असम्भवलाई सम्भवमा परिणत गर्न सकिन्छ भन्ने कुराको एक ज्वलन्त उदाहरण हुन्, सुधा चन्द्रन । उनको जन्म सन् १९६५  सेप्टेम्बर २७ मा मुम्बईमा बस्ने एक तामिल परिवारमा भएको थियो । सुधामा बाल्यकाल देखि नै नृत्यप्रति मोह थियो । उनले ३ वर्षको उमेर देखी नृत्य सिक्न सुरु गरेकी थिइन् ।

शास्त्रीय नृत्यमा विशेष दक्खल राख्ने सुधा, पढाइमा पनि उत्तिकै तीक्ष्ण थिइन् । पढाइ र नृत्यलाई उनले स्कुलको सुरुवातदेखि नै संगै लिएर हिंडीन् । उनले ८० प्रतिशत ल्याएर स्कुलको शिक्षा पूरा गरिन् । त्यसपछि पनि कलालाई नछोड्ने निर्णय लिएकी उनले, कलालाई मूख्य विषय बनाएर पढ्न थालिन् । उनको अठोट आफ्नो कलामा नै केहि गरेर देखाउने थियो ।

Image result for Sudha Chandran

सुधा बसमा चढेर नृत्य विद्यालय जाने- आउने गर्थिन् । यस्तैमा एकदिन उनी चढेको बस दुर्घटनामा पर्यो । १५ वर्षकी उनि घाइते भइन् । उनको खुट्टाको पैतालाको भागमा घाउ लागेको थियो । डाक्टरले सानो घाउ भनेर उनको चोटलाई बेवास्ता गरे । तर त्यो इन्फेक्सन फैलिएर घाउ ठूलो भयो । त्यसपछि त्यो इन्फेक्सन उनको शरीरको अरु भागमा नसरोस् भन्ने मनसायले उनको पैताला काटियो ।

नृत्यमा अब्बल सुधाको खुट्टा काटीएपछि मानिसहरुले सुधालाई बिचरा देख्न थाले । तर, उनी भने हार मान्नेहरु मध्येकी थिईनन् । उनले नक्कली खुट्टा लगाएर नाच्ने तालिम लिन थालिन् । सुरुमा निकै गाह्रो र पीडा भएपनी तालिमलाई निरन्तरता दिएकी उनी पहिले जस्तै अब्बल नृत्य गर्न थालिन् । त्यसपछि उनी पहिलो पटक सेन्ट जेभियरको स्कुलको कार्यक्रममा नाचेकी थिइन् । सुधाले नृत्य गरेपछि उनका बुवाले उनलाई खुट्टामा ढोग्दै भनेका थिए, ” तिमी देवी सरस्वती नै रहेछौ छोरी, असम्भवलाई सम्भव बनाएर देखायौ ।” त्यसपछि उनले भारत मात्र नभएर विभिन्न देशमा आफ्नो नृत्य प्रस्तुत गर्न थालिन् ।

Image result for Sudha Chandran

त्यसपछि आफ्नो कला यात्रालाई निरन्तरता दिएकी उनले टेलिभिजनमा अभिनय मार्फत आफ्नो छुट्टै स्थान बनाएकी छिन् । विशेष गरि हिन्दी सिरियलमा नकारात्मक पात्रको रुपमा अभिनय गर्ने उनी साँचो जीवनमा भने ‘हिरो’ हुन् । अभिनयबाट नै उनले नेशनल फिल्म अवार्ड, गोल्डन पेटल अवार्ड ,आइ टिए अवार्ड लगायत थुप्रै अवार्डहरु पाएकी छिन् । उनले सन् १९९४ मा रवि दंग संग विवाह गरेकी थिइन् । उनले अर्थशास्त्रमा एम.ए गरेकी छिन् । उनलाई एक युनिभर्सिटीले मानार्थ डाक्टरको उपाधि समेत दिएको छ । उनको जीवनी पाठ्यक्रममा समेत राखिएको छ ।

सायद, असम्भव शब्द हाम्रो सोंचाईमा मात्र रहेको शब्द हो।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text