कुनै एउटा गाउँमा बुवा र तीन भाई छोराहरु थिए। बुवाले जीवनभर दु:ख गरे। उनको थुप्रै जग्गा जमिन थियो, शरीरमा बल छउन्जेल सबै जग्गा जमिनमा आफै परिश्रम गरे र परिवारलाइ सुखसंग पाले । उनका छोराहरु भने कामबाट टाढा नै भाग्थे। उनीहरु ठूला सपना देख्थे र जमिनमा हलो जोत्नु बेकार हो भन्थे। उनीहरु दिनभर बाहिर डुल्थे र बेलुका मात्र घरमा आउंथे।

बुवा छोराहरुको बानीले आजित थिए। उनले एकदिन छोराहरुलाई एकै ठाउँ जम्मा गरेर भने, ” मैले आजसम्म धेरै दु:ख गरें। त्यही अनुसार कमाएँ र तिमीहरुलाई पालें पनि, तर तिमीहरुको ठूलो सपनाहरु मैले पूरा गरिदिन सकिन । म अब तिर्थ जान्छु र उतै देह-त्याग गर्छु। मैले तिमीहरुलाई आज हाम्रो सबै जग्गा जमिन देखाईदिन्छु” । त्यसपछि बुवाले सबै जग्गा जमिन देखाइदिए । उनीहरुको जग्गा जमिन यति धेरै थियो की, छोराहरु जिल खाए।

हिड्नेबेलामा बुवाले भने, ” मैले आजसम्म तिमीहरुलाई यो कुरा भनेको थिइन। तिमीहरु तीन भाईको लागि भनेर मैले तीन वटा छुट्टा छुट्टै भाँडामा असर्फीहरु राखेर तीन वटा छुट्टा छुट्टै ठाउँमा गाडेको छु” । त्यो सुन्ने बित्तिकै छोराहरुको मुहारमा एकाएक चमक आयो। उनीहरुको कौतुहलता बुझेर बुवाले भने, ” ती भाँडा राखेको ठाउँमा मैले चिनो पनि राखेको थिएँ। तर पछि ती चिनो जोत्दा जोत्दै कता पुगे। तिमीहरुले जमिन खनेर ती भाँडा निकाल्नु”। बुवा तिर्थको लागि निस्किए भने छोराहरु खेततिर लागे। तीन भाईले तीन तिरबाट जमिन खन्न थाले र केही दिन पछि सबै जमिन खनेर पनि सकियो। तर असर्फिका भाँडा भेटिएनन् । वर्षाको मौसम थियो, पानी पर्यो र खेतमा त अन्न र तरकारीहरुका विरुवाका टुसा देखिन थाले। छोराहरुले बुझे की बुवाले उनीहरुलाई खेत खन्न लगाउन चाहन्थे । दिन बित्दै गए, कहिले बुवालाई गाली गर्थे, कहिले भाग्यलाई। तर खानु नै थियो, काम गर्ने पर्थ्यो।

त्यसपछि जब अन्न र तरकारी फलेर जमिन ढाकिन थाल्यो, उनीहरुले महसुस गरे की, साँच्चै नै जमिन मुनि सुन नै रहेछ, मेहनतले यसरि सुन फलाउँदो रहेछ । त्यसपछि उनीहरुले त्यही कृषीलाई नै आधुनिकीकरण गरेर पैसा कमाउन थाले।

सुन सपनाले फलाउँदैन, त्यो सपना पूरा गर्न गरिने मेहनतले फलाउँछ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text