बेबी हल्दर प्रसिद्ध लेखक हुन् । भारतकी ४३ वर्षिया यी लेखक कठीन संघर्ष पछि सफलता हासिल गरेकी प्रसिद्ध व्यक्ति हुन्।

गरीब परिवारमा जन्मेकी हल्दरका बुवा संकीर्ण सोंचका थिए। घरको काम, छोरी हुनाले व्यहोर्नु परेको व्यवहार, बुवाले आमालाई गरेको हिंसा त छंदै थियो, त्यसमाथी पढाईलाई भर्खर -भर्खर बुझ्दै गरेकी उनको १२ वर्षको उमेरमै विवाह भयो।

विवाह भनेको के हो, श्रीमान-श्रीमतीको सम्बन्ध भनेको कस्तो हो आदि राम्रोसंग नबुझ्दै १३ वर्षकै उमेरमा उनी आमा बनिन्। त्यसपछि घरको काम, लगातार छोराछोरीको जन्मले सानै उमेरमा पाको महिला बनिन्। तीन सन्तानकी आमा बनेकी उनलाई श्रीमानले अनेक यातना दिन्थे। दु:खै दु:खका बिचमा अरु पुरुषहरुले लगाउने घिनलाग्दो नजर उनको अर्को मानसिक यातना थियो। भिनाजुले समेत उनीमाथी कुदृष्टी लगाएका थिए।

शारीरिक र मानसिक यातनाबाट टाढा हुनको लागि बेबी हल्दर छोराछोरी लिएर बगालमा रहेको आफ्नो घरबाट भागिन्। घरबाट भागेर उनी दिल्ली पुगिन्। दिल्लीमा पनि उनलाई सजिलो हुने कुरै भएन। त्यसपछि उनी घरको काम गर्ने घरेलु कामदारको रुपमा विभिन्न घरमा काम गर्न थालीन्। ती घरका मालिक-मालिक्नीले गर्ने हरेक दुर्व्यवहार उनले सहिन्। यसरि एक-पछि अर्को काम गर्दा गर्दै उनी प्रोफेसर प्रबोध कुमारको घरमा घरेलु कामदारको रुपमा काम गर्न थालिन्।

प्रोफेसर प्रबोधको घरमा थुप्रै पुस्तकहरु थिए, उनको परिवार नै पुस्तकप्रेमी थियो। घरको कुना कुना सफा गर्ने हल्दरलाई किताब राख्ने र्याक र ती किताबहरुले आकर्षण गर्थे। उनले कोही नभएको मौका पारेर ती किताबहरु हेर्ने, आफूले पढ्न सक्ने भए पढ्ने समेत गर्थिन्। उनको यो किताब प्रतिको आकर्षणलाई प्रोफेसर प्रबोधले नियालीरहेका थिए। यस्तैमा एकदिन उनले ‘किताब पढ्न मन छ?” भनेर हल्दरलाई सोधे। उनले डराई डराई पढ्न मन छ भनिन्। त्यसपछि प्रोफेसर प्रबोध्ले आफ्ना नातीलाई अर्हाए, ‘ उसले पढ्न सक्ने र उसको लागि उपयोगी हुने पुस्तक छानेर देऊ’। त्यसपछि उनले हल्दरलाई महिलाका मुद्दा सम्बन्धि लेख्ने लेखक तसलिमा नसरिनको पुस्तक दिए। उक्त पुस्तक पढ्दा उनलाई आफ्नै जीवन पढीरहे जस्तो लाग्यो। त्यसपछि उनले एकपछि अर्को पुस्तक गर्दै पढ्न थालिन्।

यस्तैमा एक दिन प्रोफेसर प्रबोध दक्षिण भारतको भ्रमणमा निस्किने तयारि गरे। उनले बेबी हल्दरलाई बोलाएर एउटा कापी र कलम दिंदै भने, ” म फर्किने बेला सम्म लेखेर मलाई बुझाउनु, जेजे आउँछ र लेख्न मन लाग्छ, त्यही लेख्नु’। यति भनेर प्रोफेसर गएपछि हल्दर रोईन् , किनकि उनलाई के लेख्ने, कसरि लेख्ने केही थाहा थिएन। जसरि पनि लेख्ने पर्ने भएपछी उनले आफ्नै कथा लेख्न सुरु गरिन् । भान्सामा काम गर्दै गर्दा, सरसफाई गर्दै गर्दा, राती छोरा छोरी निदाएपछि, जतिबेला मिल्छ उनले लेखिन्। आफ्नो लेखाइ चित्त नबुझेपछि कैयौं पेज च्यातेर फालिन् पनि। तर उनी रोकिइनन्।

जब प्रोफेसर घरमा फर्किए बेबी हल्दर आफूले लेखेको एक सय पेज उनलाई बुझाइन् । उनी निकै खुशी भए । जब पढे, पढ्दा पढ्दै उनी रोए, उनलाई हल्दरले भोगेको पीडा ती शब्दबाट महसुस भयो। त्यसपछि उनले साहित्यसंग सम्बन्धित व्यक्तिहरुसंग मिलेर उनको लेखनलाई पुस्तकको रुप दिने तयारी गरे। प्रकाशकले घाटामा जान सक्ने जोखिम मोलेरै पुस्तक प्रकाशन गरे। त्यसपछि बंगाली भाषामा लेखिएको उनको त्यो पुस्तक हिन्दी भाषामा अनुवादन गरेर समेत प्रकाशन गरियो ।

बेबी हल्दरको उक्त पुस्तक ‘लाइट एण्ड डार्कनेस’ २१ वटा भाषामा अनुवादन भएको छ। अहिले उनी आत्मनिर्भर बनेकी छिन् । कोलकातामा उनको आफ्नै घर छ र लेखक तथा प्रेरक व्य्कतित्वको रुपमा प्रसिद्धि कमाएकी छिन्।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text