भगवान गौतम बुद्ध केही चेलाहरुसंग चौतारोमा बस्दै हुनुहुन्थ्यो । यत्तिकैमा एक जना चेलाले सोधे , ” गुरु ! नकारात्मक विचार दिमाग ल्याउनुहुन्न, तनाव लिनुहुन्न भन्ने थाहा हुँदा हुँदै पनि कहिलेकाहीं दिमाग तनाव नै तनावले भरिन्छ, आक्रोश आउँछ। त्यस्तो अवस्थामा के गर्ने ?”

आफूलाई प्यास लागेको बताउँदै गौतम बुद्धले ती चेलालाई नजिककैको खोलाबाट पानी ल्याउनको लागि ती चेलालाई अर्हाउनुभयो। त्यसपछि ती चेला पानी लिन गए । खोलामा कसैले लुगा धुँदै थियो, त्यसैले त्यो पानी पिउन छैन भन्ने सोंचेर अलि माथी गए। त्यहाँ भर्खर कसैले खोला तरेको हुँदा पानी धमिलो थियो। उनी रित्तै फर्किए र गौतम बुद्धलाई सबै कुरा बताए। केही समयपछि बुद्धले ती चेलालाई फेरी पानी लिन पठाउनुभयो। यो पटक खोलाको पानी सङ्ग्लो थियो । उनले पानी लिएर आएर खोलाको पानी सफा भएको बताए ।

गौतम बुद्धले सोध्नुभयो, ” पहिले र अहिलेको पानीमा के फरक देख्यौ ?” चेलाले उत्तर दिए, ” पहिलेको पानीमा माटो मिसिएको थियो र पानी मैलो भएको थियो। अहिले माटो तल बसेको छ र माथी सफा पानी मात्र बगिरहेको छ।”

त्यो सुनेपछि गौतम बुद्धले भन्नुभयो,” तिमी अघि फर्केर आयौ, खोलालाई शान्त हुनको लागि केही समय छोड्यौ र त्यसपछि अहिले जाँदा सफा पानी पायौ। त्यसरी नै मानिसको दिमागमा पनि रिस, आक्रोश, नकारात्मक विचार आउँछन् र सकारात्मक विचार पनि धमिला देखिन थाल्छन्। त्यो समयमा यदि तिमी केही बेर शान्त भएर बस्ने हो भने, तिम्रा नकारात्मक विचार विस्तारै तल गएर बस्छन् र सकारात्मक विचारहरु त्यही खोलाको पानि जस्तै निश्चल भएर दिमागमा बग्न थाल्छन्।”

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text