कुनै एउटा गाउँमा एकजना प्रख्यात ज्योतिष थिए । उनले कुण्डली हेरेर भविष्यबारे साँचो भनिदिन सक्छन् भन्ने विश्वास थियो । त्यसैले टाढा टाढाका मानिस पनि उनी कहाँ कुण्डली देखाउन आउने गर्थे।

ती ज्योतिषको चर्चा गाउँ गाउँ हुँदै त्यस राज्यका राजासम्म पुग्यो। त्यसपछि राजाले आफ्ना मन्त्रीगणहरुलाई बोलाएर ती ज्योतिषलाई दरबारमा ल्याउन अर्हाए। राजाको आज्ञा अनुसार मन्त्रीहरुले राजाको अगाडी ज्योतिषलाई हाजिर गराए ।

त्यसपछि राजाले प्रणाम गरेर र भने, ” मैले हजुरको धेरै चर्चा सुनेको छु। गुरू, त्यसैले म आफ्नो भविष्यबारे हजुरबाट जान्न चाहन्छु। त्यसपछि ज्योतिषले राजाको भविष्यमा हुन सक्ने राम्रा-राम्रा कुरा बताउँदै गए, राजा प्रसन्न हुँदै ज्योतिषको अगाडी सुन र चाँदी टक्र्याउन थाले । त्यसपछि नराम्रा कुराहरुको पालो आयो।

जब ज्योतिषले नराम्रो कुराहरु भन्न थाले, राजाले ज्योतिषलाई तरबार देखाउँदै भने, ” आफै भन्, मैले तँलाई कहिले मारौं ?” त्यसपछि ज्योतिषले तुरुन्तै जवाफ दिए, ” महाराज तपाईंको कुण्डलीमा यो पनि लेखेको छ कि, म मरेको एक घण्टापछि तपाईंको पनि मृत्यु हुनेछ” । त्यसपछि राजा हड्बडाए,तरबार खस्यो। तुरुन्तै ज्योतिषसंग माफी मागे र सुन चांदी दिएर पठाए ।

जीवनमा कठिनाईहरु अकस्मात आउन सक्छन्। राम्रो हुँदा हुँदै अकस्मात नराम्रो स्थिति पनि आउन सक्छ। तर त्यसले हाम्रो जीवनमा कस्तो असर पार्ने भन्ने हामीमा, हाम्रो सोंचमा, बौद्धिकतामा, चातुर्यतामा भर पर्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text