“हामी सबै केही हौँ, तर हामी कोही पनि सबैथोक होइनौं “

परिचय

ब्लेइज पास्कल प्रसिद्ध भौतिकशास्त्री, गणितीज्ञ, आविष्कारक तथा दार्शनिक हुन् । पास्कलको नियमका यी प्रतिपादकको जन्म १९ जुन, १६२३ मा भएको थियो । पास्कलले सम्भावनाको आधुनिक सिद्धान्त लगायत आधुनिक विज्ञान र दर्शनलाई थुप्रै कुराहरु दिएर गएका छन् ।

प्रारम्भिक जीवन

ब्लेइज पास्कलको जन्म फ्रान्समा भएको थियो । उनका बाबु ट्याक्स कलेक्टर तथा गणितीज्ञ थिए । पास्कल तीन वर्षको हुँदा नै उनकी आमाको मृत्यु भएको थियो।
उनका बाबुले अर्को बिहे गरेनन् र पास्कल अनि दुई छोरीहरुलाई आफैले हुर्काउने, पढाउने गरे । बाबु गणितीज्ञ भएका कारण पास्कलमा पनि गणितप्रति रुचि जाग्दै गयो । पास्कलका बाबुले उनलाई एकडेमीमा हुने गणित सम्बन्धि मिटिंगहरुमा संगै लैजान्थे ।

वैज्ञानिक तथा दार्शनिक यात्रा

ब्लेइज पास्कलले १६ वर्षको उमेरमा नै ठूला विज्ञहरुको अगाडी ‘मिस्टिकल हेक्जागन’ सिद्धान्त प्रस्तुत गरेका थिए । सन् १६४२ मा उनले मेकानिकल क्यालकुलेटरको लागि काम गर्न थाले । बाबुले गर्ने ट्याक्स सम्बन्धि कामको हिसाबकिताबले उनलाई क्यालकुलेटरतर्फ आकर्षित गरेको थियो । क्यालकुलेटरमा धेरै सुधार गरेका उनले त्यसमा लाग्ने अत्यधिक खर्चको मात्राले आर्थिक रुपमा सफल हुन सकेनन् । १६४० को दशकमा उनले ब्यारोमिटरमा काम गरेका थिए । त्यस्तै उनले तरलमा चापको असर सम्बन्धि पास्कल नियम अनुसार सिरिन्ज र हाइड्रोलिक प्रेसको आविष्कार गरे । गणितमा विभिन्न सिद्धान्तहरु प्रतिपादन गर्दै ब्लेइज पास्कलले सन् १६५३ मा ‘ट्रीटाइज अन द अर्थमेटिकल ट्रेंगल’ पुस्तक प्रकाशन गरे । सन् १६५४ मा पेरि दे फर्म्याटसंग मिलेर उनले सम्भावना सम्बन्धि सिद्धान्त प्रतिपादन गरे ।

त्यसपछि पास्कलले आफ्नो गणित सम्बन्धि कामलाई थाति राखेर आध्यात्मिक खोजमा लागे । सन् १६५६ देखि १६५७ सम्ममा उनले आफ्नो खोजसम्बन्धिको सिरिज निकालेका थिए, जसमा चल्दै आएका केही मान्यताहरुको विपरित लेखिएको थियो । यसले गर्दा तत्कालिन शासक किङ्ग लुइस चौधौं क्रुद्ध बने र त्यसलाई जलाउने आदेश दिए । पास्कलले इसाई सम्बन्धि पुस्तक निकाल्न चाहन्थे । तर, स्वास्थ्यको खराबीले गर्दा त्यो सपना पूरा हुन नपाउँदै ३९ वर्षको अल्पायुमै उनको मृत्यु भयो । पास्कलको मृत्यु पछि उनको त्यो सपनालाई ‘द पेंसिज’ पुस्तक निकालेर साकार पारिएको थियो ।

सफलता

ब्लेइज पास्कलको मूख्य सफलता भनेको सम्भावनाको सिद्धान्तलाई मानिन्छ । जुवामा मात्र प्रयोग गर्ने गरिएको उक्त सिद्धान्त, आधुनिक समयमा सबैजसो क्षेत्रमा प्रयोग गरिन्छ । त्यस्तै चापको सिद्धान्त र मेकानिकल क्यालकुलेटरको आविष्कार पनि उनका महत्वपूर्ण सफलताहरु हुन् । पास्कलले प्रतिपादन गरेका ती सिद्धान्त तथा सुत्रहरु आजको युगसम्म आइपुग्दा पनि प्रयोगमा आएका छन् ।

हामीमध्ये कोही यस्तो हुन्छौं, जसले अरुलाई सफल र सक्षम देख्छौं अनि आफूमा भएको क्षमतालाई नचिनेर, आफूलाई कमजोर मान्दै खिन्न भएर बस्छौं । र, हामीमध्ये कोही फेरी आफूलाई सर्वगुण सम्पन्न ठान्छौं र अरुमाथि हेपाहा प्रवृत्ति देखाउँछौं । ब्लेइज पास्कलले भनेजस्तै हामी सबै केही हौँ, तर हामी कोही पनि सबैथोक होइनौं । त्यसैले आफूभित्रको क्षमता चिनौं र एक-अर्कासंग सहकार्य गर्दै जीवनमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरौँ ।

ब्लेइज पास्कलका प्रेरक भनाइहरु पढ्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

ब्लेइज पास्कलका प्रेरक भनाइहरु

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text