” बालबालिकाको प्रारम्भिक शिक्षा समाजको समृद्धिको आधार हो। “

परिचय

मारिया मन्टेश्वरी विश्वप्रसिद्ध चिकित्सक तथा शिक्षाविद हुन् । उनी हाल विश्वभर फैलिएको ‘मन्टेश्वरी’ शिक्षा प्रणालीकी जन्मदाता हुन् । उनको जन्म ३१ अगस्ट १८७० मा भएको थियो ।

प्रारम्भिक जीवन

मारिया मन्टेश्वरीको जन्म इटालीको चियराभल्लेमा बुवा अलेसांड्रो मन्टेश्वरी र आमा रेनिल्ड़ो स्टोपानीको सन्तानको रुपमा भएको थियो। उनका बुवा अर्थ मन्त्रलायमा काम गर्थे भने आमा पनि शिक्षित थिइन्। जसले गर्दा उनको घरमा शिक्षालाई विशेष महत्व दिइन्थ्यो । सन् १८७६ मा स्थानिय स्कुलबाट पढाइ आरम्भ गरेकी उनले पछि अर्को स्कुलमा इटालियन, गणित, विज्ञान लगायतका विषयहरु पढ्न थालिन्। उनी गणित र विज्ञानमा दक्ष थिइन् र ती विषयमा रुचि राख्थिन्। त्यसैले मारियाले इन्जिनियर बन्ने सोंचिन्। तर, त्यो समयमा महिलाहरुलाई प्राविधिक तर्फको शिक्षा पढाइदैनथ्यो। यो लैंगिक विभेदलाई चुनौती दिन पनि उनले प्राविधिक क्षेत्र रोजिन् र सन् १८९० मा टेक्निकल शिक्षण संस्थाबाट ग्राजुएट गरिन् ।

त्यतीबेला मारियाको परिवारले उनलाई शिक्षक बनुन् भन्ने चाहन्थे। तर उनले भने आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्थीन् । त्यतिबेला उनलाई डाक्टर बन्न इच्छा जाग्यो र सन् १८९३ मा युनिभर्सिटी अफ रोमको मेडिकल प्रोग्राममा भर्ना भइन्। त्यो समयमा पुरुषले मात्र डाक्टरी पढ्ने हुँदा उनलाई सबैले गिज्याउँथे, युनिभर्सिटीमा होच्याइन्थ्यो र भेदभावपूर्ण व्यवहार गरिन्थ्यो। तर उनी भने आफ्नो इच्छा र अठोटलाई भूल्ने पक्षमा थिइनन् । त्यसैले उनले निरन्तर मेहनत गरिन् र सन् १८९६ मा बालचिकित्सा र मनोविज्ञानमा डाक्टरी हासिल गरिन्।

मन्टेश्वरी यात्रा

पढाइ सकेपछि मारिया मन्टेश्वरीले आफ्नो युनिभर्सिटीसंगै रहेको सान जियोवान्नी हस्पिटलमा काम गर्न थालिन् सन् १८९६ मा स्यान्टो स्पिरिटो हस्पिटलमा सर्जिकल असिस्टेन्ट बन्ने अवसर पाईन् । उनी इटालीकै प्रथम महिला डाक्टर थिईन् । महिला डाक्टर भएका कारण उनलाई कार्य क्षेत्रमा समेत भेदभाव गरिन्थ्यो र आधा रातमा शवको चिरफार गर्न लगाइन्थ्यो । बच्चाहरुकी डाक्टर मारियालाई, बदमास र मूर्ख देखिने बच्चाहरुको जिम्मेवारी मात्रै सुम्पिइन्थ्यो। तर, उनी आफ्नो काममा कहिल्यै पनि डगमगाईनन्।

बालबालिकाहरूको समिपमा रहंदा र आफ्नो मनोवैज्ञानिक क्षेत्रले गर्दा उनलाई बालबालिकालाई उचित शिक्षा दिन सकियो भने उनीहरु अगाडी बढ्न सक्छन् भन्ने सोँच आउन थाल्यो । सानैदेखि शैक्षिक क्षेत्र प्रति रुचि हुनाले उनमा अझ दृढता जाग्न थाल्यो। त्यसपछि उनले १९ औं शताब्दिका शिक्षाविदहरु जिन मार्स गास्पार्ड र एडवार्ड सेगुइनको कामबारे पढ्न थालिन्। उनीहरुको कामबाट निकै प्रभावित बनेकी मारियाले बालबालिकाको शिक्षा क्षेत्रमा केही नयाँ गर्ने योजना बुन्न थालिन्।

सन् १८९९ मा मन्टेश्वरीलाई शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि संचालन गरिएको राष्ट्रिय समितिमा काउन्सिलरको रुपमा नियुक्त गरियो । त्यहाँ उनले ती विशेष बालबालिकाहरुलाई कसरि पढाउने भन्ने बारे प्रशिक्षण दिन्थिन् । उनले त्यहाँ आफूले दिएको त्यो शिक्षा प्रणालीलाई सामान्य विद्यार्थीहरुको लागि पनि प्रयोग गर्न चाहिन्। त्यसपछि इटालियन सरकारको सहयोगमा उनले ५०/ ६० असहाय र गरिब बालबालिकालाई जम्मा गरेर ‘शिशुगृह’ को स्थापना गरिन्। त्यसपछि उनले स्कुललाई नयाँ ढांचामा निर्माण गरेर विद्यार्थीहरुलाई उनीहरुकै रुचि अनुसार विभिन्न किसिमको शिक्षण विधि मार्फत पढाउन थालिन्।

मारियाले खोलेको उनको पहिलो स्कुलले निकै सफलता पायो । त्यसपछि उनको शिक्षण विधि अरु विद्यालयले समेत अपनाउन थाले । उनले सन् १९०९ मा ‘मन्टेश्वरी तरिका’ भन्ने पुस्तक लेखिन् । उक्त पुस्तक शिक्षाको क्षेत्रमा ऐतिहासिक कृति बन्यो। उनको पुस्तक विश्वका विभिन्न भाषामा अनुवाद हुन थाल्यो र पूरानो शिक्षण पद्धतिको लागि चुनौतीको रुपमा खडा भयो। सन् १९१६ मा फेरी उनको ‘उच्चस्तरीय मन्टेश्वरी तरिका’ पुस्तक प्रकाशित भयो। उक्त पुस्तकले शिक्षामा नयाँ ईंटा थप्यो । त्यसपछि मारियाको शिक्षण पद्धतिलाई क्यानडा, न्युजिल्याण्ड लगायत युरोपेली मुलुकमा प्रयोग गर्न थालियो । उनी आफ्नो शिक्षण पद्धति सिकाउनको लागि विभिन्न देशमा समेत पुगिन् । आफ्नो शैक्षिक अभियानकै क्रममा सन् १९३९ मा भारत गएकी मारियाले त्यहाँ सात वर्ष बिताएकी थिइन्।

मारियाले विवाह गरिनन्। तर उनी सहापाठी डाक्टर ग्युसेप्पे मोंटेसानोसंग सम्बन्धमा थिइन् । उनीहरुको सम्बन्धबाट सन् १८९८ मा एक छोरा, म्यारियो जन्मिएका थिए। तर, पछि ग्युसेप्पेले अर्की महिलासंग विवाह गरेपछि उनीहरुको सम्बन्ध टुंगिएको थियो। छोरा म्यारियो भने आमा संगै रहे र सधै आमाको कामलाई माथी पुर्याउनको लागि आमा मारिया संगै काममा लागिपरे। जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहेर काम गरेकी मारियाको ८१ वर्षको उमेरमा सन् १९५२ मा निधन भएको थियो।

सफलता

लैंगिक भेदभाव विरुद्ध उनले चालेको कदमले गर्दा उनी पछिका महिलाहरुले केही सहज वातावरण र बोल्ने हिम्मत पाए । मारिया मन्टेश्वरीले प्रतिपादन गरेको शिक्षण पद्धतीलाई ‘ मन्टेश्वरी शिक्षा’ नाम दिइएको छ। मन्टेश्वरी शिक्षा अहिले विश्वभर फैलिएको छ। उनलाई तीन पटक सम्म नोबेल पुरस्कारको लागि प्रस्ताव गरिएको थियो । मारियालाई उनको जीवनकालमै विभिन्न मान पदवीबाट विभूषित गरिएको थियो। आजको समयसम्म आइपुग्दा समेत उनको नाम विभिन्न भाषा बोल्ने संसारका शिक्षक, अभिभावक, शिक्षाविद, समाजसेवी, बालबालिका, विद्यार्थी सबैको जिब्रोमा छ।

व्यक्तिले सिकेको संस्कार, शिक्षा र उसको व्यवहारले ऊ रहने समाजको सभ्यता, संस्कृति र विकास झल्काउँछ। जब समाजको कुनै व्यक्तिले बाल्यकाल देखि नै उचित शिक्षा र सही संस्कार पाउँछ, तब ऊ भविष्यमा असल व्यक्ति बन्न सक्छ। तिनै असल व्यक्तिहरुको समूहले नै समाज समृद्ध बन्छ। त्यसैले मारिया मन्टेश्वरीले भने जस्तै बालबालिकालाई पूर्व प्राथमिक तह देखि नै उचित शिक्षा र संस्कार दिनु आवश्यक छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text