जीवन संघर्ष मात्र होइन, संघर्ष पछि देखिने सुनौलो किरण पनि हो

परिचय

क्यारोलाइन हर्सेल औपचारिक शिक्षा बिना पनि वैज्ञानिक बनेकी सफल तथा प्रसिद्ध व्यक्तित्व हुन्। अनेक संघर्ष गरेर आफ्नो चाहना र सपनालाई मूर्त रुप दिएकी ती महान वैज्ञानिकको जन्म सन् १७५० मार्च १६ मा भएको थियो।

प्रारम्भिक जीवन

क्यारोलिन हर्सेलको जन्म आमा अन्ना लिजे र बुवा आइज्यक हर्सेलको छोरीको रुपमा जर्मनीको हानोवर सहरमा भएको थियो। आर्थिक अवस्था कमजोर भएको उनको परिवारमा क्यारोलिन सहित गरेर दश सन्तान थिए। उनका बुवा संगीतकार थिए भने आमा अनपढ थिइन् । घरको कमजोर आर्थिक अवस्था र छोरीहरुले पढ्नु पर्दैन भन्ने मान्यताले उनले स्कुलको शिक्षा लिन पाईनन् , तर घरमै लेखपढ गर्न सिकीन् । १० वर्षको उमेरमै उनलाई ज्वोरोले गाल्यो र त्यसले शरीरका अंगहरुमा पनि असर गर्यो। उनको उचाई कम थियो भने आँखा पनि कमजोर भए। क्यारोलिनकी आमाले छोरीहरुले घरभित्रको काम मात्र गर्नुपर्छ भन्ने मान्यताले उनलाई घरभित्रकै काममा बाँधीरहिन् । तर उनका बुवाले आमा नभएको मौका पारेर उनलाई भायोलिन बजाउन सिकाउथे। त्यो समयमा ‘फ्रेन्च’ भाषा जानेको व्यक्तिलाई कामका धेरै अवसर मिल्थे। क्यारोलाइनलाई फ्रेन्च भाषा सिक्ने रहर हुँदा हुँदै पनि उनलाई सिक्न दिईएन।

वैज्ञानिक यात्रा

क्यारोलाइन हर्सेलका दाई विलियम सांगीतिक करियरको लागि बेलायत जाने निर्णय गरे र क्यारोलिनलाई पनि आफूलाई सघाउनको लागि संगै लिएर जान चाहे। तर आमाले छोरीलाई जाने अनुमती दिईनन्। त्यसपछि क्यारोलाइनका दुई दाईहरुले आमालाई सम्झाए र क्यारोलाइनको बेलायत जाने बाटो खुल्यो। सन् १७७२ मा दाईसंग बेलायत गएपछि उनको जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन भयो। उनले विभिन्न वाद्यवादन बजाउन समेत सिकीन्। उनले विभिन्न स्टेजमा आफ्नो गायन प्रतिभा समेत प्रस्तुत गरिन्।

त्यसैक्रममा क्यारोलाइनका दाजु खगोलशास्त्रमा अध्ययन गर्न थाले र क्यारोलाइनलाई आफ्नो सहयोगी बनाए। उनले दाजुका टिपोटहरु लेख्ने, टेलिस्कोप तथा अन्य उपकरणहरु पुछ्ने आदि काम गर्थीन् । दाजुको सहयोगी हुँदाहुँदै क्यारोलाइनमा पनि खगोलशास्त्रप्रति रुची बढ्न थाल्यो। नयाँ कुरा सिक्न उत्सुक रहने उनले टिपोट लेख्दा, आफूले पनि पढ्थीन् भने टेलिस्कोपले आकाशका तारा तथा ग्रहहरुको अध्ययन गर्थीन् । सन् १७८१ मा दाजुसंग मिलेर उनले युरेनस ग्रहको पत्ता लगाईन् । यो कामपछि हर्सेल दाजु-बहिनी नै बेलायतमा प्रसिद्ध भए।

क्यारोलाइनले तीन नयाँ निहारिका पत्ता लगाईन्। यसैक्रममा उनले सन् १७८६ देखि १७९६ सम्ममा आठभन्दा बढी नयाँ धुम्रकेतु पत्ता लगाईन्। क्यारोलाइनको प्रसिद्धि झन् पछि झन् बढ्न थाल्यो । सन् १८२२ मा दाजुको मृत्यु पछि उनी आफ्नो देश फर्केकी थिइन् । क्यारोलाइन दाजु विलियमकी श्रीमती अर्थात भाउजुसंग नै साथी जसरि मिलेर बसीन् र दाजुको छोरालाई आफ्नो अन्तिम दिनसम्म पनि मार्गनिर्देश गरिरहीन्।आफू भने जीवनभर अविवाहित रहीरहिन् ।

सफलता

क्यारोलाइन हर्सेलको कामले राजा जर्ज तृतीय खुशी भएर उनलाई वार्षिक रुपमा पचास पाउण्ड रकम पुरस्कार स्वरुप दिने व्यवस्था गरेका थिए। सन् १८२८ मा शाही खगोल समाजले उनलाई स्वर्णपदक प्रदान गर्यो। उनको काम र प्रसिद्धिको कारण नै पर्सियाका राजाले समेत स्वर्णपदक प्रदान गरे। सन् १८४८ जनवरी ९ मा क्यारोलाइनले यस संसारबाट बिदा लिएपनि उनको नाम चम्किरहेको छ र सधै चम्किनेछ।

स्कुल, कलेज गएर मात्र मानिस सफल हुँदैन । केही काम गर्न र सफलता हासिल गर्नको लागि त मानिसमा हिम्मत, आत्मविश्वासम, मेहनत, उत्साह, रुचीको आवश्यकता हुन्छ। क्यारोलाइनले औपचारिक शिक्षा लिन पाईनन् , छोरीमान्छे घर भित्र सिमित हुनुपर्छ भन्ने परम्परामा हुर्कीइन् तर उनी सफल वैज्ञानिक बनिन्।

तस्बिर स्रोत

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text