी डिप्रेसनको स्थितिमा समेत पुगेकी थिईन् ।
१३ वर्षको उमेरसम्म जेसिकाले नकल्ली हातहरु प्रयोग गरिन् । जब उनी १४ वर्ष पुगिन्, उनले नक्कली हातहरु फालिदिइन् रआफु जस्तो छु त्यसैलाई आफ्नो शक्ति बनाउने अठोट गरिन् । उनी अरुले आफूमाथि देखाउने दया तथा हेपाहा व्यवहारलाई चुनौती दिन चाहन्थिन् ।
दैनिक सामान्य क्रियाकलाप त हुने नै भए, त्यसको अतिरिक्त जेसिकाले टाइपिङ्ग गर्न, तेकवान्दो खेल्न थालेकी थिइन् । उनले खुट्टाले गाडी चलाउन थालिन् । त्यसपछि उनमा पाइलट बन्ने तिव्र इच्छा जाग्यो । उनले आफ्नो पढाइ र ती प्रत्येक चाहनालाई पूरा गर्ने अठोटका साथ अगाडी बढिरहिन् । जेसिकाले सन् २००५ मा प्लेन उडाएकी थिइन्। २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो। एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन्। ३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर पनि हुन् ।
हाल जेसिका कक्स सबैको लागि प्रेरणाको स्रोत हुन् । उनले सामान्य मानिसले दुवै हात सबल भएर पनि प्राप्त गर्न नसक्ने उपलब्धी खुट्टाको सहायताले हासिल गरेकी छिन् । उनको सफलताबाट अहिले संसारभरका मानिस प्रेरणा लिन चाहन्छन् । त्यसैले उनी आजभोली प्रेरणाको प्रवचन दिन थालेकी छिन् । प्रेरणादायी प्रवचन दिन अहिलेसम्म उनी संसारका २० भन्दा बढी मुलुक पुगिसकेकी छिन् । ह्याण्डिक्याप इन्टरनेसनको सद्भावनादूत समेत रहेकी जैसिकम केहि दिन अघि नेपाल समेत आएकी थिइन् ।