– कामना न्यौपाने
भन्नेले मलाई पागल भनुन्
हाँस्नुछ मलाई एउटा उन्मुक्त हाँसो
जहां ,
निधारका धर्काहरु बिलाऊन्
खुम्चिएका ओठहरु तन्कीऊन्
गुम्सिएका दाँतले बाहिर चिहाउन्
रिंकलको पीर बिना गाला खुम्चिउन्
हाँस्नुछ मलाई एउटा उन्मुक्त हाँसो
जहां ,
नआएका डिम्पलले डाहा गरुन्
आएका पिम्पलले पछुतो मानुन्
मडारिएका व्यथाले हार मानुन्
सान्त्वनाका शब्दहरु टाढा भागुन्
भन्नेले मलाई पागल भनुन्
तर,
सुन्दरताका मापक लाचार बनुन्
क्रीम र गाजलले हार मानुन्
देख्नेहरु अनायसै मुस्कुराउन्
हेरेर फूल र जून लाजले झुकून्
हो ,
भन्नेले मलाई पागल नै भनुन्
जरूर ,
हाँस्नुछ मलाई त्यों एउटा उन्मुक्त हाँसो
जहां मेरा प्रत्येक ग्रन्थीले जीउनुको सार भेटुन् ………
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :