रानी मुखर्जी भारतीय चलचित्रकी सफल नायिका मध्ये एक हुन् । अरु अभिनेत्रीहरुको तुलनामा सानो कद भएतापनि आफ्नो अभिनयले दर्शकको मन जितीन् र उनी बलिवुड नायिकाको इतिहासमै सर्वाधिक अर्थात सात फिल्मफेयर अवार्ड जित्ने नायिका बनिन् । तर यहाँसम्म आइपुग्नको लागि यात्रा भने सजिलो थिएन।
रानी मुखर्जीको अभिनय मात्र नभएर उनको अलग पहिचान भनेको हस्की स्वर हो। तर अहिले पहिचान बनेको यही स्वर बलिवुड यात्रामा अवरोध बनेर देखा परेको थियो। रानीले बलिवुडमा करियर बनाउनको लागि संघर्ष गर्दै थिइन् । त्यही समयमा उनलाई अभिनेता आमिर खानसंग ‘गुलाम’ चलचित्र खेल्ने मौका मिल्यो। रानी मुखर्जीले हरसम्भव कोसिस गरेर सुटिंगमा आफ्नो शतप्रतिसत दिने कोसिस गरिन्। फिल्मी करियरको सपनाले उनलाई अभिनयमा निखारता ल्याउन घच्घच्याउँथ्यो। त्यसैले कडा मेहनत गरेर उनले सुटिंग सकिन् ।
गुलामको सुटिंग सकिसकेपछि डबिंग गर्ने बेला आयो। डबिंगमा , सुटिंगमा खिचिएको दृश्यमा आवाज भर्ने काम गरिन्छ। तर, जब डबिंगको समय आयो र रानीले आवाज दिन थालिन् , तब आमिर खानले उक्त फिल्मको पात्रको लागि रानीको आवाज उपयुक्त नभएको बताए। फिल्मका निर्देशक विक्रम भट्ट र निर्माता मुकेश भट्टले पनि आमिर खानको कुरामा सहि थपे ।
कडा मेहनत गरेर काम गरेको फिल्ममा आफ्नो आवाज नराखीएपछि उनी निराश भइन्। अझ त्यसको कारण भनिएको थियो, ” आवाज सुहाउँदो भएन” । निराश भएकी रानीलाई नयाँ निर्देशक करण जोहरले कुछ कुछ होता हैको लागि प्रस्ताव गरे र भने, ” तिम्रो आवाज तिम्रो परिचय हो, तिम्रो आत्मा हो। तिम्रो भूमिका तिम्रो आवाजमै डबिंग गरिनेछ। ” त्यसपछि उनी उक्त फिल्म खेलिन् र फिल्म सुपरहिट भयो। रानीको भूमिका र अभिनयको प्रशंसा गरियो। उनले त्यही फिल्मबाट अवार्ड समेत पाईन् र उनको बोली तथा अभिनय साँच्चै नै उनको परिचय बन्यो। आमिर खानले उनलाई फोन गरेर माफी समेत मागे।
रानी मुखर्जी भन्छिन् , ” करण जोहरका ती शब्द नै मेरो लागि हिम्मत बनेका थिए” । आमा भइसकेपछि केही छिन फिल्मी दुनियाँबाट टाढा भएकी उनी अहिले पुन: बलिवुडमा फर्किंदैछिन्।