अल्बर्ट आइन्स्टाइनले सापेक्षाताको सिद्धान्त प्रतिपादन गरेपछि विभिन्न ठाउँमा त्यस सम्बन्धि प्रस्तुति दिन हिंड्थे। त्यसरी हिंड्दा उनले आफ्नो ड्राइभरलाई संगै लिएर हिंड्थे। उनले प्रस्तुति दिंदा ड्राइभर पछिल्लो बेञ्चमा बसेर सुन्ने गर्थ्यो।

एकदिन सापेक्षाताको सिद्धान्त सम्बन्धि प्रस्तुति दिनको लागि हिंडेको समयमा ड्राइभरले भन्यो, ” तपाईंले भन्ने कुराहरु कति सजिला छन्। त्यसमा अप्ठ्यारो र अचम्म लाग्दो कुरा भन्ने केही पनि छैन। तपाईंसंग हिंड्दा हिंड्दै मलाई तपाईंले अगाडी गएर भन्ने शब्द कण्ठ भैसकेको छ”।

पढ्दै नपढेको ड्राइभरलाई आफ्नो सिद्धान्त त्यस्तो सजिलो लागेछ, आफूले भनेको कुरा बुझेछ भनेर आइन्स्टाइन खुशी भए। त्यसपछि आइन्स्टाइन र ड्राइभर बीचमा त्यो दिनको प्रस्तुति आइन्स्टाइनको सट्टा ड्राइभरले दिने सल्लाह भयो। त्यतिबेला अहिले जस्तो संचार माध्यमको साधन नहुँदा अल्बर्ट आइन्स्टाइनलाई मानिसहरुले नजिकबाट देख्न पाएका थिएनन् । तर पनि कसैले पनि शंका नगरोस भनेर उनीहरुले आफूहरुले लगाएको लुगा साटासाट गरे र कार्यक्रम हुने ठाउँमा पुगेपछि ड्राइभर स्टेजमा गयो। आइन्स्टाइन ड्राइभर बस्ने पछिल्लो बेञ्चमा गएर बसे।

ड्राइभरले साँच्चै नै सबै प्रस्तुती राम्रोसंग सम्पन्न गर्यो। उसले आइन्स्टाइनले जे-जे भन्ने गर्थे, त्यहि नै भन्यो। त्यसपछि प्रश्नहरु आउन थाले। ती प्रश्नहरु सधै आउने खालका थिए। उसलाई आइन्स्टाइनले दिने उत्तरहरु थाहा थियो, त्यसैले सजिलो गरि उत्तर दियो। तर, अन्तिममा यस्तो प्रश्न आयो, जुन प्रश्न त्यो दिनसम्म आइन्स्टाइनलाई कसैले गरेको थिएन र उनले त्यो बारेमा बताएका पनि थिएनन्। त्यसैले ड्राइभरलाई त्यो प्रश्नको उत्तर थाहा थिएन।

तर चलाख ड्राइभरले उत्तर दियो, ” यो प्रश्न यति सजिलो छ की, ऊ त्यो पछिल्लो बेञ्चमा बसिरहेको मेरो ड्राइभरलाई समेत यो प्रश्नको उत्तर थाहा छ”। यसो भन्दै ड्राइभरले आफूतिर औंला देखाएपछि आइन्स्टाइन पनि छक्क परे र ड्राइभरको बुद्धिको मनमनै तारिफ गर्दै ती प्रश्नकर्ताको उत्तर दिए।

हामीले आफूले सोंचे जसरि काम गरिरहेका हुन्छौं। तर हामी आफ्नै लयमा हिंडीरहंदा यस्तो मोड आइदिन्छ, जसको लागि हामी आफू पहिल्यै देखि तयार भएको हुँदैनौं, जुन परिस्थितिको बारेमा कहिल्यै हामीले सोंचेको पनि हुँदैनौं। यदि हामीले, धैर्य रहेर, समस्या भन्दा बढी त्यसको समाधानमा केन्द्रित रहेर त्यो परिस्थितिलाई सम्हाल्न सक्यौं भने हामी सफल हुन्छौं, जसरि अल्बर्ट आइन्स्टाइनको ड्राइभरले गरेको थियो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text