पात्चारामोन सावना २३ वर्षको हुँदा पहिलो पटक स्कुल भर्ना भएकी थिइन् । अहिले स्कुल पढाइरहेकी उनले कानुनमा स्नातकोत्तर गरेकी छिन् । पढाइको सपना पूरा गरेकी उनको अबको सपना वकालत गर्ने र शिक्षण पेशालाई पनि निरन्तरता दिने रहेको छ ।
शारीरिक रुपमा सबल हुँदा हुँदै पनि अनेक बहाना र समस्या देखाएर आफ्नो कर्तव्यबाट, आफ्नो मेहनतबाट पन्छिने युगमा सावना एक अलग उदाहरण हुन्। सावनाका दुई वटै हात छैनन् । जसले गर्दा उनले आफ्नो बाल्यकालमा सामान्य विद्यार्थीले जसरि स्कुलमा भर्ना हुन सकिनन् । सावनाको शारीरिक अपाङ्गताका कारण उनलाई कुनै पनि स्थानीय विद्यालयहरुले भर्ना लिएनन् । त्यसैले, औपचारिक रुपमा शिक्षा प्राप्त गर्नको लागि उनले देशको कानुनको परिवर्तनलाई पर्खिनुपर्ने भयो ।
थाइल्याण्डमा अपाङ्ग भएका व्यक्तिले पनि अरु सामान्य व्यक्तिले जसरि स्कुलमा भर्ना हुन पाउनुपर्छ भन्ने कानुन बनेपछि बल्ल सावनाको लागि स्कुलको ढोका खुल्यो। उनले २३ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर औपचारिक शिक्षा प्रारम्भ गरिन् । पढाइमा लगनशील र जीवनमा एउटा लक्ष्य लिएर स्कुल भर्ना भएकी उनले सबैलाई प्रभावित पार्दै, प्रेरणा छर्दै स्कुले शिक्षा पूरा गरिन् ।
स्कुलको शिक्षा पूरा भएपछि पनि सावना रोकिइनन् । धेरैले उनलाई अपाङ्गताको कारण देखाउंदै उनले आफ्नो लक्ष्य प्राप्त गर्न नसक्ने भन्दै सान्त्वना दिने गर्थे । तर, उनलाई त्यो पटक्कै मन पर्दैनथ्यो । उनी स्कुलको पढाइ सकेपछि कलेजमा भर्ना भएरै छोडिन् । संगै स्कुलमा पढाउन पनि थालिन्। सावनाले पहिलो पटक कक्षा लिंदा, खुट्टाले कालोपाटीमा लेख्न थालेपछि, विद्यार्थीहरुले पनि अचम्म मानेर हेरेका थिए।
शिक्षण पेशासंगै पढाइलाई पनि निरन्तरता दिएकी सावनले कानुनमा स्नातकोत्तर पूरा गरेकी छिन् । उनी अब वकिल बनेर आफ्नो जीवनको लक्ष्य पूरा गर्दैछिन्।
सन्दर्भ सामग्री संकलन: बिबिसीको सहयोगमा