अभावले मानिसलाई खुम्चाउँदैन, फैलाउँछ

परिचय

जुत्ता बनाउने बाबुको छोराको रुपमा जन्म भएर अद्वितीय सफलता हासिल गरेका जर्ज बुले गणितीज्ञ तथा दर्शनशास्त्री हुन्। आधुनिक कम्प्युटर तथा विद्युतिय यन्त्रको लागि आधार मानिने ‘बुलियन लजिक’ का जन्मदाताका कारण उनलाई, कम्प्युटर विज्ञानका जन्मदाता समेत भन्न सकिन्छ। उनको जन्म २ नोभेम्बर, १८१५ मा भएको हो ।

प्रारम्भिक जीवन

जर्ज बुलेको जन्म बुवा जोन बूले र आमा म्यारी एनको जेठो सन्तानको रुपमा बेलायतमा भएको थियो। उनका बुवाले जुत्ता बनाउने काम गर्थे भने आमा गृहिणी थिईन । जर्जका तीन भाइबहिनी थिए । उनले प्राथमिक शिक्षा स्कुलमा लिए र त्यसपछि घरमै स्व-अध्ययन गरे। तीक्ष्ण दिमागका धनी उनले उच्च शिक्षा लिन पाएनन् । तर, जर्जलाई घरमै उनका बुवाले गणित पढाए ।

बौद्धिक यात्रा

जर्ज बुलेको पारिवारको आर्थिक स्थति कम्जोर थियो । त्यसैले उनले १६ वर्षको उमेर देखि नै विभिन्न स्कुलहरुमा जुनियर शिक्षकको रुपमा काम गर्न थाले। पढाउने क्रममा उनी गणित समबन्धि जानकारी दिईने स्थानिय इन्स्टिच्युट , ‘ लिंकन मेकानिक इन्स्टिच्युसन’मा भर्ना भए र पढ्न थाले। त्यहाँ उनलाई रेभ. जर्ज स्टेभेनले सैल्भेसट्रे फ्रान्सिस ल्याक्रोइक्सको क्याल्कुलास दिए जसमाथि जर्जले दक्षता हासिल गरे । मेहनती र तीक्ष्ण दिमागका जर्जले १९ वर्षको कलिलो उमेरमै लिंकनमा स्कुल खोले । त्यसको चार वर्ष पछि उनले हल’स एकेडेमी लिए। सन् १८३९ मा उनले खोज गरेर ‘ रिसर्च अन द थेओरि अफ ऐनालाईटिकल ट्रान्सफर्मेसन्स’ पेपर प्रकाशन गरे । उक्त अनुसन्धान रेखीय रुपान्तरणको विविध समीकरण र विजगणितीय समस्याको विषयमा अविचरणलाई जोड दिएर गरिएको थियो ।

जर्जले सन् १८४० मा फेरी लिंकन गएर बोर्डिंग स्कुल खोले । उनले अविचरणको सिद्धान्त ल्याए। उनको यो सिद्धान्त, अल्बर्ट आइन्स्टाइनको लागि पनि एक स्रोत बनेको मानिन्छ। १८४४ मा फेरी उनले आफ्नो अनुसन्धानमा आधारित पेपर ‘ फिलोसोफिकल ट्रानजेक्सन अफ रोयल सोसाइटी’ प्रकाशन गरे, जसमा उनले विजगणित र काल्कुलसलाई कसरि जोड्न सकिन्छ भन्ने प्रकास पारेका थिए । सन् १८४७ मा उनले फेरी अर्को खोजमूलक पेपर प्रकाशन गरे , जसमा उनले भनेका थिए, तर्क दर्शनसंग होइन, गणितसंग जोडिनुपर्छ। सन् १८५४ मा प्रकाशित उनको ‘अलजेब्रा अन लोजिक’ नै बूलीयन थेओरि हो। त्यही वर्ष नै उनले अर्को खोज ‘ विचारको नियम’ प्रकाशन गरेका थिए । यसरि उनले १८५९ सम्म गणित र सोंच सम्बन्धि खोजमूलक पेपरहरु प्रकाशन गरिरहे।

सफलता

जर्ज बूले उच्च शिक्षाको कुनै डिग्री लिएनन् , तर उनले गरेको अनुसन्धानहरुले गर्दा उनी सन् १८४९ मा, क्विन्स कलेजमा गणितको प्रोफेसरको रुपमा नियुक्त गरीए । विजगणितले तर्कमा काम गर्छ र सही मात्र वर्ण वा चिन्ह छनोट गर्छ भन्ने बूलेको सिद्धान्त पछि टेलिफोन र कम्प्युटरमा प्रयोग भयो। उनको नाम धेरै प्रोग्रामिङ्ग भाषामा प्रयोग हुन्छ । युनिभर्सिटी नगएर पनि विज्ञता हासिल गरेका जर्ज बुलेलाई युनिभर्सिटी अफ अक्सफोर्ड र युनिभर्सिटी अफ डबिनले मानार्थ डिग्रीले सम्मान गरे । उनले आफ्नो कामको लागि थुप्रै पुरस्कार तथा सम्मान पाए । ४९ वर्षको अल्पायुमै सन् १८६४, डिसेम्बर ८ मा निमोनियाका कारण यी अद्वितीय व्यक्तित्वको निधन भएको थियो। सन् १८५४ मा म्यारी एभरेस्टसंग विवाह गरेका उनका पांच छोरी थिए।

मानिससंग जुन कुरा हुँदैन। उसलाई त्यो प्राप्त गर्ने तिव्र इच्छा जाग्छ र त्यो प्राप्त गर्न कडा मेहनत गर्नथाल्छ । यो मानव स्वभाव हो। समस्या आउँछ, जब ऊ केही चिजको प्राप्तिसंगै सुस्ताउन थाल्छ ।
यदि लगनशील भएर त्यही पहिलेको इच्छा र दृढता अनुसार लागिपर्ने हो भने, ऊ त्यो आवश्यकता पूरा गरेर पनि धेरै टाढा पुग्न सक्छ । यदि सकारात्मक रुपले सोंच्ने हो र सही अर्थमा लिने हो भने अभावले मानिसलाई सधैभरि खुम्चाएर राख्दैन, यसले त मानिसलाई फैलाउँछ, जसरि जर्ज बूलेलाई फैलायो । आवश्यकता हो, चाह, लगनशीलता, दृढता र आत्मविश्वासको।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text