सानो कुरालाई समेत आफ्नो गन्तव्यको बाधक देखाउने हाम्रो समाजमा यस्ता मानिसहरु पनि जन्मिएका छन् , जो अरुले देखेको अपूर्णतालाई पनि पूर्णतामा बदलेर सम्पूर्ण अवरोधहरुको समाधान गर्दै आफ्नो गन्तव्यमा पुग्न लागिपरेका छन्, यसै मध्येकी एक हुनुहुन्छ –  मेनुका पौडेल

मेनुका पौडेलको जन्म अठार वर्ष अगाडी झापाको हल्दिबारी गाउँपालिकाको जलथल भन्ने ठाउँमा बुवा टिकाराम पौडेल र आमा पम्फा पौडेलको जेठो सन्तानको रुपमा भएको थियो । पाँच वर्षको उमेरदेखि झापाकै दुर्गा उच्च मा.वि मा ब्रेल लिपीमा पढ्न थाल्नुभएकी वहाँलाई जन्मजात दृष्टिविहिन भनेर चिनिंदा न त आफूलाई अपूर्ण लाग्छ न त कुनै अप्ठ्यारो नै । परिवार र शिक्षकको पूर्ण साथ पाएकी मेनुकाले विद्यालयको छात्रावासमा रहँदा देखि नै हार्मोनियमको धूनसंग रमाउंदै संगीत सिक्न थाल्नुभयो ।

एस.एल.सीमा प्रथम श्रेणीमा उत्तीर्ण भईसकेपछि मेनुका संगीत पढ्ने लक्ष्य लिएर काठमाडौ त आउनुभयो तर +२ मा नै संगीत पढाउने क्याम्पसको बारेमा वहाँलाई थाहा थिएन। +२ मै संगीत पढ्ने चाहना राखेकी वहाँलाई त्यो चाहना अपूर्ण नै रहन्छ की भन्ने डर थियो। यत्तिकैमा एक दिन कान्तिपुर एफ.एम सुन्दै गर्दा एकजना अध्यापकको अन्तर्वार्ता सुन्नुभयो जसमा फोन नम्बर पनि दिईएको थियो । त्यही अन्तर्वार्ता र फोन नम्बर पछ्याएर वहाँ सिर्जना कलेज अफ फाइन आर्टमा पुग्नुभयो जहाँ मेनुका हाल कलेजले दिएको पूर्ण छात्रवृत्तिमा कक्षा १२ मा पढ्दै हुनुहुन्छ। मेनुकाको एउटा लक्ष्य संगीतमा पी.एच.डी गर्नु रहेको छ । ब्रेल लिपिले नभ्याउने कुराहरु शिक्षकले पढाउँदा मेनुकाले मोबाईलमा रेकर्ड गर्नुहुन्छ र घरमा आएर त्यसलाई सुनेर पढ्ने गर्नुहुन्छ। प्रविधिबारे जानकार मेनुका दृष्टिविहीनहरुको लागि उपलब्ध एप्सको सहायताले कम्प्युटर र मोबाइल आफै चलाउनुहुन्छ ।

वि.सं. २०७२ चैत्रमा रेडियो नेपालले आयोजना गरेको ‘आधुनिक गीत गायन’ प्रतियोगितामा प्रथम हुनुभएकी मेनुकाले सुवास चन्द्र ढुंगेलको शब्द र हरि लम्सालको संगीतमा ‘ कस्तो कस्तो दिन पनि आयो हजुर जिन्दगीमा’ गाउनुभएको थियो । त्यसपछि साना प्रतियोगिता र कार्यक्रमहरुमा गाईरहने मेनुका अहिले ‘नेपाल आइडल’ को मन्चमा पुग्नुभएको छ । नेपाल आइडल हुने खबर पाएपछि वहाँले आफै फाराम भरेर मंच सम्म पुग्नुभयो र छनोट समेत हुनुभयो । यसमा काठमाडौंमा रहेका वहाँका आफ्ना अङ्कल आन्टीले समेत साथ दिनुभयो। आइडल बन्ने भन्दा पनि संगीतमा निरन्तर लाग्ने र केही सिक्ने हिसाबले आफू मन्चमा उक्लिएको वहाँ बताउनुहुन्छ । त्यसैले त नेपाल आइडलबाट बाहिरिएर पनि मेनुका पौड्याल हार नमानी आफूमा अझ निखारता ल्याउँदै भारतबाट प्रसारण हुने गायन प्रतियोगितामा पुग्नुभयो ।

मानिस भएर जन्मेपछि, कहिल्यै पनि पछि हट्नु हुँदैन । जहाँ समस्या हुन्छ, त्यहीं भित्र समाधानको उपाय पनि हुन्छ ।  

जीवन, भोगाई र लक्ष्यबारे मेनुका पौडेल भन्नुहुन्छ, ” मानिस भएर जन्मेपछि, कहिल्यै पनि पछि हट्नु हुँदैन । जहाँ समस्या हुन्छ, त्यहीं भित्र समाधानको उपाय पनि हुन्छ। त्यसैले आएका समस्याहरुको समाधान निकाल्दै अगाडी बढिराख्नुपर्छ । आफ्नो सपना पूरा गर्न चाहिने सबैभन्दा ठूलो कुरा भनेको ईच्छाशक्ति र आत्मविश्वास हो ।”

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text