सबैभन्दा खतरा भनेको, अगाडी नबढ्नु हो

परिचय

जेफ बेजस प्रसिद्ध व्यवसायी हुन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको २०१९ को सूची अनुसार उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन्। हावर्ड बिजनेस रिभ्युले जेफ बेजसलाई विश्वकै सबैभन्दा राम्रो सीइओमा दोस्रो स्थानमा राखेको थियो। उनको जन्म सन् १९६४ जनवरी १२ मा भएको हो ।

प्रारम्भिक जीवन

जेफ बेजस आमा ज्याक्लिन गीस र बुवा टेड जर्जेनसेनको छोराको रुपमा अमेरिकामा जन्मेका हुन् । जेफकी आमाले बिहे गर्दा उनी किशोरी नै थिइन् र पछि टेडसंग सम्बन्ध विच्छेद भएपछि उनले मिगेल बेजससंग विवाह गरेकी थिइन् । मिगेल बेजसले जेफलाई छोराको रुपमा अपनाएपछि उनी जेफ बेजस बने। त्यसपछि उनीहरुको परिवार हाउसटन , टेक्सासमा बस्न थाल्यो । जेफका बुवा मिगेलले इञ्जिनियरिङ्ग काम गर्न थाले भने जेफले तिभर ओअक्स स्कुलमा पढ्न थाले । उनले त्यस स्कुलमा चार देखि छ कक्षासम्म पढेका थिए। उनीहरुको परिवार फेरी फ्लोरिडामा बसाइ सर्यो। जेफले त्यहाँको मियामी पल्मेटो हाइ स्कुलमा पढ्न थाले। उनले युनिभर्सिटी अफ फ्लोरिडामा विज्ञान सम्बन्धि तालिम लिए र सन् १९८२ मा सिल्भर नाइट अवार्ड समेत जिते, जुन अवार्ड पढाइमा मात्र नभएर आफूले सिकेको कुरालाई विभिन्न कार्यमा उतार्ने र सामाजिक तथा विद्यालयको हीतको काम गर्ने विद्यार्थीलाई प्रदान गर्ने गरिन्छ ।

व्यवसायिक यात्रा

हाइ स्कुलमा हुँदा नै जेफ बेजोसले आफ्नो व्यवसायिक यात्रा सुरु गरिसकेका थिए। उनले द ड्रिम इन्स्टिच्युट नामक व्यवसायिक संस्था खोलेर कक्षा चार, पांच र छ मा पढ्ने विद्यार्थीहरुको लागि समर क्याम्प संचालन गर्थे। सन् १९८२ मा उनी प्रिन्सटन युनिभर्सिटीमा भर्ना भए र कम्प्युटर पढ्न थाले । विद्यार्थी समयमा पनि उनी बिदाको समयमा खाली बस्दैनथे, केही न केही कम गर्थे नै। सन् १९८४ मा उनले गर्मी बिदाको समयमा नर्वेमा प्रोगामरको काम पाए। त्यसपछि उनी अर्को वर्ष क्यालिफोर्नियामा आइबिएम प्रोग्राममा आफ्नो क्षमता प्रस्तुत गर्न सफल भए । प्रिन्सटनका विद्यार्थीहरुको अध्यक्ष समेत रहेका उनले सन् १९८६ मा इलेक्ट्रिकल इञ्जिनियरिङ्ग र कम्प्युटर साइन्समा बि.एस.सी गरे।

जेफ बेजसले त्यसपछि थुप्रै कम्पनीहरुमा जागिर गरे। उनले ब्याङ्कर्स ट्रस्ट, इन्भेस्टमेन्ट कम्पनी आदिमा काम गरेका थिए। १९९० मा न्युयोर्कमा रहेको डि. इ स कम्पनीमा काम गर्न थालेका जेफ त्यहाँ सबैभन्दा कान्छो उपाध्यक्ष्य समेत बने। फाइनान्स सम्बन्धि उनको करियर त्यहाँ निकै राम्रो भएको थियो, तर चार वर्ष काम गरिसकेपछि उनले त्यो कम्पनी छोडे। त्यो कम्पनी छोडेपछि उनले सन् १९९५ मा एमाजोन सुरु गरेका थिए।

जेफले एमाजोन सुरु गर्दा, आफ्नो अनलाइन पसलको रुपमा किताबहरु मात्र राखेका थिए। किताबहरुका थुप्रै पसल हुनाले उनको अनलाइन बजार धेरै नटिक्ने मानिसहरुले अनुमान गरेका थिए। तर जेफको त्यो आइडिया १९७७ मा पछि मान्छेहरुमा राम्रो छाप छोड्न सफल भयो। त्यसपछि उनले सन् १९९८ मा आफ्नो अनलाइन बजारमा सी.डी, भिडियो क्यासेट थपे र बजारलाई बढाउँदै सन् २००२ मा लुगाहरु राख्न थाले। त्यसपछि २००३ मा एमाजोनले एनाइनको अवधारणा ल्यायो । यो अनलाइन व्यवसायसंग सम्बन्धित वेबसाइटहरु खोज्ने व्यवसायिक सर्च इन्जिन हो । त्यसपछि जेफले खेलकुद सामग्रीका तीन हजार ब्राण्ड सहितको अनलाइन स्टोर ल्याए।

सन् २००७ मा जेफले द किन्डल नामक इलेक्ट्रोनिक रिडिंग डिभाइस ल्याएम जसले पढ्नको लागि अक्षरहरुको आकारलाई मिलाइदिएर सजिलो बनाइदिन्छ। त्यसपछि सन् २०१० मा द विलेइ एजेन्सी संग एमाजोनले लेखकहरुको डिजिटल अधिकार सम्बन्धि सम्झौता गर्यो। किताबप्रकाशकहरु एमाजोनदेखी रुष्ट बने। तर, त्यो डिजिटलाइजेसनले मानिसहरुले अझ धेरै किताब पढ्न थाले र किताबहरुको बिक्रि बढ्यो, जसले गर्दा लेखकहरु बढी लाभान्वित भए।

एप्पलको आइप्याडसंग प्रतिस्पर्धा गर्दै जेफले किन्डल फायर नामक मिनी ट्याब्लेट बजारमा ल्याएका थिए। सन् २०१३ मा उनले २५० मिलियन डलरमा वाशिंगटन पोस्ट कम्पनी किने र त्यही वर्ष नै एमाजोनको एउटा ड्रोन सम्बन्धि परिक्षण पनि सार्वजनिक गरे जसले सामान ओसारपसारमा सहयोग पुग्छ।

जेफले सन् १९९३ मा म्याककेंजी टटलसंग विवाह गरेका हुन्। उनीहरु दुई जनाको भेट डि.इ समा काम गर्दा भएको थियो। यी दम्पतिका चार सन्तान छन् ।

सफलता

जेफ बेजोसलाई अनलाइन बजारको विकासको लागि महत्त्वपूर्ण भूमिका भएका व्यक्तिको रुपमा चिनिन्छ। उनले सन् २००४ मा एरोस्पेस कम्पनी पनि स्थापना गरेका थिए । अमेरिकाको न्युज एण्ड वोर्ल्ड रिपोर्टले अमेरिकाको राम्रो नेतृत्वकर्ता मध्ये मा जेफलाई लिएको थियो। सन् २००८ मा उनलाई क्यार्नेग मेलन युनिभर्सिटीले विद्यावारिधिको मानपदवी दिएको थियो। सन् २०११ मा उनलाई द इकोनोमिस्टले एमाजोन किन्डलको लागि इनोभेसन अवार्डले सम्मान गरेको थियो। अर्को वर्ष फर्च्युनले उनलाई ‘बिजनेसपर्सन अफ द इयर’ पदले सम्मान गरेको थियो। सन् २०१२ मा द नेशनल रेटेलर फेडेरेसनले एमाजोनलाई वर्षको उत्कृष्ट खुद्रा व्यवसायी अवार्ड दिएको थियो र जेफ बेजोसलाई स्वर्ण पदकले सम्मान गरेको थियो। फोर्ब्सले हालै सार्वजनिक गरेको (२०१९) तथ्याङ्क अनुसार, उनको सम्पत्ति हाल १३१ बिलियन डलर छ।

काम गर्नु र दिन बिताउनु तथा उमेर बढ्नु सामान्य हो। तर त्यो, दिन प्रतिदिन गरिरहेको कामले तपाईंले के सिक्नुभयो, आफ्नो क्षमता तथा ज्ञानमा कत्तिको वृद्धि गर्नुभयो र तपाईंको बढ्दै गएको उमेरसंगै कत्तिको परिपक्कता बढ्यो भन्ने कुरा महत्त्वपूर्ण हो। सफलता हासिल गर्नको लागि प्रत्येक दिन केही सिक्नुपर्छ र थोरै भएता पनि आफ्नो ज्ञानको दायरा बढेको हुनुपर्छ। त्यस्तै तपाईं एउटा काममा मात्र नअल्झिएर त्यो काममा सफलता हासिल गरेपछि त्यो भन्दा अगाडी पाइला चाल्ने कोसिस गर्नुपर्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text