आध्यात्मिक ज्ञानबारे लेखिएको एउटा किताबमा पढेको थिएँ, ढुंगाभन्दा माटो नरम हुन्छ। तर, ढुंगाभन्दा माटो बलियो हुन्छ। माटोभन्दा पानी अझ नरम हुन्छ। तर माटोभन्दा पानी बलियो हुन्छ। पानी भन्दा हावा अझ सुक्ष्म हुन्छ। तर पानीभन्दा हावा बलियो हुन्छ। हावा भन्दा ध्वनी सुक्ष्म हुन्छ । तर ध्वनी हावाभन्दा बलियो हुन्छ। ध्वनीभन्दा प्रकाश अझ सुक्ष्म हुन्छ। तर प्रकाश ध्वनीभन्दा बलियो हुन्छ। प्रकाशभन्दा पनि मनको अंश सुक्ष्म हुन्छ। तर, मन सबैभन्दा शक्तिशाली हुन्छ’।

जिन्दगीको लामो यात्रामा प्रत्येक पल त्यस्तो शक्तिशाली मान्छेका मनहरुलाई जित्ने धृष्टता गर्दै आएँ। कतिपय ठाउँमा सफल भएँ, कतिपय ठाउँमा असफल। असफलताबाट डगीनँ। सफलताबाट मात्तिइनँ । तर, जिन्दगीलाई नजिकबाट छामें।

दु:ख बिना जिन्दगी अधुरो हुन्छ। सुखबिना पनि जिन्दगी अधुरो हुन्छ। चरम दु:ख र चरम सुख, दुवै भोगेको छु मैले। दु:खको टाकुरामा उभिएर पनि जिन्दगीलाई हेरें। सुखको चुलीमा उभिएर पनि जिन्दगीलाई हेरें । यशोदा भन्छिन् , ‘ दिन सधै एकनास हुँदैन। एकैनासको भए जिन्दगी के रमाइलो हुन्थ्यो र ? फलफूल र खानेकुराको स्वाद पो खानेबित्तिकै थाहा पाउन सकिन्छ। तर, जिन्दगीको स्वाद जति भोग्यो, त्यति थाहा पाइँदो रहेछ’ ।

– किताब ‘महको म’ को ‘अन्तिम पाना’को छोटो अंश

महको म नेपाली कलाक्षेत्रका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा हो। उनले गर्ने हाँस्यव्यंग्य संग सम्बन्धित अभिनय हेर्दा, उनको संघर्ष र दु:खको हामीले झल्को पाउनै सक्दैनौं । यो किताब पढेपछि थाहा हुन्छ कि, आफ्नो जीवनको संघर्ष, दुख, रोगसंगको आफ्नो लडाईलाई आफ्नो काममा प्रेरणाको रुपमा लिने उनी एक सच्चा कलाकार हुन्।

साधारण गाउँले जीवन, असन्तुलित स्कुले पढाइ, स्कुल पढ्दा देखि नै सुरु भएको जागिरे जीवनको संघर्षका दिन, आफ्नो रुचि एकतिर र जागिरको काम अर्कै क्षेत्रको हुनुको पीडा, घरको जिम्मेवारी उठाउनुपर्ने परिस्थिति, अन्तरजातीय प्रेम-विवाहले निम्त्याएको परिस्थिति, कलाकारिताको संघर्ष, श्रीमती यशोदा र आफूलाई लागेका खतरनाक रोगहरुले निम्त्याएको परिस्थिति साथै आफ्नो रुचि पछ्याउनाले मिलेको सफलता, मनदेखि प्रेम र प्रेम प्राप्तिको खुशी, मानिसहरुले कलाकारको रुपमा चिन्दाको आत्मसन्तुष्टी, पेशाले मिलेको माया तथा सम्मान सबैलाई उनले कलात्मक ढंगले यस किताबमा प्रस्तुत गरेका छन्। यो किताबले पाठकलाई संघर्ष, सफलता, सुख- दु:ख अर्थात समग्र जीवन बुझ्न मद्दत गर्छ र साथै जीवन बाँच्न पनि प्रेरणा दिन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text