करिब ३७ वर्ष अगाडी बुटवलमा जन्मिएकी रेबिका थापाले अहिले काठमाडौंको सडकमा ठूलो गाडी हाँकीरहेकी छिन् । झन्डै एक वर्ष साझा बस हाँकेकी रेबिकाले २०६१ सालदेखी गाडी चलाउन थालेकी हुन् ।
रेबिकाले प्राथमिक शिक्षा मात्र पूरा गरेकी छिन् । बिहेपछि उनकी आमाको निधन भयो भने आफ्ना श्रीमानसंग पनि सम्बन्ध राम्रो हुन सकेन । उनी गर्भवती भइन्, छोरा जन्मियो र त्यसपछि उनले श्रीमानसंग सम्बन्ध-विच्छेद गरिन्। सानो छोराको ठूलो भविष्य बनाउने चाहले रेबिका काठमाडौं आइन् ।
यहाँ आएपछि एकजना दिदीको सल्लाहमा टेम्पो र कार चलाउन सिकिन् । सिक्दा देखि टेम्पो चालक बन्दासम्म उनले निकै तीता अनुभवहरु बटुलीन् । छोरोलाई राती नै उठेर खाना बनाइदिएर उनी गाडी चलाउन निस्किन्थीन् । उनको नाबालक छोरोलाई परिस्थितिले आमाले राखेको खाना आफै खोजेर खान सक्ने बनाएको थियो।
गाडी चलाउँदा चलाउँदै उनी एक रुट सकेपछि कोठामा पुगेर छोरालाई अँगालो मार्थिन् र काममा निस्किन्थीन् । महिला चालक भएका कारणले नै उनले अनेक दुर्व्यवहार समेत सहनुपर्थ्यो ।तर पनि उनले आफ्नो यात्रालाई कहिल्यै रोकिनन्। ट्याम्पो चालकदेखि सुरुभएको उनको यो यात्रा अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडको गाडी चालक सम्म पुगेको छ ।
रेविकाले साझा बसको सबै परिक्षा पास गरिन् र एक वर्षसम्म साझा बस गुडाइन् । साझा बस गुडाउने अनुमति सहित चाबी दिंदा उनलाई भनिएको थियो, ” तपाईंलाई यो चाबी तपाईं महिला भएको कारणले होइन, तपाईंको क्षमताले गर्दा दिइएको हो ।” साझा बस गुडाउँदा महिलाले ठूलो बस चलाएको देखेर मानिसहरु उनलाई हेर्न खोज्थे, कोही बल्न नै आएर प्रेरणा दिने गर्थे । यसले उनलाई अझ हौसला मिल्यो ।
एक वर्ष साझा बस चलाएपछि उनी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडको गाडी चालकको रुपमा छानीइन् र अहिले पनि इसिमोडकै गाडी चलाईरहेकी छिन् । रेबिकाले आफ्नो परिचय टेम्पोचालक हुँदै माइक्रो बस चालक र त्यसपछि साझा बस चलाउने पहिलो महिलासम्म पुर्याइन् ।
आफ्नो पौरोखको कमाइले छोरालाई समेत शिक्षाको सुन्दर वातावरण दिइन्। रेबिका र उनका छोरा अहिले सुविधासम्पन्न फ्ल्याटमा बस्छन् र छोराले नाम चलेको राम्रो शैक्षिक संस्थामा पढीरहेका छन्। तस्बिर स्रोत