बेकार हरिवंशले आफ्नो कथाव्यथा सुनाए।
सुरुमा त उनले कतै आत्महत्या गर्छन् कि भन्ने डर लागेको थियो, तर आफ्नो कथा भनिसकेपछि उनले भावुक भएर भने , ” धोएपछि लुगा, रोएपछि आँखा, झरिपछी आकाश, रातपछि प्रकाश सन्तुष्ट भएजस्तै आफूलाई निचोरेर पोखेपछि जीवन पनि सन्तुष्ट हुँदोरहेछ । म आत्महत्या गर्न निस्केको मान्छे, तपाईंलाई भेटेपछि लाग्यो, करोडौं कस्तूरीहरुका लागि भएपनि मैले आफ्नो जीवनकथा नभनी मर्नु हुँदैन । किनभने, मेरो कथा म जस्तै आफ्नै जीवनको सुगन्ध थाहा नपाएका करोडौं कस्तूरीहरुले पढ्नु जरुरी छ । कथा भन्दै गर्दा पनि डर लागिरह्यो, कतै म आफ्नो कथा भनिनसक्दै मर्ने त हैन ? भनिसकेपछि भने लागिरहेछ, मैले आफ्नो पुरै आयू बाँच्नुपर्छ। आफूसंग बाँकी रहेको सुगन्ध संसारलाई बाँड्न बाँच्नुपर्छ ” ।
उनले आफूले ल्याएको आफूजति नै लामो डोरी भावना नदीमा फ्याँके र क्षितिजतिर मडारिंदै उडिरहेको बादललाई हेर्दै भने, ” मेरो कथा मान्छेहरुले पढेको हेर्नका लागि भए पनि म बाँच्न मन छ मलाई । मेरो कथाले मान्छेहरुलाई कसरि स्पर्श गर्छ र त्यहाँबाट कस्तो भाव परावर्तन भएर आउँछ ? त्यो परावर्तन भएको भाव हेर्नका लागि भए पनि बाँच्न मन छ । साँच्चै, अहिले त मलाई मेरो जीवनको साह्रै माया लागेर आएको छ”।
मैले खुशी हुँदै भने, ” दाइ ! म तपाईंको कथा लोकार्पण गर्न, तपाईंलाई नै बोलाउनेछु । त्यो दिन तपाईंले पक्कै आफ्ना थप अनुभवहरु पनि सुनाउनुहुनेछ।”
मेरा कुराले उनी मुस्कुराए । मैले एउटा महत्वपूर्ण कुरा सम्झें, जुन कुरा पाउनका लागि उनको झन्डै पचास वर्षको लगानी र मेहनत थियो । मैले भने, ” भोलि त दाइको पिएचडिको भाइभा छ । त्यसपछि तपाईंले डाक्टर उपाधि लिंदै हुनुहुन्छ । तपाईंलाई अग्रिम बधाई छ ।”
उनी फेरी एकाएक गम्भीर , भावुक र मौन भए । एकछिनसम्म आँखा चिम्लिए अनि धामी चढेझैँ बोल्न थाले, ” अब म पीएचडिको भाइभामा जान्नँ । जुन कुरा प्राप्त गर्न जीवनको सारा ऊर्जा खर्च गरें, आज त्यही कुरा बेकार लाग्दै छ। अब बालाई डाक्टर बनेर देखाउनु छैन । म जेका लागि जन्मेको हूँ, त्यो हुन नसकेपछि मलाई मेरो पढाइको सर्टिफिकेट कागजको खोस्टा बराबर लाग्दै छ। आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाएर संसारलाई सुगन्ध दिनेहरु पढाइको सर्टिफिकेटले महान बनेका होइनन् । त्यसैले मलाई अब आफ्नो नामको पछाडी कथित डाक्टर लेखाउनु छैन । यतिन्जेल मैले बाँचेको जीवन त सपना हो । अब म ब्युंझिसकें। सपनामा पढेको कुराले के डाक्टर लेखाउनु ?
संसारभरिका किताब पढ्नुभन्दा आफूभित्रको किताब पढ्नु ठूलो कुरा हो । आफूभित्रको किताब पढ्न सकियो भने, संसारका किताब पढ्नुको अर्थ हुन्छ। बाहिरि संसारको भ्रमण गर्नुभन्दा आफूभित्रको संसारको भ्रमण गर्नु ठूलो कुरा हो । आफूभित्रको संसार भ्रमण गरियो भने मात्र बाहिरी संसार भ्रमण गर्नुको अर्थ हुन्छ । संसारभरिका महान मान्छेलाई चिन्नुभन्दा, आफूभित्रको महान मान्छेलाई चिन्नु ठूलो कुरा हो । आफूभित्रको महान मान्छेलाई चिन्न सकियो भने, संसारक महान मान्छे चिन्नुको अर्थ हुन्छ। बाहिरि किताबको साथमा मैले आफूभित्रका किताबहरु पढेको भए, तिनलाई मनन गरेको भए, मैले पनि बेलैमा आफ्नो जीवनको सुगन्ध थाहा पाउने थिएँ। म करोडौं कस्तूरीहरुमा हैन केही कस्तूरीमा पर्ने थिएँ। ”
चर्चित नेपाली उपन्यास करोडौं कस्तूरीबाट यो छोटो अंश साभार गरिएको हो। यस किताबमा लेखक अमर न्यौपानेले यदि कलाकार हरिवंश , कलाकार नभएको भए अथवा उनले कलाकारिता गर्ने आफ्नो क्षमता चिन्न नसकेको भए, उनको जीवन कस्तो हुन्थ्यो होला, भनि काल्पनिक जीवनकथा बुनेका छन् । हाँसो ठट्टा, प्रेम, रोदन सबैको संगालो यस किताबबाट लेखकले हरेक व्यक्तिले अरुको भनाइको पछाडी नलागेर, आफ्नो क्षमतालाई आफूले समयमै चिन्ने कोसिस गर्नुपर्छ भन्ने संदेश दिएका छन् । यो किताब जोकोहीलाई उपयोगी किताब हो।
किताब पढ्ने बानी बसालौं, ज्ञानको दायरा बढाऔं ।