एउटा सफलताका पछाडी कैयौं संघर्षका कथा लुकेका हुन्छन्। जुनसुकै क्षेत्रमा पनि अगाडी बढेको मान्छे, बाटो सिधा र सजिलो भएका कारण हिंडिरहेको हुँदैन। उसमा अवरोध पन्छाउने अठोट, हिम्मत र मेहनत भएका कारण अगाडी बढिरहेको हुन्छ। यस्तै, उदाहरण हुन् , कान्तिपुर एफ.एमका न्युज चिफ पवन आचार्य।
हाल न्युज चिफ बनेका पवन जन्मेपछि, उनको बोली फुट्न १ वर्ष लागेको थियो। पवनको बोली अरु बच्चाको जसरि समयमै नआउँदा चिन्तित बनेको उनको परिवारले सातो डाक्ने, हेराउने, औषधि उपचार गर्ने गर्यो। तर, १ वर्ष पुगेपछि मात्र उनको बोली फुट्यो। बोली फुट्दा उनको परिवार अत्यन्तै खुशी भयो। तर त्यो खुशी पूर्ण रुपमा चाहिं केही वर्षपछि नै टुट्यो। किनकी उनी बोल्दा बीच-बीचमा अड्किन्थे, अर्थात भक्भकाउँथे। पवन हुर्किंदै गए, साथी बनाउंदै स्कुल जान थाले। तर भक्भकाउने बोलीका कारण उनी मजाकको पात्र बनिरहे, साथीहरुको अगाडी, शिक्षकको अगाडी, आफन्तहरुको अगाडी…।
कोहीपनि व्यक्तिले आफू कसैको अगाडी मजाक बनूँ, कसैले आफ्नो कुनै कमजोरीलाई लिएर गिज्याओस् भन्ने चाहँदैन। त्यसैले पवन कहिल्यै अगाडी बोल्ने र कक्षामा नजानेको प्रश्न सोध्ने गरेनन्। किनकी साथीहरुको लागि उनी ‘भकभके’ नाममा मजाकको पात्र थिए। बोलीले नै आफूलाई अगाडी गएर बोल्ने बाटो बन्द गरिदिएपनि उनलाई फरर बोल्ने रेडियो प्रति निकै मोह थियो। त्यसैले वि.सं. २०५५ मा उद्घोषण तालिम सम्बन्धि विज्ञापन देखेपछि उनले आफ्नो बोलीकै कारण रोकिन चाहेनन्। पवनलाई उद्घोषण तालिम लिने हुटहुटि चल्यो र उनी तालिम केन्द्रमा त्यस सम्बन्धि बुझ्न गए। तालिम शुल्क पांच हजार रुपैयाँ बताइयो। तर पढ्दै, स्कुलमा जागिर गर्दै गर्ने उनको तलब थियो, जम्मा पच्चीस सय रुपैयाँ।
पवनले जसरि पनि रेडियो उद्घोषण तालिम लिन चाहन्थे। त्यसैले उनले आफ्नो बुवालाई आफ्नो चाहना र आवश्यक रकमको बारेमा बताए । तर भकभकाउने व्यक्ति रेडियोमा बोल्न नसक्ने भन्दै उनका बुवाले पैसा दिन मानेनन्। त्यसपछि उनले आमालाई मनाएर पैसा लिए र उद्घोषण तालिममा बसे । उनलाई लागेको थियो, उद्घोषण तालिम लिएपछि, भकभकाउने समस्या हराउनेछ। तर, उनको बोलीको समस्या जस्ताको त्यस्तै रह्यो।
पवन आचार्यले त्रि-चन्द्र क्याम्पसमा स्नातक पढ्दै गर्दा, २०५८ मा कान्तिपुरले आरजे र आरएको लागि जागिर खुलायो। जागिरको विज्ञापन देखेपछि उनले लिखित र मौखिक परिक्षा दिए। त्यसपछि उनी आरएको लागि छानिए। उनलाई आरएले कार्यक्रम चलाउँछ भन्ने लागेको थियो। तर जागिर गर्न थालेको अर्को हप्तापछि मात्र थाहा पाए कि, आरए भनेको रिसर्च असिस्टेन्ट रहेछ, जसको काम कार्यक्रम संचालकहरुको लागि सामग्री तयार पारिदिने र कार्यक्रम सम्बन्धि अरु अनुसन्धानमुलक काम गर्ने जिम्मेवारी हुन्छ। त्यसो त, उनले खोजपत्रकारिता केन्द्रमा पनि पहिले केही समय काम गरेका थिए, जसले गर्दा रेडियोमा केहि सहज भने भयो।
एक-पछि अर्को कार्यक्रम गर्दै पवनले काम त गर्न थाले, तर उनले आफूले कार्यक्रम चलाउने मौका भने पाएनन्। रेडियोमा काम गर्ने तर अहिले सम्म बोली सुन्न नपाएको भन्दै उनलाई साथीहरुले गिज्याउने थाले। उनलाई पनि कार्यक्रम चलाउन पाए हुन्थ्यो भन्ने भइरहेको थियो । त्यसैले रेडियोमा काम गर्न थालेको तीन महिनापछि उनले त्यहीं काम गर्ने दीनेश डी.सीलाई आफूलाई पनि कार्यक्रम संचालन गर्न मन लागेको बताए। दीनेश डी.सीले टेबलमा रहेको पत्रिका पढ्न आग्रह गरे। तर, पवनको समस्या त्यहाँ पनि देखियो। पत्रिका पढ्दा पढ्दै उनी भकभकाए। त्यसपछि दीनेश डी.सीले उनलाई घरमा ऐना अगाडी उभिएर १५ दिनसम्म हरेक दिन ठूलो-ठूलो स्वरमा पत्रिका पढ्न सुझाव दिए।
दीनेश डी.सीले अभ्यास गर्न भनेको १५ दिनपछि पवन आचार्यलाई बोलाए। दिनेश डी.सीले आफ्नो हातमा रहेको ट्राफिक अपडेटको फ्याक्स प्रिन्ट उनलाई थमाए र टेक्निसियन श्याम श्रेष्ठलाई बोलाए, अनि उनी अन एयर हुने बारे जानकारी दिए । टेक्निसियनले पवनलाई माइक अन र अफ कसरी गर्ने र हेडफोनमा कुन म्युजिक बजेपछि बोल्ने भनेर सिकाए । त्यो क्षण सम्झिदै पवन भन्छन् , ” हेडफोन लगाएर माइक अन गर्दा मेरा हात खुट्टा सबै चिसा भइसकेका थिए । मुटुमा एकैपटक सयौं किलाहरु रोपिएजस्तो भान भएको थियो । त्यो ५ मिनेट समय कसरी सकियो मलाई अझै थाहा छैन । प्रत्यक्ष रुपमा रेडियोमा बोलेको त्यही मेरो पहिलो अनुभव थियो । कार्यक्रम सकेपछि दिनेश दाइले थप सुझावहरु दिनुभयो”। त्यसपछि उनले फ्लाइट अपडेट पनि पढ्न थाले।
पवनलाई रेडियोमा बोल्न थालेपछि विस्तारै समाचार पढ्ने इच्छा जाग्न थाल्यो। उनी समाचार कक्षमा सरुवा भए। तर, द्वन्दकालीन अवस्था र राजाले प्रत्यक्ष शासन हातमा लिएकोले उनलाई त्यतिबेला समाचार पढ्ने अवसर मिलेन। तर उनी र रेडियोका उनका साथीहरु मिलेर समाचारमुलक अरु कार्यक्रमहरु चलाउन थाले। पछि रेडियोले समाचार भन्न पाउने भएपछि उनीहरुले समाचार प्रसारण गर्न थाले। कडा मेहनतको फलस्वरुप सन् २००७ मा पवन रेडियोको समाचार शाखाबाट उत्कृष्ट कर्मचारी बन्न सफल भए । अहिले पनि कुनै-कुनै शब्दमा अड्किने उनको बोलीलाई उनले कडा मेहनत, अठोट र साहसले जितेका छन्। त्यसैले त, कुनै समय भकभके भइने डरले कक्षामा प्रश्न समेत नसोधी बस्ने उनी अहिले कान्तिपुर रेडियोको ‘न्युज चिफ’ भएका छन् ।