आफ्नो सपना पूरा गर्न र सफल हुनको लागि हामीले सबै वातावरण मिलोस् , सबै कुरामा सहजता होस् भन्ने चाहन्छौं । तर, असहजता र अभावहरु नै आफूलाई प्रमाणित गरेर देखाउने अवसर हुन् । एलिजाबेथ ब्ल्याकवेल अमेरिकाकी पहिलो महिला डाक्टर हुन् ।
एलिजाबेथले आफूलाई चिकित्सकशास्त्र पढ्ने इच्छा भएको कुरा आफ्नो परिवार तथा इन्ष्टमित्रमाझ राखिन् । तर सबैले उनलाई महिलाले डाक्टरी पढ्न नसक्ने भन्दै आफ्नो सपना भुल्न सुझाव दिए । एलिजाबेथ अरुको कुरामा आएर आफ्नो ईच्छा र सपनालाई त्याग्ने मध्येमा थिईनन् । उनले दिनरात काम गर्न थालिन् र पढाइको लागि पैसा जम्मा गरिन् ।
पढ्नको लागि भर्नाको लागि जाँदा एलिजाबेथलाई २९ वटा कलेजले भर्ना लिएनन्। कुनै कलेजले उनलाई पुरुष बनेर पढ्न आउन सुझाव दिए । तर, उनले मानिनन् र महिलाको परिचयमै भर्ना भइछोड्ने हठ लिईन् । विभिन्न कलेजमा भर्नाको लागि प्रयासरत एलिजाबेथलाई होबर्ट कलेजले भर्ना लियो । त्यो कलेजले पनि उनलाई गल्तीले भर्ना लिएको थियो ।
कलेजमा पढ्न जाँदा उनलाई भिन्दै व्यवहार गरिन्थ्यो । पुरुष विद्यार्थीहरुलाई जसरि उनलाई प्रयोगात्मक कुरा सिकाइदैनथ्यो । कुनै पनि विद्यार्थी र शिक्षकले उनीसंग काम गर्न चाहँदैनथे। उनलाई त्यहाँ मजाक बनाइन्थ्यो। तर, आफ्नो लक्ष्यमा अडिग उनले सबै परिस्थितिको सामना गर्दै आफूलाई अगाडी बढाउँदै लगिन् र सन् १८४९ मा डिग्री हासिल गरेरै छोडिन् ।
एलिजाबेथले आफूले डिग्री हासिल गरिसकेपछि महिलाहरुको लागि चिकित्सकशास्त्रको पहिलो कलेज खोलिन् । उनले महिलाहरुको लागि इन्टर्नशिप र संगै महिला तथा विपिन्न परिवारहरुको लागि सहज औषधि उपचारको लागि प्रभावकारी कदम चालिन् । उनको संघर्ष र योगदानलाई आज पनि संसारभर सम्मान गरिन्छ ।