एकजना युवकले आफूलाई प्रेम नगरेको भनेर यिनीमाथि एसिड हानिदियो ।
गुलाफी पछ्यौरीले ढाकिएर रोइरहिन् वृन्दा ।
” बलियो हुनुपर्छ भन्छ्यौ नि देवी तिमीले ! मेरो जस्तो विभत्स अनुहार लिएर कसरि बलियो हुन सकिन्छ ? आफूले आफैलाई ऐनामा हेर्ने हिम्मत छैन मेरो । तिमी सक्छ्यौ मलाई हेर्न ?”
पछ्यौरी खोलेर चित्राङ्गदातर्फ फरेकेकी वृन्दाको अनुहार देखेर झस्की चित्राङ्गदा ।
” देख्यौ त यो अनुहार लिएर कहाँ जाऊँ ? छिनछिनमै मरिरहेकी छु म देवी । मेरो जीवन त सक्किगो, कमसेकम अपराधीले उचित दण्ड पाएको भए सन्तोष गर्ने बाटो हुन्थ्यो। त्यो पापी त सडकमा छाती फुलाएर हिंडीरहेछ । .. त्यो पापीको निम्ती मृत्युदण्डको सजाय पनि कम हुन्थ्यो। तर प्रमाण नपुगेको भनेर छोडेका रे न्यायमूर्तिले उसलाई ! अचम्म, मेरो यो अनुहार प्रमाण होइन ?”
” अलि प्रभावशाली वकिल किन राखिनौ वृन्दा ?”
” देवी, त्यत्रो पैसा म कहाँ तिर्न सक्थें ? सामान्य वकिल राखेकी थिएँ, मुद्दामा भएर बहस नै राम्ररि गर्न सकेनन् । न प्रमाण नै राम्रोसंग जुटाए । दस्तुर चाहिं सबै लिए । त्यसैले मैले स्थानीय न्यायपीठिकाबाट हारें । सौरीनगर धर्मशभामा उजुर त गरें, तर यहाँ झनै गाह्रो भयो । समयमा पेशी राखिदेऊ भन्न मात्रै पनि धर्मशभाका फाटवालाहरुलाई उनीहरुले भनेजति पैसा दिनुपर्छ। एक वर्ष भयो कुरेको। दुई चोटी पेशी तोकेको थियो, तर पैसा दिन नसक्दा दुवै पटक १५ नम्बरमा, पालै नआउने क्रममा राखिदिए । न्याय पाउने कुरा त कहिले हो कहिले । भएको सिरीखुरी सबै सकीइसक्यो। वकिलदेखि धर्मसभाका कर्मचारी, श्रेस्तावाला, न्यायमूर्ति सबै उडुस रहेछन् । रगत छउन्जेल चुस्छन्, सकिएपछि आफै टकटकिन्छन् ।
यस्तोमा एउटी आईमाईसंग शरीर बेच्ने बाहेक के उपाय रहन्छ ? म अभागीसंग त त्यो विकल्प पनि रहेन। अब वैतरणीमा गएर हाम फाल्नु सिवाय, केही उपाय छ र मेरो ? धर्मराजको फैसला नै किन कुर्नुपर्यो र मैले, होइन देवी ? ”
भयङ्कर हताश थियो उसको स्वरमा ………….
यो सानो अंश लेखक शारदा शर्माद्वारा लिखित पुस्तक ‘कम्प’ बाट लिइएको हो । कम्पले परिवर्तन र न्यायको लागि बोल्न जोकोही पाठकलाई झक्झाकाउँछ । यस पुस्तककी मूख्य पात्र चित्राङ्गदा भूकम्पमा परेर उनको मृत्यु हुन्छ। त्यसपछि मृत्यु पछिको जीवन, मृत्यु पछि भेटिने मान्छेहरु, त्यहाँको वातावरण आदिलाई उतारिएको हुँदा पुस्तक पढ्दा रोमाञ्चकता पनि आउँछ। गम्भीर विषयवस्तुहरुलाई काल्पनिकता तथा वास्तविकताको कलात्मक संयोजन गरेर प्रस्तुत गर्ने शारदा शर्माका सबै पुस्तकहरु उत्कृष्ट मानिन्छन् ।
किताब पढ्ने बानीको विकास गरौँ, ज्ञानको दायरालाई फराकिलो बनाऔं !