मानिस पीडाले अत्तालिन्छ, निराश बन्छ र आफ्नै जीवन समेत धरापमा पार्छ । आम मानिसको यो व्यवहार भन्दा फरक तरिकाले जसले सोंच्छ र पीडालाई आफ्नो मुठ्ठीमा लिएर त्यसलाई हिम्मतमा परिणत गर्छ, ऊ आफूमात्र बाँच्दैन, अरुलाई पनि बाँच्न सिकाउँछ । ऊ आफूमात्र अगाडी बढ्दैन, पूरै समाजलाई नै अगाडी बढ्न प्रेरित गर्छ । र, उसले आफूले मात्र जित्दैन अरुलाई पनि जिताउँछ । यस्तै अदम्य साहस र अटुट आत्मविश्वास बोकेर आफूसंगै समाजलाई पनि बचाउने अभियानमा लागेकी प्रेरक व्यक्ति हुन्, ‘मेनुका थापा’।

मेनुका थापाको जन्म वि.सं . २०३९, चैत्र ५ गतेका दिन, बाबु पदम बहादुर थापा र आमा रामकुमारी थापाका ९ जना सन्तानमध्ये सबैभन्दा कान्छी सन्तानको रुपमा काभ्रे जिल्लाको गणेस्थानमा भएको हो । मेनुका जन्मनु अघि नै बाबुको निधन भएका कारण उनी अबोध बालिका छँदा नै समाजले बाबुको निधनको दोष समेत लगायो। जीवनसाथी गुमाउनु परेको पीडाले उनकी आमा मानसिक बिमारी भइन् । ती दिन सम्झिँदै उनी भन्छिन् , ” आफन्तले चाहिँ मलाई र आमालाई अलच्छिनी भन्दै आरोपित गरे, जसले जे–जे भने पनि आमाले के नै भन्न सक्नुहुन्थ्यो र!”। कमजोर आर्थिक स्थति, त्यसमाथि, उनीहरुका आफन्तहरुले सम्पत्ति समेत हडपे। तर, मेनुकाकी आमा जहिले पनि उनलाई सिकाउने गर्थिन् , ” ढुंगाले हान्नेलाई त्यसको जवाफ फूलले दिनुपर्छ, सहनशील मानिस सधैं महान हुन्छ है, बाबु,”। मेनुकालाई भने लाग्थ्यो, ” पत्थरको जवाफ पत्थरले नै दिनुपर्छ।”

मेनुकाको घरमा यतिसम्म आर्थिक अभाव थियो की, कहिलेकाहीं खाने कुरा समेत हुँदैनथियो । मेनुकाका दाजुदिदीहरुले धेरै दु:ख गर्थे तर, उनलाई भने सधै पढ्नको लागि हौसला दिन्थे । गाउँकै कालिका प्राथमिक विद्यालयबाट पांच कक्षा उत्तीर्ण गरेर खोपासी स्थित श्रीराम माध्यमिक विद्यालय पढ्न थालेकी उनी पढाइमा अब्बल हुनुको साथै अतिरिक्त क्रियाकलापमा समेत प्रथम हुन्थिन् । पुरस्कारको पैसाले नै उनले आफ्नो पढाइखर्च जुटाउँथिन् । उनले २०५४ सालमा प्रथम श्रेणीमा एस.एल.सी पास गरेकी गरिन् । एस.एल.सी कै समयमा मेनुकाकी आमाको निधन भयो । आमाको निधनले अत्यन्तै दुखी भएकी उनी त्यही पीडाले गर्दा डिप्रेसनमा गइन् र लगभग दुई वर्ष केही नगरी बसिन् । तर, एकदिन स्वामी विकासानन्दको पुस्तक भेटेपछि उनको जीवनले नयाँ मोड लियो। पुस्तक पढ्ने र ध्यान शिविरमा बस्ने गरेपछि , उनमा ‘मैले जीवनमा केही गर्नुपर्छ’ भन्ने भावना जागृत भयो।

त्यही भावना मनमा लिएर र दिमागमा जीवनप्रतिको एक अठोट लिएर मेनुका थापा काठमाडौं आइन्। तर, काठमाडौं, उनले सोंचेजस्तो थिएन। सहयोग माग्नको लागि उनी सहयोगीको नाममा खोलिएका कैयौं संस्थामा गइन् , तर हरेक प्रयास व्यर्थ हुन्थ्यो। यस्तैमा भेटीए, ‘मोहन विक्रम थापा’। बुद्ध एयरका चिफ इन्जिनियर, मोहन विक्रम थापाले जब मेनुकाको जीवनकथा र अठोट सुने, तब उनलाई पद्मकन्या क्याम्पसमा भर्ना गरिदिए र थापा दम्पती उनको अभिभावक बने । मेनुकाले संगीत विषय पढ्थीन् र क्याम्पसको कार्यक्रममा गीत गाउँथिन् । यस्तै कार्यक्रममा रेडियो कार्यक्रम प्रस्तोता रुपा विमलीले मेनुकाको प्रतिभा देखेपछि मधुरिमा कला केन्द्रमा भर्ना गरिदिईन् ।

गायिका बन्ने सपना बोकेर संगीत पढ्दै गरेकी मेनुका थापाले एकदिन एउटा गजल रेस्टुरेन्टमा गायिकाको आवश्यकता भएको थाहा पाइन्। मेहनती र कामलाई सम्मान गर्ने बानी भएकी उनी गायिकाको रुपमा त्यहाँ छानीइन् । त्यो रेस्टुरेन्ट बन्द भएपछी उनले अर्को दोहोरि रेस्टुरेन्टमा गाउन थालिन् । कामले गर्दा उनी आर्थिक रुपमा पनि आत्मनिर्भर बन्न थालिन् र उनमा अझ साहस थपियो । रेस्टुरेन्टमा गाउन थालेपछि मेनुका, त्यहाँ काम गर्ने महिलाहरुका समस्यासंग परिचित हुन थालिन् । क्याविनमा काम गर्ने महिलाहरु विभिन्न हिंसाको शिकार भएको थाहा पाउँदै गएपछि, गायिका बन्ने सपना बोकेकी मेनुका थापाको बाटो मोडियो र, जन्मियो ‘ रक्षा नेपाल’ ।

मेनुका थापाले हिंसापिडित ती महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्नो बिदाको दिनमा कोठामा बोलाएर पढाउन थालिन् । उनी ती महिलाहरुलाई आवश्यक शिक्षा दिएर सशक्त बनाइ नयाँ जीवन दिन चाहन्थिन् । तर, एक हप्ताको एकदिनको पढाइ र भलाकुसारीले त्यो सम्भव थिएन। त्यसैले उनले ती महिलाहरुलाई पनि राखेर एउटा समूह बनाइन् र ‘रक्षा नेपाल’ नामाकारण गरेर संस्था दर्ता गर्नको लागि सीडिओ कार्यालय गइन् , जतिबेला उनी केवल २१ वर्षकी मात्र थिईन् । त्यो समय सम्झिँदै उनी भन्छिन् , ” दर्ता गर्न जाँदा धेरै तनाव झेल्नुपर्यो, तत्कालीन प्रमुख जिल्ला अधिकारीले सहयोग गरेनन् । विधान नै फ्याँकिए पनि मैले हार नमानी काममा लागेँ। ” तर पनि हार नमानी हातमा विधान बोकेर धाइराखेपछि अन्तत: सीडिओले पनि उनको दृढताको अगाडी घुंडा टेके । संस्थाको दर्तासंगै संस्थाको स्थापनाको लागि पचास हजार दिंदै आगामी दिनमा पनि सहयोग गर्ने वाचाका साथ सीडिओले मेनुकाको हातमा संस्था दर्ताको प्रमाणपत्र थमाए ।

रक्षा नेपालको कार्यको मूख्य उद्देश्य हो , ” कुनै नारीले छाक टार्नकै लागि शरीर बेच्न नपरोस् ” । रक्षा नेपालले यौन हिंसामा परेका तथा घरेलु हिंसामा परेका महिलाहरुलाई समेत सहयोग गर्छ । मेनुका थापा संस्थापक अध्यक्ष रहेको उक्त संस्थाले यौन हिंसामा परेका किशोरी तथा महिलाहरुलाई उद्धार गर्ने, परामर्श दिने, सुरक्षित आवास प्रदान गर्ने, उनीहरुलाई उचित शिक्षा तथा तालिमको व्यवस्था गर्दै सशक्त बनाउने कार्य गर्छ। हिंसा तथा बलात्कार घटनामा आवाज उठाउन होस् वा पिडितलाई सहयोग गर्न होस् , मेनुका सधै तत्पर रहन्छिन् । उनलाई आराम भन्दा आफ्नो सम्पर्कमा आएका छोरीहरुको जीवन, अधिकार र न्याय प्यारो छ। संस्थामा यौन हिंसा पिडित आमाहरुका सन्तानहरु पनि छन् जसले मेनुका थापा आमा र आफ्नो नाम पछाडी यी महान आमाको परिचय पाएका छन्। अविवाहित मेनुका थापा रक्षा नेपालको सम्पर्कमा आउने सबै पिडीतहरुकी ‘आमा ‘ हुन् । आफूलाई ‘अलच्छिनी’ नामाकरण गरिदिएको समाजलाई नै आफ्नो कामले गर्व गर्ने बनाएकी यी महान आमालाई सलाम।

मेनुका थापा र रक्षा नेपालबारे विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

 

 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text