सपनाहरु आफूले सोंचेजसरि कहिल्यै साकार नहुँदा रहेछन्। सपना देख्न र त्यही सपनाको लयमा हराउन जत्ति सजिलो छ, जीवनका घडीहरुमा आफूलाई सम्हालेर यात्रालाई निरन्तरता दिन उत्तिकै कठीन रहेछ। तर, पनि असम्भव त नहुदोरहेछ है! देखेका सपना जेसुकै होउन् , यात्रालाई निरन्तरता दिन सकियो भने अलग्गै बाटोबाट पनि आफूले सोंचेभन्दा धेरै अगाडी बढ्न सकिँदो रहेछ । यस्तै कुराहरुलाई मनमा खेलाउंदै र आफ्नो विगत, वर्तमान र भविष्यको यात्रामा हराउँदै बसमा यात्रा गर्दैछे ऊ अर्थात् ‘आशा’ ।

आशा सानैदेखि गम्भीर स्वभावकी र पढाइमा अब्बल केटी थिई । घरको कमजोर आर्थिक अवस्थाका बावजुद सरकारी स्कूलमा भर्ना गरिएकी उसले राम्रोसंग पढ्दै गई । त्यसो त, उसलाई घरमा पनि पढ्नको लागि प्रेरणा दिईन्थ्यो। उसलाई भविष्यमा के बन्ने भन्ने पत्तो थिएन, तर यति चाहिं संकल्प गरेकी थिई की, उसले पढाइलाई जस्तोसुकै परिस्थितिमा पनि छोड्ने छैन र देशको एक योग्य र असल नागरिक बन्नेछे। तर, पढाइ संगै अतिरिक्त क्रियाकलापमा समेत प्रथम हुने उसलाई सबैले, ” यी नानी त पछि डाक्टर बन्छिन् !” भनेको सुन्दा साँच्चै नै सेतो कोट लगाएर डाक्टरको सेवा गरेको सपना देख्न थाली।

आशाले आफ्नो सपना साकार बनाउनको लागि मेहनतका साथ पढी र गाउँको त्यो एउटा सानो सरकारी स्कुल , जहाँ उसले कुनै ट्युसन वा कोचिङ्ग लिइन, त्यहाँबाट प्रथम श्रेणीमा एस.एल,सीमा प्रथम श्रेणी ल्याई । अब उसलाई आफ्नो डाक्टर बन्ने सपना साकार पार्नु थियो । तर, बुझ्दै जाँदा उसलाई थाहा भयो, डाक्टर पढ्नको लागि धेरै पैसा चाहिँदो रहेछ, छात्रवृत्तिमा पढ्नको लागि पनि सहज रहेनछ । त्यसपछि उसले छिमेकी जिल्लाको एउटा कलेजमा विज्ञान विषय पढ्न थाली । घरको आर्थिक अवस्था कम्जोर हुनाले उसले स्कुलमा पढाउँदै आफूले क्याम्पस पढ्दै गर्न थाली।उसको सपना अब नर्स बन्ने थियो। तर काम, पैसा र घरको अवस्थाले गर्दा मानसिक तनाव खेपीरहेकी उसले १२ को परिक्षामा राम्रो नतिजा ल्याउन सकिन । र, फेरी उसको बाटो मोडियो ।

आशा भित्रभित्रै निराश हुन थालिसकेकी थिई। ऊ कसैलाई आफ्नो दु: ख देखाएर बिचरा बन्न पनि चाहँदिनथी। ऊ ढोका थुन्थी, एक्लै रुन्थी, जब आँशु सकिन्थे, फेरी सपना बुन्थी र आत्मविश्वास लिएर ढोका खोल्थी, उही सधैको मुस्कानका साथ। उसले अब विज्ञान विषय छोडीदिई र भर्ना भई व्यवस्थापन विषय पढ्नको लागि । ट्युसन पढाउन थाली। तर घरको कम्जोर आर्थिक स्थिति र सामाजिक हेपाइले उसलाई कहीं गएपनि छोडेन। तर पनि आशा सम्हालिएर अगाडी बढ्दैथीई । ट्युसनबाट आउने कमाइले पढाइ खर्च नपुगेपछि उसले आफूमा बोल्न सक्ने क्षमता पनि विकास हुने ठानेर घर- घर मार्केटिंग गर्न जाने कम गर्न थाली ।

आशाले साँच्चै नै, आफ्नो जीवनको आशालाई मर्न दिइन। चोटले मानिसलाई धेरै सिकाउँछ ऊ सबैसंग बोल्ने, सम्बन्ध गाँस्ने गर्थी । सबै काम आफै गर्ने भएकाले उसको क्षमता साथै सामाजिक सम्बन्धमा पनि वृद्धि भयो । त्यसैले त, उसले स्नातक तेस्रो वर्ष सकेर बसेको बेलामा, जागिरको प्रस्ताव आयो। एउटा एनजीओबाट फिल्ड वर्कको लागि दुर्गम गाउँमा जानुपर्ने। त्यो एउटा छोटो समय अवधिको सम्झौता थियो। तर, संस्थाले उसको काम, परिपक्कता, यति मन पर्यो की, ऊ त्यही संस्थाको स्थायी कर्मचारी बनी। त्यसैले आज ऊ जाजरकोट जाँदै छ ।

आशाको सपनाले पनि नयाँ रुपले लिएको छ। मास्टर्स गरिरहेकी ऊ अब, पढाइलाई निरन्तरता दिंदै, पी.एच.डी गर्न चाहन्छे, दुर्गम गाउँका आवाज सम्बन्धित मानिसहरु सम्म पुर्याउन चाहन्छे, सामजिक क्षेत्रमा केही योगदान गर्न चाहन्छे। ऊ अहिले गाडीमा गुडिरहेकी छ , तर उसको मन मस्तिष्क भने सपनाको पखेटा लगाएर उडिरहेको छ । आशाको मुहारमा आशाको दियो बलिरहेको छ, कहिल्यै ननिभेको र कहिल्यै ननिभ्ने गरि ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text