मेरो कोही पनि साथी छैन। मलाई कसैले विश्वास पनि गर्दैनन् । मेरो बारेमा ‘ऊ लाटो छ, उसको दिमाग नै भुत्ते छ’ भन्ने कुरा गर्छन् र मलाई गिज्याउछन्। म १९ वर्षको भएँ, कहाँ जाने, के गर्ने, केही सोंच्न सकिरहेको छैन।

तपाईं कस्तो व्यक्ति हुनुहुन्छ, तपाईंको प्रतिभा के हो भन्ने कुरा सबैभन्दा पहिले तपाईं आफूले बुझ्नुहोस्। आफ्नो काममा लगनशील भएर लाग्नुहोस्। आलोचना त हरेक व्यक्तिको हुन्छ। तपाईंको जसले कुरा काटेको छ, उसको बारेमा पनि अरु कसैले कुरा काटिरहेको हुन्छ। तपाईंले यसलाई आफ्नो काम गरेर देखाउने अवसरको रुपमा लिनुहोस्।

तपाईं भर्खर १९ वर्ष अर्थात किशोरावस्थामै हुनुहुन्छ, त्यसैले मनमा दुविधा आउनु, स्वाभाविक पनि हो। तपाईं मात्र होइन, तपाईंको उमेर समूहका धेरै जसो किशोर किशोरीमा यस्तो भावना आइरहेको हुन्छ।

तपाईं सबैभन्दा पहिले आफ्नो साथी बन्नुहोस्। तपाईंलाई कुन काम राम्ररी गर्न आउँछ, त्यो कामलाई अझ राम्ररी गर्ने प्रयास गर्नुहोस् र जुन काममा आफूलाई कमजोर महसुस गर्नुहुन्छ, त्यसलाई सिक्ने प्रयास गर्नुहोस्। कसले के भन्छ, जीवन के होला ? आदि बारेमा धेरै नसोंच्नुहोस् र मात्र आफ्नो काम तथा पढाइमा ध्यान लगाउनुहोस्। परिवारको काममा सहयोग गर्नुहोस्। पाठ्यक्रम भन्दा बाहिरका किताबहरु ल्याएर पढ्न थाल्नुभयो भने तपाईंलाई मानसिक रुपमा अझ सहयोग मिल्छ। तपाईंले आफूमा आएका विचारहरुलाई लेख्न थाल्नुभयो भने त्यसले पनि तपाईंको सिर्जनात्मक क्षमता र हौसला बढाउनको लागि सहयोग गर्छ।

आफ्ना रुची, आफ्नो काम, आफ्नो स्वास्थ्यको बारेमा ख्याल राख्दै तपाईं आफ्नो साथी बन्नुभयो भने, विस्तारै अरु पनि तपाईंको साथी बन्न आउनेछन्।

तपाईं पनि उहाँलाई केही सुझाव दिन चाहनुहुन्छ भने, कमेन्ट बक्समा लेख्नुहोस् । यदि तपाईं पनि आफ्नो समस्या हामीसंग बाँड्न चाहनुहुन्छ भने, लेखेर पठाउनुहोस् र हामीले तपाईंको परिचय गोप्य राख्नेछौं।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text