मैले २०७२ सालको भूकम्पमा आमालाई गुमाएँ । त्यतिबेला म मात्र १६ वर्षको थिएँ । भुकम्प अघि मेरो जीवन निकै नै खुशी थियो । भूकम्प पछि खुशी हरायो ।बुवाले अर्को आमा ल्याउनुभयो । बिस्तारै मेरा लागि समयहरु निकै नै अप्ठेरो बन्दै गए । पारिवारिक वातावरण निकै बिग्रियो । मेरो एस.एल.सी परिक्षा पनि बिग्रियो । म बिस्तारै समाज परिवारबाट टाढीन थालें । एक्लै कोठा थुनेर बस्ने रुने, कराउने गर्थें। तनाव यति धेरै बढेको थियो कि म आफूलाई कन्ट्रोल गर्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
पीडा कम गर्न म गाँजा चुरोट पिउँथें, तर यसले मलाई क्षणिक आनन्द मात्र दियो। अझै पनि आमासंगको वियोगबाट बाहिर निस्कन सकिरहेको छैन । अहिले १२ मा पढ्दैछु, तर पढाइमा ध्यान दिन सकिरहेको छैन।

यस्तो स्थिति तपाईंको जीवनमा मात्र होइन, अरुको जीवनमा पनि आउने गर्छ। अझ भनौं, तपाईंको भन्दा पनि कठीन परिस्थिति आएको हुन्छ ।

चार्ली च्याप्लिनका बुवा आमा दुवै जना गायक तथा कलाकार थिए । उनि २ वर्षको हुँदा उनका आमा बाबु सम्बन्ध विच्छेद नगरे पनि छुट्टीएर बसे । बाबुले परिवारको वास्ता नगरेपछि उनीहरुको घरको आर्थिक स्थिति कमजोर भयो । चार्लीकी आमाको कला यात्राले राम्रो गर्न सकेन र उनले साना-तिना कामहरु गर्न थालिन् । त्यति कमाईले आमा, चार्ली र भाईको जीवन गुजार्न कठिनाई भयो । जसले गर्दा चार्ली ७ वर्षको हुँदा सुरक्षा गृहमा पुर्याइए । त्यहाँ रहँदा उनलाई असहाय बालाबालिहरुले पढ्ने स्कुलबाट शिक्षा लिने मौका मिल्यो । त्यहाँ १८ महिना पछि उनले आफ्नी आमासंग समय बिताउने मौका पाए तर तुरुन्तै उनलाई फेरी असहाय बालबालिकाको स्कुलमा पढाउन अर्को सुरक्षा गृहमा लगियो ।

सन् १८९८ मा जतिबेला चार्ली ९ वर्षका मात्र थिए, उनकी आमा मानसिक बिरामी भईन् । चार्लिकी आमालाई मानसिक अस्पतालमा राखियो । आमालाई अस्पतालमा राख्दा उनि र उनको भाईलाई चार्लीको बुवाको घरमा पठाईयो । अत्यधिक मदिरा सेवनले गर्दा उनका बाबुको मृत्यु भयो । केहि समयको उपचार पछि आमा अस्पतालबाट आईन् तर चार्ली १४ वर्षको हुँदा उनि फेरी बिरामी परिन् । यतिबेला चार्लीले आमालाई उपचारको लागि लागे । चार्ली कैयौं दिन भोकभोकै र नसुती भौतारीरहे । ८ महिनापछि आमा निको भएर अस्पतालबाट फर्किन् । तर केही वर्ष पछि त्यहि मानसिक रोगको कारणले नै उनकी आमाको मृत्यु भएको थियो।

अर्को कुरा मृत्यु, सत्य हो । ढिलो या चांढो यो परिस्थितिको सामना हरेकले गर्नुपर्छ । तपाईंलाई यो परिस्थिति सानै उमेरमा आयो, जसले गर्दा तपाईंलाई चोट के हो, पीडा के हो, समस्या के हो भन्ने थाहा भयो । यसअर्थमा तपाईंको अगाडी आउन सक्ने अरु कठीन परिस्थिति सामान्य लाग्नेछन् । तपाईं त झन् बलियो बन्नुभएको छ । तपाईंले थप जिम्मेवारीबोध गर्नुछ, किनकी तपाईंकी आमाले तपाईंको लागि देख्नुभएको सपना अब पूरा गर्नुछ । तपाईंले आफ्नो काम र आफ्नो नाम मार्फत आमालाई अमर बनाउनुछ। फेरी, तपाईंको उपस्थितिलाई मान्यता नदिनेहरुलाई पनि त, तपाईंको अस्तित्व बताउनुछ ।

हजुरहरु पनि उहाँलाई केहि सुझाव दिन चाहनुहुन्छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text